ब्लगबिहीबार, फाल्गुण १४, २०७१
रातो सधैं क्रान्ति हुँदैन
‘रातो राम्रो, गुलियो मिठो’ भन्ने नेपाली उखान सधैं, सबैलाई लागू नभए जस्तै राता किताब पढ्ने र राता कपडा/टोपी लगाउने सधैं क्रान्तिकारी नहुने धेरै घटनाहरुले देखाउँछन् ।
राता किताब पढ्ने तथा राता कपडा लगाउनेहरुबाट कयौं बेला प्रतिक्रान्तिकारी भएका उदाहरण संसारका धेरै ठाउँमा भेटिन्छन् ।
एसियाकै दक्षिण पूर्वी देश कम्बोडियालाई हेर्दा पनि यो देखिन्छ । सन् १९७५—७९ सम्म सत्तासीन रहेको खमेररुज (लाल खमेर) लाई उसकै ‘क्रान्तिकारी’ क्रियाकलापबाट कारण अहिले कम्बोडियामा सम्झदा समेत मानिसहरु वान्ता गर्न खोज्छन् ।
उनीहरुको आधार इलाका बस्ने ‘वास्तविक जनता’लाई राजधानीमा ल्याउने तथा राजधानी र शहरमा बस्ने ‘बुर्जुवा’ लाई श्रमको महत्व सिकाउने नाममा गाउ र दुर्गम पठाउने खमेररुजको अभियानका कारण लाखौं मानिसमा कहर बर्सियो ।
त्यसले आम मानिस असन्तुष्ट बनेको मौका पारेर भियतनामले आक्रमण गर्यो र खमेररुजलाई जंगलतर्फ भगाउदै आफू समर्थित सरकार बनायो । त्यसपछि जंगलमा पनि टिक्न नसकेर आत्मासमर्पण गरेका ८० बर्ष नाघेका खमेररुज नेताहरुले अहिले पनि कारावास भोग्नुपरिरहेको छ भने र पनाति/पनातिनी खेलाउने उमेरका उनीहरुले बिशेष अदालतमा बयान दिनु परिरहेको छ ।
नेपालमा अहिले बिभिन्न नामका माओवादीहरुले राता कपडा र टोपी लगाएर गरिरहेका क्रियाकलाप पनि खमेररुजभन्दा फरक देखिदैनन् । मोहन बैद्य नेतृत्वको माओवादी संविधानसभा बिघटन गराएर शहरी बिद्रोह गर्ने योजनामा छ भने नेत्रबिक्रम चन्द नेतृत्वको माओवादी कुन दिन हिंसात्मक गतिविधि सुरु गर्न सकिन्छ भन्ने दाउ हेरिरहेको छ ।
राष्ट्रिय/अन्तराष्ट्रिय परिस्थिति बुझेका तथा संविधान निर्माण गरेर मुलुकलाई संक्रमणबाट बाहिर ल्याउन प्रतिवद्ध भनिएका पुष्पकमल दाहाल र बाबुराम भट्टराईको माओवादी पनि सहमतिबाट संविधान बनाउनु पर्छ भन्ने तर सहमतिमा नआउने तरिका अपनाउदैछ ।
सहमतिबाट संविधान निर्माण गर्न दबाब दिने नाममा फाल्गुण १६ गते काठमाडौंमा उसले गर्न लागेको प्रदर्शनको तयारीमा देखाएका क्रियाकलापले त उ पनि अराजकता मच्चाउने योजनामा नै रहेको संकेत दिन्छ ।
अहिलेको अवस्थामा अराजकता मच्चाउने, संविधान निर्माणलाई पर धकेल्ने र संक्रमणलाई तन्काउने क्रियाकलापलाई क्रान्तिकारी भन्नै सकिन्न । यसले अन्तत: प्रतिक्रान्तिलाई नै सहयोग पुर्याउछ ।
राजतन्त्र समाप्त पारेर स्थापना गरेको गणतन्त्र अझै संस्थागत भएको छैन । संविधान निर्माण नभई गणतन्त्र संस्थागत हुदैन पनि । फागुन ६ गते मात्रै पूर्व राजाले दलहरुलाई पूरानो सम्झौता पालन गर्न वक्तव्य निकालेरै आह्वान गरे ।
जनआन्दोलनका बेला उनीसग कुनै गोप्य सम्झौता नभएको दलहरुले बताए पनि उनी गद्धिमा फर्कने योजनामा रहेको त्यसले स्पष्ट पार्छ । धर्मनिरपेक्ष हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने तथा राजतन्त्र पुनस्र्थापना गर्नुपर्ने अभियान राप्रपा नेपालले पहिलेदेखि चलाएकै थियो, अहिले अरु चर्काउदैछ । संविधान निर्माण नहुदा तथा संक्रमण लम्बिदा उसको अभियानलाई थप सघाउ पुग्नेछ ।
संक्रमण लम्बिएको मौका छोपेर बिखण्डनवादी सलबलाएको पनि सबैले देखेकै छन् । जातीय सदभाव बिगार्ने तथा क्षेत्रीय असमझदारी बढाएर अराजकता मच्चाउने षड्यन्त्र भइरहेको तराईका जिल्लाका केही ठाउमा जनसरोकारका कार्यालय स्थापना गर्ने सरकारी निर्णयबिरुद्ध भड्काइएको उपद्रवले देखाउछ ।
यही बेला बिभिन्न अन्तराष्ट्रिय शक्तिहरुले धार्मिक, जातीय, क्षेत्रीय बिषयमा नेपालको आन्तरिक मामिला र सार्वभौमिकतामा समेत हस्तक्षेप हुने गरी सल्लाह दिन थालेका छन् । संक्रमणकाल लम्बिदा यस्तो सल्लाहको बाढी नै आउन सक्छ । जसले नेपालको निर्णय क्षमता र सार्वभौमिकतालाई अरु कमजोर पार्नेछ ।
त्यसकारण, भावी राजनीतिमा आफ्नो हात माथि पार्ने नाममा माओवादीहरुबाट अहिले भइरहेका कुनै पनि क्रियाकलाप क्रान्तिकारी छैनन् । तिनले कि प्रतिक्रान्ति निम्त्याउनेछन् कि भने नेपालको राष्ट्रियतालाई कमजोर पार्नेछन् ।
माओवादीहरु अहिले असफल भए भने फेरी उठ्नै नसक्नेगरी थच्चिने अर्काे सत्य हो । नेपालीमा अहिले विकास भएको चेतनाले निर्माण गरेको जनमतका कारण उनीहरु सफल हुने सम्भावना निकै कम हुनु चाहि केही सन्तोष गर्न सकिने स्थिति हो ।
तर, एउटा सत्य चाहि के हो भने जसरी निलो ब्यानर बोक्दैमा र सेता परेवा उडाउदैमा शान्तिकामी भइदैन, त्यसैगरी रातो झण्डा बोक्दैमा तथा राता कपडा र टोपी लगाउदैमा क्रान्तिकारी पनि भइदैन ।
देवकाेटाकाे ब्लकबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
