रमझमबुधबार, फाल्गुण १३, २०७१
देश बदल्ने कुरा
-सजना बराल
नेपालको शिक्षा प्रणालीप्रति धेरैको गुनासो छ। पढ्ने र पढाउने संस्कृतिप्रति धेरैको चिन्ता पनि छ। तर, आजका युवा चिन्ता होइन, चिन्तन गर्छन्। समस्याको समाधानमा आफैं अग्रसर हुन्छन्। राजधानीका यी युवा केही प्रतिनिधि पात्र हुन्।
ज्ञानेश्वरस्थित कारखाना नामक संस्थाले बालबालिका र युवालाई फोटो फ्रेमदेखि भेन्डिङ मेशीनसम्म बनाउन सिकाइरहेको छ। सन् २०१२ मा खुलेको यो संस्थाका संस्थापक साकार पुडासैनी (३५) हुन्।
शिक्षकलाई चिनी र विद्यार्थीलाई पानीसँग दाँज्ने साकार यी दुई पदार्थको मिश्रणबाट मात्र तेस्रो पदार्थ अर्थात् ज्ञान सिर्जना हुने बताउँछन्। “हाम्रा विद्यालयमा चिनी–पानी घोल्ने वातावरण छैन, त्यसैले ज्ञानको संकट छ”, उनी भन्छन्।
काठमाडौंमै पढाउँथे मञ्जिल राना (२६)। र, त्यही स्कूलमा पढ्थिन्, बाजुराकी सांग्रिला बिक। सन् २०१० मा विदामा घर गएकी सांग्रिला विद्यालय फर्किनन्। किन फर्किनन् सांग्रिला? मञ्जिललाई बरोबर चिन्ता लागिरह्यो। उनी विद्यार्थी खोज्न बाजुरा निस्किए। “बाजुराका बालबालिकाको बिजोग देखेपछि म काठमाडौं होइन, यहाँ हुनुपर्छ भन्ने लाग्यो”, उनी भन्छन्।
उनले तत्काल बाँसका भाटा भेला पारे। र, स्कूल बनाए, माया युनिभर्स एकेडेमी।बाजुराबाट शुरु भएको रानाको शिक्षा यात्रा अहिले स्याङ्जा, उदयपुर, तनहँु र सोलुखुम्बुसम्म पुगिसकेको छ। उनी त्यहाँ विद्यालय मात्रै चलाउँदैनन्, पशुपालन र खेती पनि गर्छन्। आम्दानी बालबालिकाको पढाइमा खर्चन्छन्।
शिक्षा क्षेत्रमा सरकार र जनताको उदासीनताप्रति उनी दिक्क छन्। “हामी देश बनेन भन्दै गनगन गर्छौं” उनी भन्छन्, “बालबालिकालाई पढ्ने अवसर दिए पो देश बन्छ।”
काठमाडौं, धोबीचौरका विनोद शाही (३४) सन् २००४ देखि डोल्पाका बालबालिका पढाइरहेका छन्। आठ दिन हिंडेर उपल्लो डोल्पा पुगेका उनलाई अहिले सबैले ‘सर अफ दि हिमालयज्’ भन्छन्।
परनिर्भरता नै विकासको बाधक ठान्ने शाही विकासमा गाउँलेकै हात हुनुपर्छ भन्छन्। त्यसैले उनले स्थानीयकै लगानीमा विद्यालय खोले। स्थानीय बालबालिकाको शिक्षाका लागि स्नो याक परियोजना मार्फत काम पनि गरिरहेका छन्। शाहीका अनुसार डोल्पा जस्ता विकट जिल्लामा सरकारी र विदेशी लगानी थुप्रिए पनि उपलब्धि हासिल नहुनुको एउटै कारण विद्यार्थीलाई गाउँमा टिकाउन नसक्नु हो। “हाम्रो शिक्षाले विद्यार्थीलाई ‘नेपाल राम्रो छैन, विदेशमा धेरै पैसा कमाइन्छ’ जस्ता ज्ञान दिइरहेको छ। त्यसैले युवाहरू विदेशिइरहेका छन्”, उनी भन्छन्।
गाउँमा केही गर्छु भनेर गए पनि प्रोत्साहन नपाइने शाहीको अनुभव छ। “लथालिङ्ग परिस्थितिको फाइदा उठाउनेहरू समाज सुधारका काम गर्नेलाई पनि देखिसहँदैनन्”, उनी भन्छन्।
कारखानाका पुडासैनी देश बनाउन सम्पूर्ण सामाजिक संरचनालाई नयाँ आकारमा बदल्नुपर्नेमा जोड दिन्छन्। उनी भन्छन्, “विश्वलाई नै अनेक आकारप्रकारमा ढाल्न मिल्छ भने हाम्रा सामाजिक मान्यता र प्रणालीलाई पनि चाहे जस्तो बनाउन सकिन्छ।”
विद्यालयमा ज्यामिति पढाइए पनि विद्यार्थीले एउटा फल्याकबाट दुइटा त्रिभुज बनाउँदा शिक्षक नै अनकनाउने गरेको उनले देखेका छन्। पुडासैनी भन्छन्, “एउटा आकारबाट अनेक आकार बन्छ भन्ने कुरा विद्यालयमा पढाइँदैन, आधारभूत समस्या नै यही हो।”
यसै साता कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित ‘द स्टोरी टेलर्स’ को ‘एडुकेशन सेरिज’ मा पुडासैनी, शाही र राना उपस्थित थिए। उनीहरूले कठिन परिस्थितिसँग संघर्ष गर्र्ने आफ्नै तरीका र भोगाइ सुनाए।
साप्ताहिक खबरपत्रिका हिमालबाट