Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कसकाे धन सुमार्गीको - Himalkhabar.com

अर्थ/बजारमंगलबार, फाल्गुण १२, २०७१

कसकाे धन सुमार्गीको

हिमालखबर

– रमेश कुमार
एक दशकमा अथाह सम्पत्तिको मालिक बनेका अजेयराज सुमार्गी पराजुलीको नाममा शंकास्पद तरीकाले अर्बौं रुपैयाँ आइरहेको छ। त्यसको स्रोत के हो? को छ, सुमार्गीको पछाडि?

अजेयराज सुमार्गी पराजुली

अजेयराज सुमार्गी पराजुली

सधैं केही हजार रुपैयाँ रहने शिशु अर्याल भण्डारीको ब्यांक खातामा एकाएक रु.६ करोड ५५ लाख भेटिएपछि राष्ट्र ब्यांकको वित्तीय जानकारी इकाइले २०६८ साउनमा अनुसन्धान थाल्यो। त्यो खातामा रकम पठाउनेमा गैर–आवासीय नेपाली संघका संस्थापक अध्यक्ष रहेका उपेन्द्र महतोदेखि सम्झ्ना अर्यालसम्मका नाम थिए। महतोले उक्त खातामा रु.२० लाख पठाएका थिए।

आयस्रोत नखुलेको उक्त रकममध्ये रु.६ करोड ५२ लाखबाट शिशु अर्याल भण्डारीको नाममा लाजिम्पाटमा घर किनेको भेट्यो– इकाइले। नवलकिशोर अग्रवालबाट खरीद गरिएको त्यही घरमा अहिले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बसिरहेका छन्।

स्वामी कमलनयनाचार्य सम्बन्धित कार्यक्रम उद्घाटनमा प्रधानमन्त्री सुशील कोइरालासाथ सुमार्गी।

स्वामी कमलनयनाचार्य सम्बन्धित कार्यक्रम उद्घाटनमा प्रधानमन्त्री सुशील कोइरालासाथ सुमार्गी।

खोज्दै जाँदा पत्ता लाग्यो– शिशु अर्याल भण्डारी पछिल्लो दशकमा चर्चित नवधनाढ्य अजेयराज सुमार्गीकी श्रीमती सम्झना अर्याल (अस्मिता सुमार्गी) की ठूलोबुवाकी छोरी हुन्। हेटौंडाका सामान्य आर्थिक पृष्ठभूमिका अजेयराज सुमार्गीको आर्जनको स्रोत नखुल्ने सम्पत्ति व्यवस्थापनका लागि आफन्त प्रयोग भएको छनक दियो, यो घटनाले।

त्यसपछि वित्तीय जानकारी इकाइले शिशु अर्यालमाथि छानबीन अघि बढाउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई औपचारिक अनुरोध गर्‍यो, जसलाई एमाओवादी निकट डा. मुक्तिनारायण पौडेललाई विभागको महानिर्देशक बनाएर अनुसन्धानलाई तुहाइयो।

शक्तिशाली नेता निकटका व्यवसायी जोडिएको यो केसमा अनुसन्धान गरिहाल्ने आँट सरकारी निकायलाई नभएको बताउने वित्तीय जानकारी इकाइ सम्बद्ध एक अधिकारी यो घटनालाई त्यसै सेलाइएको बताउँछन्। तर, सुमार्गीले गैर–कानूनी रूपमा रु.८ अर्ब ७० करोड हाराहारीको थप रकम देश भित्र्याउन लागेको भेटेपछि राष्ट्र ब्यांकले त्यसलाई एक वर्षदेखि रोकिदिएको छ।

अजेयराज सुमार्गीले पछिल्लो दशकमा त्यो आर्थिक ‘उन्नति’ गरेका छन्, जुन ठूल्ठूला व्यवसाय गर्नेहरूका लागि समेत दुरुह छ। उनी एक दशकमा एक दर्जन कम्पनी सञ्चालक र अर्बौंका मालिक बनेका छन्। भेटिएका प्रमाणहरूले भने उनको सम्पत्तिको स्रोत सफा नभएको देखाउँछन्।

अथाह सम्पत्ति

रेडियो थाहा सञ्चारको उद्घाटन क्रममा पुष्पकमल दाहालका साथमा सुमार्गी पत्नी सम्झना।

रेडियो थाहा सञ्चारको उद्घाटन क्रममा पुष्पकमल दाहालका साथमा सुमार्गी पत्नी सम्झना।

३४ वर्षदेखि फ्रान्सेली राजदूतको निजी निवास बसेको काठमाडौं, विशालनगरको १९ रोपनी १२ आना जग्गा सहितको घर रु.६३ करोडमा खरीद गरेर यसै वर्ष बानेश्वरबाट सपरिवार सरे सुमार्गी।

सुमार्गीले पछिल्ला सात वर्षमा काठमाडौंका करीब एक दर्जन ‘प्राइम लोकेसन’ मा अर्बौंको स्थिर सम्पत्ति जोडेका छन्। हेटौंडा, दाङ, चितवन लगायतका ठाउँमा पनि उनले उत्ति नै सम्पत्ति जोडेका छन्।

