थप समाचारबिहीबार, फाल्गुण १४, २०७१

फेरिदै यौन व्यवहार

Nisha Rai

3दाङ, सोनपुर गाविसस्थित सोनपुर माध्यमिक विद्यालयमा कक्षा–९ मा पढ्ने हरि चौधरी एक दिन गाउँमै देखाइने भिडियो पार्लरमा हिन्दी चलचित्र हेर्दै थिए। एकाएक नायक–नायिकाको अन्तरंग दृश्य देखियो।

उनलाई अनौठो अनुभूति भयो। मस्तिष्कमा बारम्बार त्यही दृश्य आउन थालेपछि उनले लुकेर हस्तमैथुन गर्न थाले। अहिले उनै हरि साथीहरूलाई हस्तमैथुनका फाइदा–बेफाइदाबारे खुल्ला रूपमा बताइरहेका छन्। किशोर उमेरमा यौन सम्बन्धको जोखिम मोल्नुभन्दा हस्तमैथुन राम्रो हुने बताउँदै हरि भन्छन्, “यसमा डर पनि छैन, भ्रम पनि छैन।”

कक्षा–९ कै तुलसी चौधरी महीनावारी हुँदा घरकै कपडा लगाउँथिन्। उनकी आमाले पनि कपडा नै प्रयोग गर्थिन्। तर, अहिले तुलसी सफा ‘प्याड’ प्रयोग गर्छिन्। आमा र बहिनीलाई पनि उनले ‘प्याड’ प्रयोग गर्न सिकाएकी छन्।

किशोरकिशोरी प्रजनन् स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सरकारले पुस २०७० देखि मध्यपश्चिम र पश्चिमाञ्चलका १४ जिल्लाका १४० गाविसका १४० वटै विद्यालयमा चलाएको ‘विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम’ को प्रभाव हो, यो। यो कार्यक्रममा मध्यपश्चिमको दाङसँगै कालीकोट, जुम्ला, जाजरकोट, प्यूठान, सल्यान, बाँके, बर्दिया, रोल्पा, रुकुुम, सुुर्खेत र दैलेख जिल्ला पनि समेटिएका छन्। यसमा पश्चिमाञ्चलका कपिलवस्तु र अर्घाखाँची पनि समावेश छन्।

अमेरिकी सहयोग नियोग (यूएसएड) को ‘हेल्थ फर लाइफ’ परियोजनाको सहयोगमा संचालित यो कार्यक्रमले कक्षा ७, ८ र ९ का विद्यार्थीका लागि स्वास्थ्य सम्बन्धी छुट्टै पाठ्यक्रम समेत तयार गरिरहेको छ।

न संकोच, न चिन्ता

2प्रजनन् स्वास्थ्य र यौन शिक्षा पाएपछि सोनपुरका विद्यार्थीमा संकोच हराउँदै गएको छ। विना संकोच यौन शिक्षा लिएपछि उनीहरूको प्रजनन् स्वास्थ्य बिग्रने चिन्ता हराएको छ। यौनसम्पर्क भइहाल्यो भने विवाह गर्नैपर्छ भन्ने बुझेका विद्यार्थीले कण्डमदेखि आकस्मिक गर्भ रोक्ने आइपीलसम्मका कुरा थाहा पाएका छन्।

“पहिला यस्ता कुरा महा–लाजका विषय हुन्थे”, सोनपुर माविकी कक्षा ९ कि नरिता चौधरी भन्छिन्, “अहिले यस्ता कुरा थाहा पाउनु र अरूलाई पनि बताउनु सामान्य भएको छ।”

कक्षा–९ मै पढिरहेकी रनियापुरकी सीता चौधरी यौन शिक्षाले केटा–केटी दुवै समूहमा गम्भीरता ल्याएको बताउँछिन्। अहिले केटीहरूको शौचालयमा छाडा चित्र, छाडा कुरा देख्नु–सुन्नु नपरेको उनले बताइन्।

शारीरिक तथा स्वास्थ्य शिक्षक सतिश गौतमले पनि यौन शिक्षाले विद्यार्थीमा गम्भीरता ल्याएको अनुभव सुनाए। यसै कार्यक्रम अन्तर्गत स्वास्थ्य शिक्षा पढाइरहेकी सोनपुर उपस्वास्थ्य चौकीकी सिनियर अहेब इन्दुमती चौधरी भन्छिन्, “पहिले बोल्नै डराउनेहरू अहिले सहज रूपमा हस्तमैथुन लगायतका यौन सम्बन्धी जिज्ञासाहरू सोधेर मनन् गर्ने भएका छन्।”

युएसएड, हेल्थ फर लाइफ कार्यक्रमका व्यवहार परिवर्तन सम्बन्धी सञ्चार सल्लाहकार खेमराज श्रेष्ठ कार्यक्रममा किशोरकिशोरीमा शारीरिक परिवर्तन, परिवार नियोजनका साधन, समय नपुग्दै विवाह गर्दाका समस्या र लैंगिक हिंसा नियन्त्रणलाई कार्यक्रमले प्राथमिकता दिइएको बताउँछन्। “कार्यक्रममा १४० माविका १६ हजार विद्यार्थी सहभागी छन्”, श्रेष्ठ भन्छन्, “उनीहरूमा यौन र प्रजनन् स्वास्थ्य चेतनास्तर बढेको पाएका छौं।”

