ब्लगशनिबार, फाल्गुण १६, २०७१

मजलिसको आँखा–९ (श्रीदरबार)

कमल दीक्षित

 मदन पुरस्कार गुठीको 'दानपत्र' मा हस्ताक्षर गर्दै रानी जगदम्बा। चित्रः कलाकार प्राज्ञ अमर चित्रकार।


मदन पुरस्कार गुठीको ‘दानपत्र’ मा हस्ताक्षर गर्दै रानी जगदम्बा। चित्रः कलाकार प्राज्ञ अमर चित्रकार।

श्रीमहल र श्रीदरबारमध्ये एउटाको त अस्तित्व नै छैन, पातालसम्म भत्काएर बेचिसकियो।

यसअघिको मजलिसको आँखा–८ मा भनिएको थियो श्रीमहल अथवा श्रीदरबार नामको भवन वास्तवमा एक होइन दुई थिए। तर ती दुई कहिले एकापसमा जोडिने र कहिले छुट्टिने गरिरहे।

र अब त दुईमध्ये एउटाको अस्तित्व नै छैन, पातालसम्म भत्काएर बेचिसकियो। नेपाली इतिहासका केही महत्वपूर्ण पाता त्यसै भवनसँग पाताल पुगे!

यो दुःखलाग्दो किस्सा ‘सम्पदा हराएर!’ भनेर २०५२ सालमै ‘भवदीय फलानो’ भन्ने कितापमा लेखिसकिएको छ। त्यसैले ऐले त्यो पुनरावृत्ति गर्नु आवश्यक छैन। कसैलाई इच्छा भए www.kamalixit.com मा पसेर पढे हुन्छ।

तर यत्ति भनूँ, १९७६–७८ सालमा महाराज चन्द्रशमशेरले सात लाख पचास हजार ८५२ रुपियाँ लगाएर निर्माण गराएको कान्छा छोरा मदनशमशेरको त्यो भव्य घर (हे.फोटो) २०४४ सालमा पूरै भत्काएर, सुनिए अनुसार; करीब त्यति नै जति रुपियाँमा, ईंट, काठपात फलामका भाउमा बेचे रे मदनशमशेरका छोराहरूले।

त्यो पाताल भएको जग्गा पछि २०५० सालतिर मदनशमशेरका नाति, यजराजशमशेरका छोराहरूले धेरै जनालाई बेचे। रातो बङ्गला स्कूलले पनि त्यसमध्येबाट अघिल्तिरको अलिकति जग्गा किनेर एउटा भवन खडा गरेको छ।

श्रीदरबार पूर्व मोहडा।

श्रीदरबार पूर्व मोहडा।

पहिले महारानी बालकुमारीदेवीका लागि भनी निर्मित यो श्रीदरबार पछि उनका कान्छा छोरा मदनशमशेरको हुनपुगेको हो भनेर अघिल्लो प्रकरणमा भनिसकिएको छ।

२०१० सालमा मदनशमशेरको काशीमा स्वर्गवास भएपछि यो भवन र श्रीमहल तथा हरिहरभवनको बीचमा रहेको मदनशमशेरको अंशमा परेको ‘बीचटङ्गीन’ भनिने जग्गा पनि रानी जगदम्बाको स्वामित्वमा आयो।

त्यसपछि २०१४ सालमा उहाँ आफैंले विष्णुशमशेरको अंशको श्रीमहलको पश्चिम भाग समेत खरीद गरेपछि त पाटनढोकादेखि हरिहरभवनसम्मको पाँचसय चानचुन रोपनी घरजग्गाको एकलौटी मालिक्नी हुनुभयो रानी जगदम्बा।

भन्नु नपर्ला रानी जगदम्बा धार्मिक स्वभावकी, परोपकारी दानशील महिला हुनुहुन्थ्यो। त्यसमा थप उहाँलाई त्यस्ता लोकोपकारी कार्यमा बढी उक्साउने काम मेरा बाआमा, केदारमणि र विद्यादेवी दीक्षितबाट भयो।
अनि रानी जगदम्बाले बिस्तारैबिस्तारै आफ्नो स्वामित्वमा आएका अधिकांश घरजग्गा ‘दान’ गर्न थाल्नुभयो।

सबभन्दा पहिले उहाँले आफ्नो दरबारमा काम गर्ने घरबास नहुने निम्नवर्गका कामदार कर्मचारीहरूलाई घरजग्गा बाँड्न थाल्नुभयो श्रीदरबार परिसरभित्रै।

यसरी उहाँका डोले, ढोके, गोठाला, धोबी, कारिन्दा, सिपाही आठपहरियाहरू दुई तीन चार रोपनीसम्म जग्गा र तिनमा निर्मित घरटहराका मालिक भए श्रीदरबारभित्रै।

यसरी मदनशमशेरको श्रीदरबार नै ‘श्रीदरबारटोल’ मा परिणत भयो। त्यति मात्र पनि होइन, श्री ५ को सरकार हुलाक विभागलाई श्रीदरबारको पूर्वपट्टि रहेको मूलढोकासँग जोडिएको एउटा सानो घर उपलब्ध गराएर त्यहाँ ‘श्रीदरबारटोल हुलाक’ खोलियो। पछि रहँदाबस्दा त्यो सानो हुलाक ललितपुर जिल्ला हुलाक नै भैदियो!