उनको बढी जसो सम्पत्ति श्रीमती सम्झना अर्याल र जेठीसासू शिशु अर्यालको नाममा छ। यी सम्पत्ति २०६४ पछि खरीद गरिएको सम्बन्धित जिल्लाका मालपोत कार्यालयहरूको अभिलेखले पुष्टि गर्छन्।

रसुवाको हिमालयाज् स्प्रीङ वाटर उद्योगको भ्रमण क्रममा दाहाल र सुमार्गी।

रसुवाको हिमालयाज् स्प्रीङ वाटर उद्योगको भ्रमण क्रममा दाहाल र सुमार्गी।

एमाओवादी अध्यक्ष बसेको लाजिम्पाटस्थित कम्पाउण्ड सहितको भवन, फ्रान्सेली दूतावासले बेचेको विशालनगरको घरजग्गा, बबरमहलको सुमार्गी बी कम्प्लेक्स, बानेश्वरको कृष्णटावर अघिल्तिरको घरजग्गा (जसमा केही महीना अघिसम्म उनी बसेका थिए), बानेश्वर चोकको मुक्तिश्री टावर, मीनभवनको नेपाल इन्फ्राको सुपरस्टोर, तीनकुनेस्थित खाली जग्गा सुमार्गीका ‘प्राइम लोकेसन’ का स्थिर पूँजी हुन्, जसको चलनचल्तीको मूल्य प्रति आना रु.१ करोडसम्म छ।

तीनकुनेको ८ रोपनी जग्गा उनले रु.७० करोडमा चार वर्षअघि कान्तिपुर पब्लिकेसनका प्रकाशक कैलाश सिरोहियासँग किनेका हुन्। बानेश्वर, विशालनगर र लाजिम्पाटका मुख्य सडक जोडिएका स्थानमा उनको करीब ४० रोपनी जग्गा रहेको मालपोत कार्यालयका अभिलेखहरूले देखाउँछन्।

एमाओवादी अध्यक्ष दाहाल ‘मासिक रु.१ लाख भाडामा’ बसेको लाजिम्पाटको घरजग्गा १३ साउन २०६८ मा नवलकिशोर अग्रवालबाट शिशु अर्याल भण्डारीले लिएको देखिन्छ। ३४, ११९ र १२० कित्तानम्बर भएको यो जग्गा क्रमशः ४४२, १५१ र ९३५ वर्गफिटको छ।

काठमाडौं महानगरपालिका–१० (मीनभवन) को कित्तानम्बर ६३ र ८४ को क्रमशः ५ रोपनी २ आना ३ दाम र १ आना २ दाम जग्गा पनि शिशु अर्याल भण्डारीकै नाममा छ, जहाँ अहिले ‘नेपाल इन्फ्रा’को नाममा सुपरस्टोर बन्दैछ।

सुमार्गी पत्नी सम्झना अर्याल स्वामित्वको नयाँबानेश्वरस्थित घरजग्गाको धनी दर्ता श्रेस्ता।

सुमार्गी पत्नी सम्झना अर्याल स्वामित्वको नयाँबानेश्वरस्थित घरजग्गाको धनी दर्ता श्रेस्ता।

रजिष्ट्रेसन नम्बर ८९४१ को यो जग्गा २८ वैशाख २०६६ मा शिशुको नाममा पास भएको हो। ललितपुरबाट १२३०/३३/३४ नम्बरको नागरिकता लिएकी शिशुका श्रीमान् गृष्मराम भण्डारी नेपाल एयरलाइन्सका पूर्व कर्मचारी हुन्। चार्टर्ड एकाउन्टेन्ट रहेका भण्डारीका छोरा सुमार्गीकै कम्पनी हेर्छन्।

पारिवारिक स्रोतहरूका अनुसार, शिशु अर्यालसँग यतिको सम्पत्ति हुनु कसैगरी पनि सम्भव छैन। सुमार्गीले आफ्नो अवैध सम्पत्ति लुकाउन जेठीसासूलाई प्रयोग गरेकोमा कुनै शंका नभएको ती स्रोतहरूको ठोकुवा छ।

लाजिम्पाट सर्नु अघि सुमार्गी परिवार बसेको बानेश्वरको ३ रोपनी ८ आना २ पैसा ३ दाम (कित्ता नम्बर ९२) जग्गा पत्नी सम्झ्ना अर्यालको नाममा छ। (हे. तस्वीर) यो घरजग्गा २३ भदौ २०६४ मा सम्झ्नाको नाममा पास भएको देखिन्छ।

सुमार्गी स्वयंको नाममा भने बानेश्वरमा ३ आना १ पैसा (कित्ता नम्बर १९०) जमीनमा बनेको घर छ। २८१३ ‘क’ रजिष्टे्रसन नम्बरको यो जग्गा उनले २६ कात्तिक २०६५ मा साहिल अग्रवालबाट किनेका हुन्।

