थप समाचारबिहीबार, फाल्गुण १४, २०७१
एसिड आक्रमणमा परेकी छात्राहरुलाई पुजा बोहोराले सहयोग गरिन्
एसिड आक्रमणमा परी घाइते भएकी दुई किशोरीलाई पुजा बोहोरा नेतृत्वको समूहले आर्थिक संकलन गरेर प्रदान गरेको छ ।
एसएलसीको तयारी कक्षा लिइरहेकी दुई युवतीमाथि ११ फागुनमा एसिडले आक्रमण भएकाे थियो ।
उनीहरुको उपचारका लागि बोहोरा नेतृत्वको समूहले ४५ हजार आर्थिक संकलन गरेका थिए ।
संकलित पैसा बुझाउँदै बोहोराले भनिन्, ‘‘एसएलसी दिने बेलामा म सामुहिक बलात्कारमा परे, यसको पीडा थाहा छ ।’’ बोहोराले पीडकलाई तत्काल कार्बाहीको माग राखिन् ।
उक्त समूहलाई डेनमार्कबाट प्रशारण हुने मन्डला अनलाइन रेडियोले पाँच हजार र शिल्भर माउन्टेन स्कूल लैंनचौरले पाँच हजार सहयोग गरेका थिए ।
तेह्र विद्यार्थी सङ्गठनद्वारा गृहमन्त्री गौतमलाई ध्यानाकर्षणपत्र
तेह्र विद्यार्थी संगठनले किशोरीलाई एसिड आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमलाई माग गरेका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) लगायत १३ विद्यार्थी संगठनले गत आइतबार काठमाडौँको वसन्तपुरमा अध्ययन क्रममा अज्ञात व्यक्तिले ती वालिकालाई तेजाब खन्याएर आक्रमण गरेको चार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गर्न नसक्नु दुःखद भएको बताएका छन् ।
ध्यानाकर्षणपत्र ग्रहण गर्दै गृहमन्त्री गौतमले नेपाल प्रहरी अनुसन्धानका लागि सक्षम र योग्य भएको र सो घटनाका दोषीलाई जतिसक्दो छिटो खोजी गरी कारबाही गर्न आफुले निर्देशन दिइसकेको बताए ।
“अपराधीहरू कानुनको घेराबाट बच्न सक्दैनन, प्रहरीले तत्काल सो घटनाको अध्ययन/अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्छ, घाईते किशोरीद्वयको उपचार खर्च सरकारले व्यहोर्छ”, उनले भने ।