ब्लगशनिबार, फाल्गुण १६, २०७१

पहिचान!

महेश थापा

6ePrSYgपराया भूमिमा नूर गिराएर बस्नु भन्दा आफ्नै देशमा स्वदेशी पहिचानका साथ जिन्दगी बाँच्ने लालसामाथि नवीनतातर्फ फड्को हान्न नेपालै ठम्ठमिएको खबरले मनलाई त्यसैत्यसै चचहै बनाइरहेको थियो। उनी सटक्क पिलेनमा पसे।

“कति वर्षमा फिर्दैछौ?” छेउको सीटका बुज्रुकले गफिने मेसो गरे।

“पन्ध्र वर्ष!” उनले संक्षिप्त जवाफ फर्काए।

“पुरानो नेपालकै रहेछौ!” ओंठ लेप्य्राउँदै बुज्रुकले थपे, “नयाँ नेपालाँ परिचय दिंदा अलिक होस् गर्नु, नत्र शुद्धतावादीहरूले बिताउलान्!”

मान्छेको पहिचानमा अनेकन् परत हुन्छन्। निबन्धकार शंकर लामिछानेले झैं ‘अब्स्ट्रयाक्ट चिन्तन’ गर्न सक्दा खुल्ने पहिचानका पत्रहरूमा व्यक्ति स्वयं अलपत्र पर्ने जोखिम रहन्छ।

यो बेग्लै कुरा हो कि, भूतकालीन नेपालाँ प्याजले गर्जो टरे पनि वर्तमान काललाई थेग्न बन्दाकोभीका पत्रहरूलाई पनि हम्मे पर्ला। सय वर्षपछिका नेपालीले अफ्रिकाको जंगलबाट मध्यपूर्वतिर बसाइँ सर्दै गरेका ‘होमो सेपियन्स्’ झैं नवीन यात्रा थालेको भूतोन्मुख ‘अग्रगमन’ को सम्भावित परिदृश्य सम्झेको’भे लामिछाने बाजेले आफूलाई ‘भविष्यको मान्छे’ दाबी गर्दैनथे होलान्।

लामिछानेले मान्छेका रंगहरूलाई प्याजसँग तुलना गरे झैं उनी आफैं पनि बहुपरिचयले झ्किझ्काउ थिए। उनी अर्थात् अरब ‘रिटर्न’ हुँदै गरेका प्रतिनिधि नेपाली पहाडे बाहुन पिता र नेवार समुदायकी आमाको प्यारो सन्तान, मधेशी मूलकी मायालु श्रीमतीको खसम अनि जनजाति समुदायका मीताको विश्वासिलो साथी।

मान्छेको कर्म–मर्मभन्दा नश्ल–धर्मका आधारमा पहिचान खोज्ने थिति बसेको खबरले आफ्नो छ्यासमिसे पहिचान ‘भीरमा फलेको चिण्डो’ हुने हो कि भन्ने सूर्तामा थिए, उनी।

“कसैले परिचय मागेमा नेपाली हूँ भन्दिन्छु”, गाउँ पुगेपछि आफ्ना गुरुवरका अगाडि मनपेट खोले उनले।

“नयाँ नेपालाँ अर्थोक जेसुकै भन, तर झुक्केर’नि आफ्नो परिचयमा नेपाली नजोड! केही नफुरे बरु आकाशबाट भर्खरै खसेको एलियन हूँ भन्देऊ!” गुरुवरले भटाभट आइडिया दिए, “कसैले ‘म त नेपाली’ भन्दै गीत गुन्गुनाउँदाधरि पेटमा गुड्गुड् हुनेहरू आजकल छ्यास्छ्यास्ती भएका छन्!”

पहिचानको माखेसाङ्लोबाट पार पाउने जुक्ति फुराउन दोबाटो छेउको चौतारोमा पुगेका उनले हठात् आफ्नो नाम बताउँदै एक जना भद्र सामु मित्रताको हात बढाए।

“खाँटी परिचय बताऊ!”

अनपेक्षित अपेक्षाले उनलाई अक्क न बक्क पार्‍यो।

“तीन/तेह्र!” त्यही बेला आइपुगेका अर्का बटुवा हठात् चिच्याए। हेर्दाहेर्दै कुम्भ मेलामा छुट्टिएका दुई दोस्त अनायासै भेटिएको भन्दा चर्को गरी दुईजना भलाकुसारीमा लीन भए। ए रात्तै!

मित्रता पनि तीन वा तेह्र दिने कुटुम्बबीच मात्र हुने कस्तो चलन आएछ भन्दै उनी जिल्लिए। उत्ति नै बेला ‘पाँच/पच्चीस’ भन्दै एक हूल महिला बाल सखीझ्ैं गफमा बाँधिए। हैन, यो के घनचक्कर हो? उनलाई हल्का रिंगटा चल्यो। थेग्नै गाह्रो हुन थाले’सि उनले नजिकै उभिएका फुकी ढललाई कानेखुसी तालमा सोधे, “हैन, यो परिचयको पहेली क्या हो?”

“सम्बन्धित व्यक्तिहरूको लोडसेडिङ समूह र ग्यास सिलिन्डर पाउने मितिको कुरा हो, बत्तीस लक्षण मिले पनि यी दुई कुराले गच्ची खाँदा मित्रता भन्ने कुरा न अर्थपूर्ण हुन्छ न त टिकाउ”, फुकी ढलले मरियल स्वरमा भने, “इन्टरनेटाँ च्याट गर्न, मोबाइलमा गफिन मात्र नाई, तम्बु गाडेर ग्यासको लाइन लाग्न पनि एउटै समूहको नभई काम नदिने हुँदा फरक समूहको मित्रु र पत्रुबीच खासा भेद रहन्न!”

छ्याङ्ग भएका उनी चिच्याए, “चार चौबीस!”

नभन्दै, केही मानिस उनी भएतिर हात बढाउँदै आए। लामो समयदेखिको उनको उल्झ्न दूर भयो। पहिचानको प्रतापले ‘अर्थपूर्ण’ मित्र फेला परेकोमा गद्गदिंदै उनले सोचे– हाम्रा नेताहरू प्रदेश नामकरणको वृथा विषयमा खोंचे थापेर गलफत्ती गरिरहेका रहेछन्। बिजुली, पानी आदि पाइने समूह अनि ग्यास, पेट्रोल, मट्टीतेल, चामल, नून जस्ता अत्यावश्यकीय बस्तु उपलब्ध हुने तिथि/मिति र बारका आधारमा नेपालीको सामुदायिक पहिचान निर्माण भइरहेको बेला संघीय प्रदेशहरूको न्वारान पनि यसै अनुसार गरिदिए लफडै साफ!

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...