सुमार्गीले २६ कात्तिक २०६५ मा बानेश्वरकै कित्ता नम्बर २६९, १९२ र २१४ का क्रमशः १ रोपनी २ पैसा ३ दाम, ८ आना र १ दाम जग्गा खरीद गरेको मालपोतको अभिलेखबाट खुल्छ। यो जग्गामा बनेको मुक्तिश्री टावरमा सुमार्गीको निजी र कर्पोरेट कार्यालयका साथै हेलो मोबाइलको अफिस छ।

सुमार्गीले ५ माघ २०६८ मा पनि रमादेवी रेग्मी भट्टराईबाट बानेश्वरकै कित्ता नम्बर १७ को ६ आना ३ पैसा १ दाम र २ आना १ दाम किनेको देखिन्छ। उनले २० वैशाख २०६४ मा ४९२९ को रजिष्टे्रसन पास मार्फत कित्ता नम्बर १७६२, १७५८ र १७६० को क्रमशः ३ आना १ दाम, ३ आना २ दाम र १ आना २ पैसा २ दाम जमीन जोडेको देखिन्छ।

सुमार्गी पत्नी सम्झना र भाइ अरुणका साथ पुष्पकमल दाहाल र कांग्रेस नेता अमरेशकुमार सिंह ।

सुमार्गी पत्नी सम्झना र भाइ अरुणका साथ पुष्पकमल दाहाल र कांग्रेस नेता अमरेशकुमार सिंह ।

यसबाहेक रविभवनमा पनि जग्गा किनेका सुमार्गीले केही साताअघि सीतापाइलामा बिजनेस कम्प्लेक्स सहितको जग्गा किनेको स्रोत बताउँछ। स्रोतका अनुसार, ललितपुरको ठेचोमा पनि उनले ठूलो परिमाणमा जमीन किनेका छन्। दाङ र हेटौंडामा त उनका बिजनेस कम्प्लेक्स नै छन्।

हेटौंडा– ११ नवलपुरको करीब तीन बिघा जग्गामा रहेको हेटौंडा एकेडेमी आवासीय स्कूल सुमार्गीकै हो। सुमार्गीको कम्पनीले सिमेन्ट कारखाना चलाउन सुर्खेतमा १३०० रोपनी जग्गा किन्दैछ।

आश्चर्यलाग्दो विस्तार
७ पुस २०७० मा मुक्ति टावरमा पत्रकार सम्मेलन गरेका सुमार्गीले रु.२३ अर्ब ५० करोड थप लगानीको घोषणा गरेका थिए। ८ फागुनमा हिमाल सँगको टेलिफोन अन्तर्वार्तामा उनले रसुवाको हिमालयाज् स्प्रीङ वाटरमा रु.३ अर्ब लगानी गर्न लागेको बताए।

कारोबारका विषयमा औपचारिक रूपमा नखुल्ने सुमार्गीले पहिलो पटक आयोजना गरेको पत्रकार सम्मेलनमा घोषणा गरेको लगानीको रकम देशका ठूला व्यावसायिक घरानाहरूलाई समेत छक्क पार्ने खालको थियो– उनले व्यवसाय थालेको समयलाई हेर्दा। “जम्मा ६–७ वर्षमा यति ठूलो लगानी गर्ने आँट आउनु अचम्मको कुरा हो”, राष्ट्र ब्यांकका एक अधिकारी भन्छन्।

सुमार्गीले छोटो अवधिमै ठूलो लगानी गर्ने गरी कम्पनीहरू खडा गरे पनि त्यस पछाडिको आर्थिक स्रोत खुल्दैन। तीन दशकअघि एउटा सामान्य चून उद्योग र काठको व्यापार चलाएका सुमार्गी अहिले अर्बौंको कारोबार योजना सहितका करीब एक दर्जन कम्पनीका मालिक छन्।

Cover.indd७ पुस २०७० को पत्रकार सम्मेलनमा प्रस्तुत सुमार्गीको प्रेस वक्तव्यमा ‘२०२९ देखि सञ्चालित चून उद्योग, कलात्मक काठ उद्योग सञ्चालन गरिराखिएकोमा २०६० वैशाखदेखि दूरसञ्चार, खनिज, मिनरल, पूर्वाधार विकास, जलविद्युत्, सञ्चार, शिक्षा जस्ता क्षेत्रमा लगानी थपिएको’ उल्लेख छ।

सुमार्गीका पिता माधवराजले २०२९ सालमा मकवानपुरको भैंसेमा चून उद्योग खोलेर व्यवसाय थालेका थिए। २०३४ सालमा कलात्मक काठ उद्योग र २०५५ मा एभरेष्ट मिनरल प्रालि स्थापना भए पनि २०५९ सम्म तत्कालीन नेपाल घरेलु तथा साना उद्योग विकास ब्यांकमा सुमार्गी परिवारको ऋण नगन्य थियो। यसले उनीहरूको कारोबारको सीमितता पुष्टि गर्छ।

ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्पाइस नेपाल प्रालिको लाइसेन्स हत्याएका सुमार्गीको व्यावसायिक फड्को माओवादी शान्ति प्रक्रियामा आएसँगै शुरू भएको देखिन्छ।