रानी जगदम्बाबाट श्री ५ को सरकारले पनि उपहार पायो। ‘घरदान’ को औपचारिक ‘कागजपत्र’ ग्रहण गरे प्रधानमन्त्री स्वयंले श्रीदरबारमा आएर। त्यो कुरा अघिल्लो प्रकरणमा बयान भैसकेको छ।

साझा सहकारी आन्दोलन पनि उपकृत भएको छ रानी जगदम्बाको उपदानबाट। साझा केन्द्रले ५० रोपनी जग्गा पायो ‘बीचटङ्गीन’ मा उहाँबाट।

रातो बंगला स्कूलको नयाँ भवन।

रातो बंगला स्कूलको नयाँ भवन।

साझा यातायातले छुट्टै जग्गा भेट्टायो कम्पाउण्डभित्रै गोठ तबेला सहित २३ रोपनी।

त्यो नामसारीको ‘बकसपत्र’ को कागजमा ‘पाउने’ साझा यातायातका तर्फबाट सहीछाप गरेका थिए तत्कालीन वागमती अञ्चलाधीश रामबहादुर रावलले।

हाम्रो परिवारलाई पनि रानीसाहेबले श्रीदरबारभित्र घरजग्गा रजिष्ट्रसन पास गरी दिनुभएको छ। मेरा पिताजीलाई १५/१६ रोपनी र मलाई ५ रोपनी।

मैले पाएको त्यो घरजग्गा पछि आधा आधा गरेर मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसलाई लिखत पास गरेर उपहार दिएँ।

धेरै साहित्यिक कवि–लेखकलाई रानीसाहेबले जग्गा बाँड्नुभयो उहाँको त्यो ५०० रोपनीमध्येबाट। सूर्यविक्रम ज्ञवाली, उत्तम कुँवर, वासुदेव लुइँटेल ‘भूतको भिनाजु’ ले पनि जग्गा पाएका थिए, ब्रह्मशमशेरले पनि।

जग्गा रजिष्ट्रेसनपछि ज्ञवालीजीले मलाई लेखेको म टड्कारो रूपमा सम्झन्छु। “कमलमणिजी, म जस्तो यायावरलाई घरजग्गावाला बनाइबक्सेकोमा रानीसाहेबलाई मेरो अभिवादन पुरुर्यायइदिनुहोला।”

काठमाण्डू उपत्यकाको गुमेका दृश्यसम्पदाको वर्णन गर्न बसेको यस स्तम्भमा कुनै एक जनाको बखान हुनुहुन्नथ्यो।

तर श्रीमहल र श्रीदरबारको कुरा आएपछि त्यसको स्वामित्वको प्रसङ्ग लेख्नै परुर्योन र यति लामो गन्थन गरियो। अब भवनमै केन्द्रित हूँ एकै छिन।

यो श्रीदरबारको डिजाइन पनि किशोरनरसिंह र कुमारनरसिंह राणाले नै गरेका हुन् भनिसकियो। अझ् भनिन्छ हरिहरभवन र श्रीमहलका मूल बैठकहरू डिजाइन गर्दा भएका गल्तीलाई उनीहरूले श्रीदरबार बनाउँदा सच्याएका थिए रे!

र यी तीनमध्ये श्रीदरबारको उत्कृष्ट ठहरिएको थियो रे महाराजका नजरमा र यसमा नरसिंह दाजुभाइले महाराजबाट खिल्लत पनि पाएका थिए रे!

त्यही ऐतिहासिक बैठक हो जहाँ पण्डितराज सोमनाथहरूको संयुक्त वेदपाठबीच २०१२ साल मंसीर २८ गते मदन पुरस्कार गुठीको ‘दानपत्र’ मा रानी जगदम्बाको हस्ताक्षर परी ल्याप्चे लागेको थियो।

अनि त्यही ठूलो बैठक हो जहाँ २०१७ साल मंसीर २४ गते रानी जगदम्बाको हातबाट ‘श्रीमहलदान’ को कागजपत्र प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले ‘हात थापेर’ लिएका थिए। दुर्भाग्य हो, त्यस्तो इतिहास ध्वस्त पारियो!

माथि यो दरबार बनाउन १९७७ सालतिर साढे सात लाख रुपियाँ लागेको थियो भनेर हचुवा रूपमा भनिएको थियो। त्यसको कच्चेबारी पनि पाइएको छ।

मनोरञ्जनार्थ नै भए पनि एक पटक त्यो अपत्यारिलो फाँटबारी अलिकति हेरौं। सिकर्मी, डकर्मी इत्यादि कालिगडहरूलाई मासिक रूपमा तलब नै भनेर ज्याला दिइएको देखिन्छ, सिकर्मीको ५० पैसा र डकर्मीको ४६ पैसा दैनिक।

ज्यामी काम गर्ने (कैदीनी) हरूलाई त अझ् दिनको १० पैसा मात्र!!

यस स्तम्भको नाम दरबार हाईस्कुलको दक्षिणपट्टि रहेको मजलिसघर बाट लिइएको छ । यसमा आउने तस्वीरहरु मपुपु–का हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...