रमझमआइतबार, फाल्गुण १७, २०७१
सरकार सारंगी सुन्दैन
सारंगीको धुनमा नेपाली परम्परा देख्ने सरकार सारंगीवादकको संरक्षणमा भने उदासीन देखिन्छ ।
दुई वर्षअघि जन्मथलो, भोजपुर पुग्दा वर्त गन्धर्व (२७) भावुक बनिन् । त्यहाँका रुखबिरुवा, खोलानाला, बाटाघाटा, पहाड–हिमाल आदिले उनलाई विगत सम्झाए । त्योभन्दा बढी उनलाई सुत्केरी आमासँगै सारंगी रेट्दै माना–चामल बटुलेको याद आयो ।
“गरीबी र बाध्यताले मान्छेलाई पौरखी बनाउँदोरहेछ”, उनी भन्छिन्, “त्यतिबेला सारंगी बजाउनु मेरो बाध्यता थियो, बजाएँ । त्यसैले यहाँसम्म आइपुगें ।”
सानो डाल र होचो कदकी वर्त मसिनो स्वरले बोल्छिन् । तर, उनको वादन र गायकी हृदय थर्काउने खालको छ । उनी प्रायः पीडाका गीत गाउँछिन् । “जीवन नै त्यस्तै भएर होला, भावुक गीत गाउँदा नै आनन्द महसूस हुन्छ”, उनी भन्छिन् ।
सात वर्षदेखि सारंगीवादन र स्वरको कक्षा लिंदै आएकी वर्तले योबीचमा फर्पिङको आर्यतारा विद्यालयदेखि नर्वेको एड्जर युनिभर्सिटी क्रिस्टिएनसाण्डका विद्यार्थीलाई समेत सारंगी सिकाइन् ।
‘श्रीतारा’ ब्यान्डकी सदस्य समेत रहेकी वर्त यतिबेला नर्वेमा छँदा तयार पारेका गीतको अल्बम निकाल्ने तयारीमा छिन् । नेपाल संगीत विद्यालयमा साताको दुई दिन प्रशिक्षण पनि दिन्छिन् ।
समय बदलिए पनि सारंगी रेटेरै जीवन चलाउन हिजो जस्तै आज पनि गाह्रै भएको वर्तको तर्क छ । जस्तो कि, सात वर्षदेखि उनी कार्यरत आर्यतारा विद्यालयले यसै महीनाबाट सारंगीवादन कक्षा बन्द गर्यो ।
अहिले पनि अरू विद्यालय चहार्दैछिन् । “तर, जहाँ पनि ‘गिटार बजाउन आउँछ ? किबोर्ड खेलाउन जानेको छ ?’ भन्दै सोध्छन् ।
सारंगी र स्वर भएर मात्रै नपुग्ने रहेछ”, उनी भन्छिन् । फ्युजन धुनका लागि मात्रै सारंगी प्रयोग गरिन थालेका कारण पनि आफू जस्ता कलाकारको महत्व घटेको उनको ठम्याइ छ ।
यस्तो स्थितिमा सारंगीवादनमा महिला कलाकार तयार गर्नु असम्भव जस्तै भएको उनको निष्कर्ष छ । “भविष्य नदेखेरै होला राम्रो गरिरहेका विद्यार्थी बीचमै छोड्छन्, नरमाइलो लाग्छ ।”
छात्रवृत्ति पाए स्वरमा स्नातकोत्तर सिध्याउने वर्तको रहर छ । कहिलेकाहीं त आफ्नै रहरप्रति पनि हाँसो लाग्छ रे उनलाई । सारंगीकै लय समातेर उनी भन्छिन्, “कर्म गरेर त केही भएको छैन, रहर गरेर के हुन्छ यहाँ ?”
सजना बराल