अहिले सुमार्गीको मुक्तिश्री ग्रुप अन्तर्गत मुक्तिश्री टेलिकम, नेपाल स्याटेलाइट टेलिकम, हिमालयाज् स्प्रीङ वाटर, नेपाल इन्फ्रा, दुर्गा कोल्ड स्टोरेज, इन्को प्यानल इन्ड्रस्ट्रिज, हेटौंडा एजुकेशन फाउण्डेसन, नेशनल कलेज सहितका व्यावसायिक संस्था सञ्चालनमा छन्।

यती विकास ब्यांक र मनकामना विकास ब्यांकमा लगानी गरेका उनले नेपाल इन्फ्रा प्रालि मार्फत शुरू गरेको सुपरस्टोरलाई काठमाडौंको मीनभवनदेखि नारायणघाट र हेटौंडामा पनि विस्तार गर्दैछन्।

धादिङमा ३५ मेगावाटको धादिङ–आँखुखोला जलविद्युत् आयोजना निर्माणका लागि पीपीए पहल गरिरहेका उनले थाहा सञ्चार अन्तर्गत विन्ध्यवासिनी मिडिया पनि चलाएका छन्।

उपराष्ट्रपति परमानन्द झाका साथ सुमार्गी दम्पती।

उपराष्ट्रपति परमानन्द झाका साथ सुमार्गी दम्पती।

मुक्तिश्री ग्रुपअन्तर्गत रु.७ अर्ब लगानी भइसकेको नेपाल स्याटेलाइट टेलिकममा रु.६ अर्ब ५० करोड लगानीको तयारी गरेको कम्पनीले बताएको छ। त्यस्तै, धादिङ–आँखुखोला जलविद्युत्मा रु.५ अर्ब ५० करोड लगानीको योजना सार्वजनिक गरेको छ।

काठमाडौंमा २२० कोठाको पाँचतारे होटल खोल्न रु.५ अर्ब लगानी गर्ने पनि कम्पनीको योजना छ। कम्पनीले सुर्खेतको दैनिक १२ सय टन उत्पादन गर्ने क्लिङ्करसहितको मुक्तिश्री सिमेन्ट इन्ड्रस्ट्रिज प्रालि नामको उद्योगमा रु.४ अर्ब लगानीको प्रस्ताव गरेको छ।

मुक्तिश्री अन्तर्गत माधवराज सुमार्गी स्मृति कोष मार्फत हेटौंडामा रु.१ करोडको वैकल्पिक सडक र पशुपतिनाथमा रु.७ करोडमा प्रसादगृह एवं सभाहल बनाउने हैसियतमा पुगेको छ, कम्पनी।

सुमार्गीले भरतपुरमा गुणचन्द्र विष्टसँग मिलेर ह्याचरी र दाना उद्योगमा समेत लगानी गरेको स्रोत बताउँछ। एबीसी टेलिभिजनमा पनि उनले ५० प्रतिशत शेयर स्वामित्व लिएर आफ्ना नातेदार श्यामसुन्दर शर्मालाई अध्यक्ष बनाए। लगानीका हिसाबले ठूलो बढोत्तरी देखिए पनि राजस्व तिर्नमा सुमार्गीका कम्पनीहरू अगाडि छैनन्।

अर्बौं लगानीका यी कम्पनीहरूले वर्षमा मुश्किलले रु.५–६ करोड तिर्ने आन्तरिक राजस्व विभागका एक जना पूर्व महानिर्देशक बताउँछन्। पेश गरेको कारोबार र करको विवरण चित्तबुझदो नभएपछि आन्तरिक राजस्व कार्यालय क्षेत्र नम्बर ३ ले गत साता मात्र सुमार्गीका कम्पनीहरूसँग कर अडिट पुनः परीक्षणका लागि सोधेको छ।

उनका कम्पनीहरू हालसम्म ठूला करदाता कार्यालयमा दर्ता पनि भएका छैनन्। ४० करोडभन्दा बढी कारोबार गर्ने कम्पनी ठूला करदाताभित्र पर्छन्। सुमार्गीका कम्पनीहरू रु.५ करोडदेखि रु.४० करोडसम्मको कारोबार गर्ने कम्पनी हेर्ने ३ नम्बर कर कार्यालयमा समेटिएका छन्।

Cover.inddशक्तिका लगानीकर्ता
सुमार्गीले सन् २००४ मा तत्कालीन स्पाइस नेपाल प्रालि (मेरो मोबाइल) स्थापनासँगै व्यवसाय विस्तार गरेका हुन्। त्यसको तीन वर्षअघि नेपालमा निजी कम्पनीलाई दूरसञ्चार सेवा सञ्चालन अनुमति दिने तयारी थालिएपछि स्पाइस नेपालले दूरसञ्चार प्राधिकरणबाट ‘लेटर अफ इन्टेन्ट’ पाएको थियो।

स्पाइस नेपालमा भारतको मोदी ग्रुप र नेपालको खेतान समूहले लगानी गरेका थिए। तर, शाही शासनकालमा उक्त अनुमतिपत्र राजाका ज्वाइँ राजबहादुर सिंह र सुमार्गीले हत्याएपछि भारतीय लगानीकर्ता फर्के।

