रिपोर्टशुक्रबार, फाल्गुण १५, २०७१
मापसेपछि सीसीटीभी
– सन्त गाहा मगर
काठमाडौं सीतापाइलाका २४ वर्षीय अनिल थापा ३ फागुनको मध्याह्न मोटरसाइकलमा सिंहदरबार, माइतीघरहुँदै पुल्चोक जाँदैथिए। रातो बत्ती बलेकाले उनी थापाथली चोकमा रोकिए।
केही क्षणमै ट्राफिक प्रहरी आएर चालक अनुमति पत्र मागिन्। अनिलले किन भनेर सोध्न नपाउँदै प्रहरीले तथ्यांक विभाग अगाडि लेन मिचेको सम्झाइन्। तीन–चार मिनेट पहिले उनले ट्राफिक प्रहरी नभएको ठाउँमा लेन मिचेका थिए।
ट्राफिक प्रहरीले विनम्रतापूर्वक कन्ट्रोल रुमले सीसीटीभीमा हेरेर वाकीटाकीबाट सूचना आएको बताएपछि उनको बोल्ने ठाउँ रहेन। समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत उनले रु.२०० जरिवानाका साथै ४ फागुनको दिउँसो १ देखि २ बजेसम्म ट्राफिक प्रहरीको लेक्चर सुन्नुपर्यो। “ट्राफिकको सचेतना कक्षा उपयोगी नै हुने रहेछ”, अनिल भन्छन्।
अनिलसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक घण्टा सचेतना कक्षा लिएर निस्केका भक्तपुरका राहुल शर्मा (२५) को भोगाइ भने अलि फरक छ। उनी १ फागुन दिउँसो साढे दुई बजे कमलपोखरी चोकमा रातो बत्तीमा रोकिए। बायाँबाट आएको अर्को मोटरसाइकललाई ठाउँ छोड्दा आफ्नो मोटरसाइकलको अघिल्लो चक्का सडकको सेतो धर्सामा पुगेको उनको भनाइ छ।
आफ्नो गल्ती छैन भन्दा ट्राफिक प्रहरीले ‘सीसीटीभीमा रेकर्ड भइसक्यो, छाड्न मिल्दैन’ भन्दै चिट थमाएको उनी बताउँछन्। “अरूले पेलेर लेन मिचिंदा पनि सजाय भोग्नुपर्यो”, एउटा दुग्ध उद्योगमा कार्यरत राहुलले भने, “सचेतना कक्षामा लेन मिचेर जाँदा मिनी ट्रकको ठक्कर पछि स्कुटर चालक युवतीको दुवै खुट्टा काट्नु परेको भिडियो देखाइयो।”
अत्यावश्यक निगरानी
४ फागुनसम्ममा ट्राफिक प्रहरीको सीसीटीभीको फन्दामा पर्ने अनिल र राहुल जस्ताको संख्या ५६९ पुगिसकेको छ। ट्राफिक प्रहरीले विकसित देशहरूमा सामान्य भएको सीसीटीभी निगरानी गत माघबाट शुरू गरेको हो।
सडकमा सीसीटीभी शुरू भएको पहिलो महीना ४७१ र फागुनको पहिलो चार दिनमा ९८ जना कारबाहीमा परेका छन्। गएको २६ असोजदेखि शुरू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको सचेतना कक्षामा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेका लागि दैनिक तीन सेसन र लेन मिच्नेका लागि दैनिक पाँच सेसन चल्छ।
मापसे भन्दा लेन मिचेर कारबाहीमा पर्नेको संख्या बढ्न थालेको छ, बग्गीखानामा। लेन मिचेर सचेतना कक्षामा सहभागी भएका ७७० महिला सहित २३ हजार १४६ चालकले रु.४६ लाख जरिवाना तिरेका छन्।
महानगरीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नारायण खड्काका अनुसार अहिले राजधानीका चाबहिल, गौशाला, बानेश्वर, माइतीघर, थापाथली, टेकु, कलंकी, बालाजु, महाराजगंज, पुतलीसडक, रत्नपार्क, सिंहदरबार, सुन्धारा लगायतका स्थानमा दुई सयभन्दा बढी सीसीटीभी जडान गरिएका छन्, जसबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीले निरन्तर निगरानी गरिरहेको हुन्छ।