हुनत, किशोरकिशोरीमा प्रजनन् स्वास्थ्यबारेको ज्ञानले यौनजन्य क्रियाकलाप बढाउन सक्ने जोखिम पनि छ। तर, परिवार नियोजनका साधनको प्रयोगबारे ज्ञान भएकाले आत्तिनुपर्ने अवस्था नरहेको अहेब इन्दुमती चौधरी बताउँछिन्। मनोविद् गंगा पाठक प्रजनन् स्वास्थ्य शिक्षाले किशोरकिशोरीमा खुलापन ल्याउँदा समाज फेरिने भए पनि धेरै पक्षमा होशियार हुनुपर्ने बताउँछिन्। यौनबारे पुराना र नयाँ पुस्तामा फरक धारणा रहेकोप्रति पर्याप्त ध्यान नदिए यौनजन्य क्रियाकलाप र द्वन्द्व पनि बढ्ने उनको भनाइ छ।

एसएमएसमा यौन जिज्ञासा

सोनपुर, दाङस्थित सोनपुर माध्यमिक विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्य शिक्षाको कक्षा लिइरहेका विद्यार्थी।

सोनपुर, दाङस्थित सोनपुर माध्यमिक विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्य शिक्षाको कक्षा लिइरहेका विद्यार्थी।

बाँकेस्थित मदरसामा कक्षा १० मा पढिरहेकी १९ वर्षीया सल्मा पठान (नाम परिवर्तन) लाई महीनावारीका बेला जननेन्द्रियमा खटिरा आउने समस्या थियो। तर, उनमा यसबारे परिवारका सदस्यलाई समेत सोध्ने आँट थिएन। यस्ता समस्याको समाधान एसएमएस मार्फत पाइने कुरा सुनेपछि उनले केही समयअघि टोल फ्री नम्बर ५५७७ मा पठाइन्।

केही समयभित्रै पाएको उत्तर अनुसार उपचार गरेपछि उनी समस्यामुक्त भइन्। मदरसामा स्वास्थ्य तथा शारीरिक शिक्षा अन्तर्गत यौन तथा प्रजनन् स्वास्थ्य पढाइ भए तापनि प्रभावकारी हुननसकेको बताउँदै सल्मा भन्छिन्, “सरले पढाएको हामी सुन्छौं, तर थप सोध्ने आँट नै हुँदैन।”

‘किशोरकिशोरी प्रजनन् स्वास्थ्य कार्यक्रम’ अन्तर्गत नै सरकारले गत २ असोजदेखि देशभर शुरू गरेको मोबाइल हेल्थ कार्यक्रममा १५ देखि १९ वर्षसम्मका तीन लाख किशोरकिशोरीको मोबाइल फोनमा एसएमएस मार्फत तीनपटकसम्म स्वास्थ्य सन्देश पठाइएको थियो। सन्देशमा स्वास्थ्य सम्बन्धी थप जानकारीका लागि टोल फ्री नम्बर ५५७७ मा सम्पर्क वा एसएमएस गर्न समेत सूचित गरिएको थियो।

हेल्थ फर लाइफका सल्लाहकार श्रेष्ठका अनुसार २९ मंसीरसम्म तीन लाख किशोर–किशोरीमध्ये दुई लाख ५४ हजार मोबाइल हेल्थको अनलाइन अन्तरक्रियामा सहभागी भए भने ५४ प्रतिशत किशोरकिशोरीले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी हाजिरीजवाफमा चासो देखाए।

यौनकर्मी सचेत बनाउँदै

राजधानीको ज्याठास्थित स्टेप नेपालको ‘ड्रप इन सेन्टर’ मा हरेक बिहीबार यौनकर्मीहरू यौन स्वास्थ्य परीक्षण गरिरहेका हुन्छन्। त्यहाँ नियमित आउनेमध्ये एक जना सम्झना मगर (२१) हुन्। डान्सबारकी नर्तकी उनी यौनकर्मी पनि हुन्। १५ वर्षकै उमेरमा भागेर विवाह गरेकी उनी त्यही वर्ष आमा बनिन्।

बच्चा जन्मेको एक महीनामा झगडा भएर उनी श्रीमान्सँग छुट्टिइन्। उनलाई शारीरिक र मानसिक रूपमा परिपक्व नभई विवाह गरेकोमा पछुतो छ।

ठमेलको एउटा मसाज पार्लरमा काम गर्ने पार्वती खड्का (३२) को कथा पनि सम्झनाको जस्तै छ। उनले सानैमा भागेर विवाह गरिन्। त्यसको तीन वर्षमा छोरी जन्मिइन्। राम्रो खानपान र स्याहार नहुँदा उनी र बच्चा दुवैको स्वास्थ्य कमजोर भयो। बच्चा जन्मेको चार महीनापछि श्रीमान्ले सम्बन्धविच्छेद गरे। त्यसपछि उनी मसाज पार्लरमा काम गर्न आइपुगिन्।

सँगसँगै शुरू भयो यौनकर्म। “कलिलो उमेरमा आमा बन्नु जस्तो सास्ती अरू केही नहुने रहेछ”, काठमाडौंमा हुर्केकी पार्वती भन्छिन्, “त्यसबेला यो ज्ञान भएको भए मेरो भाग्य अर्कै हुन्थ्यो।”

बसपार्क र कलंकीमा रहेको ‘ड्रप इन सेन्टर’ मा पनि दैनिक ३० जनासम्म यौनकर्मी स्वास्थ्य परामर्श–परीक्षणमा आउँछन्। ठमेलस्थित ‘ड्रप इन सेन्टर’ की लक्ष्मी सूचीकार हिजोआज सुरक्षित यौनसम्पर्कको चेतना बढेको बताउँछिन्। “यौनव्यवहार फेरिंदैछ”, उनी भन्छिन्, “यौनस्वास्थ्यबारे सचेतना बढेकैले हो, हिजोआज कण्डम माग्न आउनेहरू पनि थुप्रै हुन्छन्।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...