दूरसञ्चार प्राधिकरण स्रोत भन्छ, “भारतीय लगानीकर्तालाई धम्क्याएर अनुमतिपत्र खोसिएको थियो।”

२० प्रतिशत स्वामित्व राखेका नेपाली लगानीकर्ता राजेन्द्र खेतानले पनि अनौपचारिक कुराकानीमा अपहरणसम्मको धम्की दिएर लाइसेन्स खोसिएकाले आफूहरू टेलिकममा प्रवेश गर्न नपाएको बताउने गरेका छन्।

रसुवाको धुन्चेस्थित हिमालयाज् स्प्रीङ वाटर।

रसुवाको धुन्चेस्थित हिमालयाज् स्प्रीङ वाटर।

सुमार्गीको उत्थान तत्कालीन राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहसँगको हिमचिमबाटै शुरू भएको हो। बाजुराका पदमबहादुर शाहीले सिंहसँग बनाइदिएको सम्बन्धबाट अगाडि बढेका सुमार्गी तत्कालीन मेरो मोबाइलको ६ प्रतिशत शेयरको साझेदार हुँदै नेपाल स्याटेलाइट टेलिकम मार्फत एनसेलको सीमकार्ड बिक्री गर्ने आधिकारिक डिष्ट्रिब्युटर बने।

मेरो मोबाइलमा रकम संकट हुँदा गैर–आवासीय नेपाली उपेन्द्र महतो साझेदारका रूपमा भित्रिएका थिए, जसमा सुमार्गी निर्देशकसम्म बने।

आश्चर्यलाग्दो के भने, सन् २००१ देखि २००५ सम्म तत्कालीन मेरो मोबाइलमा पटक–पटक स्वामित्व किनबेच भए पनि त्यसको विवरण न कम्पनी रजिष्टारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई दिइयो न त किनबेच बापतको कर नै तिरियो।

एमाओवादीका कृष्णबहादुर महरा संचारमन्त्री हुँदा २०६४ फागुनमा नेपाल स्याटेलाइट टेलिकमले अनुमति पाएपछि सुमार्गीको थप उत्थान भयो। उनी स्पाइसबाट रु.३५ करोड लिएर निस्किएको जानकारहरू बताउँछन्।

नेपाल टेलिकमबाहेक अन्य सेवा प्रदायकलाई जीएसएम, ग्रामीण दूरसञ्चार र सीडीएमए सेवा मात्र सञ्चालनको अनुमति दिइएकोमा नेपाल स्याटेलाइटले आधारभूत दूरसञ्चार सेवा सञ्चालन गर्न पायो, त्यो पनि कौडी बराबरको फ्रिक्वेन्सी शुल्कमा।

Cover.inddसञ्चार मन्त्रालयले छुट्टै कार्यदल बनाएर यो कम्पनीलाई अनुमति सिफारिश गराएको थियो। स्पाइस नेपाल र नेपाल टेलिकमले क्रमशः रु.२१ करोड अनुमतिपत्र शुल्क र रु.२० अर्ब नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था भए पनि यो कम्पनीलाई विशेष व्यवस्था मार्फत रु.२५ लाख अनुमतिपत्र र रु.२२ लाख ५० हजार मात्र नवीकरण शुल्क तोकियो।

मोबाइल फ्रिक्वेन्सीका विषयमा अध्ययन गर्न डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा गठित संसद्को लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनमा आधारभूत दूरसञ्चार सेवाको परिभाषा नै बदलेर यो कम्पनीलाई लाइसेन्स दिइँदा शुरूमै रु.२ करोड ४५ लाख गुमेको उल्लेख छ।

कम्पनीलाई जीएसएम ९०० मेगाहर्जमा ४.४ र जीएसएम १८०० मा ९ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराइएको थियो, जुन शुरूमै २८ लाख उपभोक्तालाई सेवा दिन पर्याप्त थियो। जबकि, गत मंसीरसम्ममा कम्पनीले जम्मा दुई लाख ७३ हजार वटा सीमकार्ड वितरण गर्न सकेको छ।

१२ लाख ८१ हजार सीम वितरण गरेको स्मार्ट टेलिकमसँग ३ मेगाहर्ज मात्र फ्रिक्वेन्सी छ। मध्यपश्चिममा मात्र सेवा थालेको कम्पनीलाई यो परिमाणमा फ्रिक्वेन्सी उपलब्ध गराउनु र कम्पनीले ओगटेर बस्नु मनोमानी भएको छानबीन प्रतिवेदनको ठहर छ।

मन्त्रीको दबाबमा फ्रिक्वेन्सी ओगटिएको प्रतिवेदनले औंल्याएको छ। राजनीतिक शक्तिको आडमा स्थापित यो कम्पनीले अै पनि विभिन्न शुल्कबापतको रकम बक्यौता राखेको दूरसञ्चार प्राधिकरण स्रोत बताउँछ।