यस्तै, २६ वटा सीसीटीभीका दृश्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको बग्गीखानास्थित कार्यालयले निगरानी गरिरहेको हुन्छ। सीसीटीभीबाट ट्राफिक नियम उल्लंघन गरेको र दुर्घटनामा कसको गल्ती थियो भनेर पत्ता लगाउन मात्र होइन, अपराध गरेर भागेकाहरू चिन्न समेत सजिलो भएको एसएसपी खड्का बताउँछन्।
“सीसीटीभी निगरानी शुरू भएपछि रोक्न संकेत गर्दा भाग्ने, गलत दिशाबाट ओभरटेक गर्ने, गलत साइडबाट सवारी चलाउने, एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने, बढी स्पीडमा हाँक्ने, हेल्मेट नलगाउने, सवारीको स्वरुप परिवर्तन गर्ने, दुर्घटना गराएर भाग्ने आदिलाई नियन्त्रणमा लिन सजिलो भएको छ”, एसएसपी खड्का भन्छन्।
महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानेन्द्र पाखि्रन चालकहरूले लेन अनुशासन पालना गर्दा मात्र पनि जाम व्यवस्थापनसँगै अकाल मृत्यु र अंगभंगको कारक दुर्घटना न्यूनीकरण सहज हुने बताउँछन्। नागरिक समाज, विभिन्न पेशा–व्यवसायी र स्वयं कारबाहीमा परेकाहरूले समेत सीसीटीभी निगरानीको प्रशंसा गरेको उनले बताए।
सडक सुरक्षाको विषयमा दबाबमूलक कार्यक्रम गर्दै आएको नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराई ट्राफिक प्रहरीको मापसे अभियानपछिको यो अर्को सकारात्मक कदमले सडक व्यवस्थापनसँगै दुर्घटना कम हुने विश्वास व्यक्त गरे।
“सीसीटीभी निगरानीसँगै ट्राफिक ऐन–कानून परिवर्तन र सडक सुधार गर्नुपर्छ”, भट्टराई भन्छन्, “ठेलागाडा, साइकल, पैदल यात्रु आदिका लागि छुट्टै लेन हुनुपर्छ।”
मापसे नियन्त्रण अभियान जस्तै सीसीटीभी निगरानी पनि आलोचनामुक्त भने छैन। २७ माघको दिउँसो एक बजे थानकोट जाने क्रममा टेकुमा कारबाहीमा परेका मनोज महर्जन (३६) एक घण्टाको सचेतना कक्षा लिन जाँदा प्रहरीले पाँच घण्टाभन्दा बढी समय लगाइदिएको बताउँछन्।
सचेतना कक्षा आफैंमा राम्रो भए पनि ट्राफिक प्रहरीले अपराधीलाई जस्तो व्यवहार गरेको रेस्टुरेन्ट व्यवसायी मनोजको गुनासो छ। १ फागुनमा ठमेलमा लेन अनुशासनको कारबाहीमा परेका सामाखुशीका विकास थपलिया (२७) ले भने सडकमा लेन छुट्याउने सेतो धर्सा नदेखिंदा आफू फँसेको बताए। “अहिले गएर हेर्नुस्, ठमेलको त्रिदेवी मार्गमा सेतो धर्सा छैन”, विकास भन्छन्, “ट्राफिक प्रहरीको व्यवहार पनि राम्रो छैन।”
महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता पाखि्रन भने सीसीटीभीको भिडियोले कारबाहीमा कम विवाद हुने गरेको र भनसुन पनि घटाएको बताउँछन्।
ट्राफिक इन्टेलिजेन्टको तयारी
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन इन्टेलिजेन्ट ट्राफिक सिस्टम (आईटीएस)ल्याउने तयारी गरेको छ। आईटीएसलाई डिजिटल ट्राफिक व्यवस्थापन प्रणाली पनि भनिन्छ।
यो प्रणाली शुरु भएपछि सडकमा कसैले ट्राफिक नियम उल्लंघन गर्दा त्यसको सन्देश सीधै कन्ट्रोल रुममा पुग्छ। त्यति मात्रै होइन सडक बत्तीहरू पनि कन्ट्रोल रुमबाटै नियन्त्रण गर्न सकिन्छ। शुरुमा लाजिम्पाट–त्रिपुरेश्वर, दरबारमार्ग–भद्रकाली र जयनेपाल हल–थापाथली सडक खण्डमा आईटीएस लागू गरिने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता ज्ञानेन्द्र पाखि्रनले जानकारी दिएका छन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
