ब्लगबुधबार, फाल्गुण १३, २०७१
‘नानी निको भएको र अपराधी पक्राउ परेको चाँडै हेर्ने पाउँ’

एसिड आक्रमणकी घाइते संगीता मगरको उपचार गर्दै डा. अनिसा केएमसी अस्पतालमा । तस्वीर: देवकी बिष्ट
‘आइसोलेसन एरिया, नो इन्ट्री विथवाउट परमिसन ।’ काठमाडौं मेडिकल कलेज (केएमसी)को बर्न वार्डमा १६ वर्षीया संगीताका आधा खुलेका आँखा सिलिङतर्फ एकोहोरिएका थिए ।
“अहिले कस्तो छ ?”
संगीता अलिकति चलमलाईन् । उनका दुबै आँखामा एक–एक थोपा औषधी राखिदिएपछि आमा चमेलीले निन्याउरो स्वरमा भनिन, “आजै हो आँखा खोलेको, अलीअली बोल्न पनि थालेकी छ ।”
एसिडले अनुहार, आँखा, छाती र हात डढेकोले उनको शरीरभर पट्टी लगाइएको छ । चिकित्सकले ‘डिस्टर्ब’ नगर्न संकेत गरेपछि हामी चमेलीसँगै बाहिर निस्कियौं । बर्न वार्ड बाहिरको करिडोरको मेचमा थ्याच्च बसिन् चमेली ।
रामेछाप खनियापानीका प्रेम र चमेली मगर दम्पती साँझबिहानको गर्जो टार्न धौ–धौ भएपछि १२ वर्षअघि काठमाडौं पसेका थिए, सम्पतीका नाउँमा दुई सन्तानलाई काखी च्यापेर ।

संगीताकी अामा चमेली
उनीहरुले काठमाडौंको एउटा क्याटरिङ कम्पनीमा मजदूरी गर्दै छोराछोरीलाई स्कुल भर्ना गरे । संगीता जेठी हुन् । संगीताका भाई विरामी भएपछि छोडेको विद्यालय फेरि जान सकेनन् । मजदूरीको न्यूनतम आर्जनमा परिवार धान्ने वाध्यताका प्रेम र चमेलीको आशा छोरीमा केन्द्रित थियो ।
एसएलसीको तयारीका लागि झोंछेमा ट्युसन पढन गएकी संगीता र उनका साथीहरुमाथि ११ फागुनको विहान एसिड आक्रमण भएको थियो ।
पढ्न गएकी छोरी चिच्चाउँदै फर्कदा चमेलीले केही भेउ पाएकी थिइनन् । अनुहार र शरीर डढेकी छोरी छट्पटाईरहेकी थिईन् । चमेलीले छोरीमाथि पानी खनाइन् र छिमेकी गुहारेर वीर अस्पताल पुर्याईन् । वीर शम्शेरको पालमा बनेको अस्पताल अब नाममात्रैको वीर छ । त्यहाँ उपचार नहुने भएपछि छोरी लिएर उनी सिनामंगलस्थित केएमसी पुगिन् ।
“त्यसपछि बन्द भएको बोली आजमात्रै फुटेको छ,” चमेलीले भनिन् । उनको स्वर कामिरहेको थियो । “नानी बाहिर पनि जान्नथी । स्कुल, ट्युशन र घर मात्रै हो । साथी पनि थोरै थिए । बरु स्कुल छोडेको छोराको पिर लाग्थ्यो । मेरी फूलजस्ती छोरीमाथि यस्तो विपत्ति आइलाग्यो”, चमेली रोईन् ।
संगीताको उपचारका लागि चिनेजानेकाहरुले जोडजाम गरेर ५० हजार ऋण दिएका छन् । त्यसमध्ये र.४ हजार मात्रै बाँकी थियो उनीसंग, १२ फागुनको साँझसम्म ।
छोरीको कुरा गर्दागर्दै रुन थालेकी चमेलीलाई छोडेर म फेरि संगीतालाई हेर्न गएँ । अघि जस्तै उनका आधा खुलेका आँखा सिलिङतर्फ एकोहोरिएका थिए ।

तस्वीर: देवकी बिष्ट
उपचारमा संलग्न चिकित्सकका अनुसार एक महिनामा संगीताको घाउ निको हुनेछ । डढेको छालाको पत्र उप्किन थालेपछि (करिब २८ दिनमा) मात्रै दाग हटाउन प्लास्टिक सर्जरीबारे सोच्न सकिन्छ जसका लागि ठूलो रकम चाहिन्छ । अहिलेलाई छोरीको घाउ निको पार्ने र अपराधि पक्राउ परेको हेर्ने चमेली र प्रेमको चाहना छ ।
संगीतासँगै एसिड आक्रामणमा परेकी सीमा बस्नेत (१५) को भने घाउ अलि कम भएकोले वीरमै उपचार भइरहेको छ ।
बुवा गुमाएकी सीमा न्यूरोडमा सुन पसलको सुरक्षामा खटिएका हजुरबुवा र हजुरआमासँगै बस्दै आएकी छिन् ।
अहिले अस्पतालमा हजुरआमाले स्याहारिरहेकी उनलाई कहिले अस्पतालबाट घर फर्केर स्कुल जान सकुँला भन्ने चिन्ता छ ।
११ फागुन बिहान करिब ६ बजे काठमाडौंको झोंछेमा एसएलसीको तयारीका लागि ट्युशन पढ्न गएका संगीता, सीमा र उनका साथीहरु शिक्षक आइनपुगेकाले पढाईकै कुरा गरिरहेका थिए ।

वीर अस्पतालमा उपचार गराइरहेकी सीमा बस्नेत ।
सुन्तला रङको हुड र अनुहारमा मास्क लगाएको अन्दाजी २० वर्षको युवक हुर्रिंदै आएर एसिड प्रहार गर्यो । एसिड धेरै संगीताको शरीरमा पर्यो र त्यसको छिटा उनका साथीहरुलाई पनि ।
आक्रमणको दुखाई र त्रासले अत्तालिएका उनीहरु कराउँदै आ–आफ्ना घरतर्फ दौडिए । सीमाको डेरा ट्युसन सेन्टरबाट ५ मिनटको दुरीमा छ, संगीताको त्यो भन्दा नजिक ।
सीमाका अनुसार उनीहरुले त्यो युवकको अनुहार देखेनन् र अनुमान पनि गर्न सकेका छैनन् ।
अहिलेसम्म राजधानीमा सार्वजनिक भएका एसीड आक्रमणका घटनामध्ये यो दोस्रो घटना हो ।
राजधानीमा प्रहरी कार्यालयको छेउमै भएको यो एसिड आक्रमणको सर्वत्र निन्दा र विरोध भइरहे पनि आक्रमणकारी अझैं पक्राउ पर्न सकेका छैनन् ।
किशोरीहरुमाथि भएको यो क्रुर आक्रमणले दिएको शारीरिक घाउको त उपचार हुँदैछ । तर, मानसिक पीडाको परिपूरण र समाजमा बढदो आपराधिक प्रवृत्ति नियन्त्रणका लागि तुरुन्तै कदम चाल्नु पनि उत्तिकै जरुरी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