नेपाल स्याटेलाइट टेलिकमलाई तीन चरणमा सेवा विस्तार अनुमति दिइएको थियो, जसअन्तर्गत पहिलो चरणमा १५ महीनाभित्र मध्यपश्चिमका २७३ गाविसमा सेवा विस्तार गर्नुपर्ने शर्त थियो।

त्यस्तै, अनुमति पाएको मितिले ३० महीनाभित्र दोस्रो चरणमा पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका ५० प्रतिशत क्षेत्रमा सेवा शुरू गर्नुपर्ने शर्त थियो। तर, कम्पनीले ७ वर्षमा भर्खर दोस्रो चरणको काम अघि बढाएको छ।

सुमार्गीले रसुवाको धुन्चेस्थित हिमालयाज् स्प्रीङ वाटर हत्याउँदाको कथा पनि उस्तै छ। डेढ दशकअघि कोरियन लगानीमा स्थापित यो कम्पनीका लगानीकर्ता पावर लजिक कम्पनी अन्तर्गतको हिमालयन स्प्रीङ वाटरका प्रमुख कार्यकारी अधिकृत एचएस हानलाई कुटपीट गरेर खेदेपछि यो कम्पनीको स्वामित्व सुमार्गी परिवारमा आएको थियो।

कोरियन लगानीकर्ताले राष्ट्रिय वाणिज्य ब्यांकसँग लिएको करीब १४ करोड ऋण तिर्न नसकेपछि लिलामीमा परेको यो उद्योग एकताकाकी चर्चित नेपाली अभिनेत्री मीनाक्षी आनन्दका श्रीमान् किराँतनरसिंह राणाले किने पनि चलाउन नसकेपछि २०६३ मा किसान श्रेष्ठ, विजय मल्ल र केदारभक्त श्रेष्ठले किनेका थिए।

अजेयराज सुमार्गी र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पशुपतिस्थित प्रसादगृह उद्‌घाटनमा ।

अजेयराज सुमार्गी र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पशुपतिस्थित प्रसादगृह उद्‌घाटनमा ।

यो समूहले समेत चलाउन नसकेपछि उद्योग करीब रु.२० करोडमा कोरियन कम्पनी पावर लजिकले किन्यो। पावर लजिकका सीईओ हान धुन्चेमा सुतिरहेका बेला राति गुण्डा प्रयोग गरेर कुटपीट गरिएपछि ५० प्रतिशत साझेदारका रूपमा सुमार्गी भित्रिए।

महँगो उद्योगमा सस्तो लगानी गरेर भित्रिएका उनले अहिले आफ्नो स्वामित्व ८० प्रतिशत पुर्याउइसकेका छन्। करीब रु.१० करोड लगानी गरेको उद्योगको मूल्य अहिले कम्तीमा रु.२ अर्ब पुगिसकेको सो उद्योगका पुरानामध्येका एक लगानीकर्ता बताउँछन्। उद्योगले उत्पादन गर्ने हिमालयाज् अन टप ब्रान्डको पानीको बजार नेपालका पाँचतारे होटलदेखि दुबई र कोरियासम्म छ।

शंकास्पद लगानी
संसद्को अर्थसमितिको ३ फागुनको कालोधन सम्बन्धी बैठकमा राष्ट्र ब्यांकका गभर्नर डा. युवराज खतिवडाले सुमार्गीको कम्पनीमा आउन लागेको साढे तीन अर्ब रुपैयाँभन्दा बढी रकम रोकिएको जानकारी दिए, नाम नलिई।

गभर्नरले प्रक्रिया पूरा नगरेको, ऋणदाता विदेशी संस्थाको विश्वसनीयता नखुलेको र कानून नाघेर रकम ल्याउन लागेकोले यसलाई रोक्नुपरेको बताए।

सुमार्गीको मिनभवनस्थित इन्फ्रा सुपरस्टोर

सुमार्गीको मिनभवनस्थित इन्फ्रा सुपरस्टोर

स्रोतका अनुसार, सुमार्गीको स्वामित्वका कम्पनी नेपाल स्याटेलाइट टेलिकम र मुक्तिश्री सिमेन्ट उद्योगमा ब्रिटिश भर्जिन आइल्याण्ड र साइप्रसबाट आउन लागेको करीब रु.८ अर्ब ७० करोड नेपाल राष्ट्र ब्यांकले जनवरी २०१४ देखि रोकिदिएको छ। सुमार्गीको सम्पत्तिको स्रोतमाथि प्रश्न उठेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबीन थालेको छ।

विभिन्न पटकमा गरी जोधार इन्भेष्टमेन्ट र एयरबेल कम्पनीबाट ऋणस्वरुप आएको त्यो रकम नबिल र इन्भेष्टमेन्ट ब्यांक मार्फत आएका थिए। कतिपय पटक भने रकम ल्याउन स्वीकृति दिइएको स्रोत बताउँछ।

सुमार्गीले हिमाल सँगको कुराकानीमा लगानी बोर्डको स्वीकृतिमा रु.११ अर्ब ल्याउन स्वीकृति लिएकोमा रु.८ अर्ब दूरसञ्चार र सिमेन्ट उद्योग स्थापनामा खर्च गरिसकिएको र रु.३ अर्ब राष्ट्र ब्यांक र उद्योग विभागले रोकिदिएको बताए।

