थप समाचारमंगलबार, फाल्गुण १२, २०७१
गुजरातका स्वास्थ्य राज्यमन्त्रीलाई स्वाइन फ्लू, नेपालमा पनि संक्रमण देखियो
भारत गुजरात राज्यका स्वास्थ्य राज्यमन्त्री शंकर चौधरीलाई स्वाइन फ्लूको संक्रमण भएको छ ।
चौधरीको स्वास्थ्य परिक्षण गर्दा उनमा स्वाइन फ्लू भाइरस (एच वन एन वन) पोजिटिभ पाइएको केन्द्रीय स्वास्थ्य मन्त्री नितिन पटेलले जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
चौधरीले विभिन्न अस्पतालमा रहेका स्वाइन फ्लू संक्रमित विरामीलाई भेटेका कारण उनमा पनि संक्रमण भएको बताइएको छ ।
इन्डिया टूडेका अनुसार भारतमा स्वाइन फ्लूका कारण मृत्यु हुनेहरुको संख्या ८३३ पुगिसकेको छ भने ‘एच वन एन वन’ भाइरसबाट संक्रमित भएकाको संख्या १४ हजार ४८४ पुगेको छ ।
नेपालमा पनि स्वाइन फ्लूको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा स्वाइन फ्लु संक्रमित भएको प्रमाणित भएका ५ जना छन् । उनीहरु सबै भारतबाट फर्किएका नेपाली हुन् ।
सरकारको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बाबुराम मरासिनीका अनुसार राजधानीबाट संकलित २, पोखराबाट संकलित २ र भरतपुरबाट संकलित एउटा नमुनामा एन वन एच वन भाइरस देखिएको हो ।
उनीहरूलाई एन्टिभाइरल औषधि दिएको मरासिनिले बताए ।
त्यसैगरी भारतबाट फर्कीएका एक नेपाली चिकित्सकलाई समेत स्वाइन फ्लुको संक्रमण देखिएको र उनको परिवारका सबै जनाको परीक्षण गराउन सिफारिस गरिएको डा शेरबहादुर पुनले जानकारी दिएका छन् ।
उच्च ज्वरो, घाँटीको दुखाई, खोकी, सास फेर्न गाह्रो, पखाला लगायतका लक्षण देखिएमा तुरुन्त चिकित्सकको सुझाव लिनु पर्ने प्रयोगशालाले जनाएको छ ।
स्वाइन फ्लु भाइरस शरीरमा प्रवेश गरेको सामान्यतया एकदेखि चार दिनभित्र लक्षण देखिन्छ ।