सम्बन्धित ब्यांकमा आएको रकम शंकास्पद देखिएपछि गत वर्ष नै राष्ट्र ब्यांकले नबिल र इन्भेष्टमेन्ट ब्यांकको स्थलगत निरीक्षण समेत गरेको थियो। रकम रोकिएपछि सुमार्गीले राष्ट्र ब्यांकमा भुक्तानी पाउन पत्र लेखे पनि प्रक्रिया पूरा नगरी रकम नपाउने जवाफ पाएको स्रोतको दाबी छ।

Cover.indd“उनले ब्यांकमा आएको रकम नै धितो राखेर ऋण पाउन निवेदन दिए पनि त्यसका लागि समेत प्रक्रिया पूरा गर्नुपर्ने जवाफ दिइयो”, राष्ट्र ब्यांक स्रोत भन्छ।

सुमार्गीले भने इन्भेष्टमेन्ट ब्यांकमा रोकिएको रकमलाई धितो मानेर रु.२ अर्बभन्दा बढी ऋण लिइसकेको स्रोतको दाबी छ। यसका लागि अर्थमन्त्री डा. रामशरण महत र डेपुटी गभर्नर गोपाल काफ्लेको समेत सहयोग लिइएको स्रोतको दाबी छ। विदेशी मुद्रा व्यवस्थापन विभाग डेपुटी गभर्नर काफ्लेको जिम्मेवारी अन्तर्गत पर्छ।

उनले एक वर्षदेखि यो रकमको प्रकरण सल्टाउन पहल गरिरहेको स्रोतको दाबी छ। राष्ट्र ब्यांकको विदेशी मुद्रा व्यवस्थापन विभागले दुई साताअघि मात्रै वित्तीय जानकारी इकाइलाई पत्र पठाएर यो रकम आएको कम्पनी र त्यसको ब्यांक खातामाथि अनुसन्धान गर्न पत्र लेखिसकेको छ।

राष्ट्र ब्यांकमा एक महीनाभित्रै हुन लागेको नयाँ गभर्नर नियुक्तिमा समेत यो प्रकरण जोडिने सम्भावना छ। “यो प्रकरण सुल्झाउने गरी ठूलो रकमको चलखेल गरेर गभर्नर ल्याउन चलखेल भइरहेको छ”, स्रोत भन्छ।

सुमार्गीले अहिलेसम्म करीब रु.२० अर्ब ल्याएका छन्। त्यसमध्ये करीब रु.८ अर्ब ७० करोड ब्यांकमा थन्किएर बसेको छ। सुमार्गीले रकम ल्याउन लागेको ब्रिटिश भर्जिन आइल्याण्ड कर छूट दिने क्षेत्रका रूपमा चिनिन्छ।

अरू व्यवसायीले पनि त्यहाँबाट रकम भित्र्याइरहेको राष्ट्र ब्यांक स्रोत बताउँछ। नेपालीहरूले यसअघि दुबई, मरिससबाट यस्तो कारोबार गर्ने गरे पनि हाल ब्रिटिश भर्जिन आइल्याण्ड, जिव्राल्टार, बेलिज जस्ता देशबाट यस्तो कारोबार गरिरहेका छन्।

नेपालबाट हुण्डी मार्फत पुगेको कालोधनलाई लगानीका रूपमा भित्र्याएर सेतो बनाउन यस्तो पहल गरिन्छ। सुमार्गीलाई सो परिमाणमा ऋण पत्याउने एयरबेल र जोधार इन्भेष्टमेन्ट कम्पनी दूरसञ्चार सेवा प्रदायक एनसेलको माउ कम्पनी टेलियासोनेरासँग जोडिएका छन्।

आफैंमा शंकास्पद रहेका एयरबेल र जोधार इन्भेष्टमेन्टका विषयमा पर्याप्त जानकारी कतै भेटिंदैन। शुरूदेखि नै नेपालमा एनसेल, टेलियासोनेरा र नेपाल स्याटेलाइटबीचमा रहस्यमय सम्बन्ध देखिंदैआएको छ।

सुमार्गीले हालसालै सञ्चारमाध्यम मार्फत, नेपाल स्याटेलाइट टेलिकमको मालिक एयरबेल सर्भिसेस लिमिटेड साइप्रस, एयरबेलको मालिक जोधार इन्भेष्टमेन्ट, जोधारको मालिक टेलियासोनेरा एशिया होल्डिङ र टेलियासोनेरा एशिया होल्डिङको मालिक टेलियासोनेरा स्वीडेन भएको बताएका छन्।

आश्चर्यलाग्दो के छ भने, आफ्नै कम्पनीहरूको लगानीको नेपाल स्याटेलाइटमा जोधार र एयरबेलले ऋण दिएका छन्।

यसरी हेर्दा ऋणको नाममा ल्याउन लागिएको यो रकम नेपालबाट गैरकानूनी रूपमा ती देशमा पुर्याऋइएको रकम फिर्ता ल्याउने प्रयत्न नै हो भन्ने आशंकालाई बल दिन्छ।

अर्कोतिर, एनसेलको माउ कम्पनी टेलियासोनेराले सन् २०११ र १२ मा एयरबेल सर्भिसेस मार्फत नेपाल स्याटेलाइट को ७५ प्रतिशत स्वामित्व किनेको जनाएको थियो।

आफ्नै लगानीको हेटौँडास्थित रेडियो थाहा सञ्चारको ७ औँ वार्षिकोत्सवमा सहभागी अजय सुमार्गी ।

आफ्नै लगानीको हेटौँडास्थित रेडियो थाहा सञ्चारको ७ औँ वार्षिकोत्सवमा सहभागी अजय सुमार्गी ।

तर, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको आपत्तिपछि २०१३ मा टेलियासोनेराले आफ्नो ५७ प्रतिशत शेयर जोधार इन्भेष्टमेन्टलाई बिक्री गरेको विज्ञप्ति जारी गरेको थियो। यसले टेलियासोनेराले आफ्नै कम्पनीहरूबीचमा कारोबार गरेर नियामक निकायलाई छलेको देखाउँछ।

“टेलियासोनेरा अन्तर्गतका कम्पनीहरूले एनसेल र नेपाल स्याटेलाइटमा लामो समयदेखि किनबेच गरिरहे पनि त्यसको जानकारी र नाफाबापतको राजस्व सरकारी निकायमा आएको छैन”, प्राधिकरण स्रोत बताउँछ।

सुमार्गीको यो प्रयत्नमा लगानी बोर्ड साक्षी बसिदिएको छ। सुमार्गीले फास्ट ट्रयाकबाट रु.१० अर्बभन्दा बढी रकम भित्र्याउन लगानी बोर्डको अनुमति लिएको बताएका छन्। तर, यो प्रकरण जति लम्बिए पनि अर्थ नहुने सुमार्गीका एक सहयोगी बताउँछन्। “प्रधानमन्त्री नेतृत्वको लगानी बोर्डबाट अनुमति लिइसकेको कम्पनीलाई रोक्ने ताकत कसैको छैन”, उनी भन्छन्।

दाहाल ‘कनेक्सन’
एमाओवादी अध्यक्ष दाहाल र सुमार्गी सम्बन्धको चर्चा नयाँ होइन। २०५८ तिर हेटौंडामा हुँदा एमाओवादीको चन्दा मागको शिकार बनेका सुमार्गी त्यसको पाँच वर्षभित्रै दाहालका मित्र बन्नपुगे। बसउठ बाक्लिएपछि सुमार्गी–दाहाल ‘कनेक्सन’ चर्चामा आइरह्यो।

कांग्रेस नेता अर्जुननरसिंह केसीका साथ सुमार्गी दम्पती ।

कांग्रेस नेता अर्जुननरसिंह केसीका साथ सुमार्गी दम्पती ।

एमाओवादी नेता स्वनाम साथी मार्फत सुमार्गीको दाहालसँग सम्बन्ध नजिकिएको पारिवारिक स्रोत बताउँछ। शक्तिका उपासक सुमार्गीले रसुवास्थित हिमालयाज् स्प्रीङ वाटर आफ्नो स्वामित्वमा ल्याएपछि दाहाललाई हेलिकोप्टरमा धुन्चे लगेर उद्योग भ्रमण गराए। (हे. तस्वीर)

यसबाट सुमार्गीको शक्तिको अन्दाजासँगै विरोधीहरूको स्वर दबियो। सुमार्गी लगानीको ‘रेडियो थाहा सञ्चार’ को उद्घाटन होओस् वा माधवराज सुमार्गीको स्मृतिमा पशुपतिमा बनेको भवनको उद्घाटन, सबैतिर दाहाल छाए। अहिले त सुमार्गीको लाजिम्पाटस्थित घरको ‘भाडावाल’ नै दाहाल छन्।

नेपाल स्याटेलाइटको सेवा मध्यपश्चिममा विस्तारका क्रममा बीटीएस टावर लगायतका उपकरण फिल्डमा पुर्याइउन वाईसीएल कार्यकर्तालाई खटाइएको थियो।

कतिसम्म भने, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गत वर्ष पुसमा भएको पूर्व पोलिटब्युरो बैठकमा अध्यक्ष दाहाललाई सुमार्गीसँगको सम्बन्ध टुटाउन सुझाएका थिए। अहिले सुमार्गीका कानूनी अड्चनहरू एमाओवादीका तर्फबाट संविधानसभा सदस्य भएका रामनारायण विडारीले सल्टाउँदै आएका छन्।

नेपाल स्याटेलाइटको औपचारिक कार्यक्रममा उनी कम्पनीका पदाधिकारीका रूपमै देखिन्छन्। सुमार्गीको रकम खुलाइदिन एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आग्रह गरेको स्रोत बताउँछ।

“रकम रोकिंदा छटपटी सुमार्गीमा भन्दा दाहालमा बढी देखिन्छ” स्रोत भन्छ, “यसले नै प्रष्ट्याउँछ, दाहाल–सुमार्गी सम्बन्ध।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>