थप समाचारसोमबार, फाल्गुण १८, २०७१
भीख मागेर औषधि खान्छन्, जिउँदा शहीद
२०४६ सालको आन्दोलनमा खुट्टामा तीन वटा गोली लागेका तारा खड्का (४५) प्रजातन्त्र पुनःस्थापनापछि ठूलो संकटमा परे । उनी अहिले भीख मागेर हिंडिरहेका छन् ।
औषधिको लागि पैसा जुटाउन उनी शहर–शहरमा भौंतारिरहेका छन् । जिउँदा शहीदको नामले चिनिने खड्का २०६२/६३ को जनआन्दोलनमा पनि सहभागी थिए । उनले जीविका भने मागेर गर्नु परेको छ, वर्षौंदेखि । बुटवलबाट पुसको जाडोमा बेंसीशहर आइपुगेका खड्काले भने, “दुई–चार रुपैयाँका लागि हात थापेर गुजारा गर्दैछु ।”
काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा पढिरहेका खड्कालाई प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४६ चैत २४ गते नारायणहिटी दरबार अगाडि राजा महेन्द्रको सालिक तोड्न खोज्दा प्रहरीको गोली लागेको थियो । सालिकमाथि चढेका ९ जनामध्ये खड्का मात्र जीवित रहे ।
प्रहरीले उनलाई घाइते अवस्थामा पनि हनुमानढोका लगेर यातना दिएको थियो । त्यसक्रममा उनको घाउमा नून–खुर्सानी हालिएको थियो । “मेरो जिब्रो पनि काटिदिए, बिजुलीको हीटरमा पिसाब फेर्न लगाउने, मुखभित्र तार छिराएर करेन्ट लगाउने जस्ता यातना दिए”, उनी भन्छन्, “दुई दिनपछि विष्णुमतीको पुलमुनि फ्याँकिदिएछन् ।”
जिब्रोमा प्लाष्टिक सर्जरी गरेर बोल्न सक्ने बनाइए पनि उनी खानाको स्वाद पाउँदैनन् । उनी कृत्रिम खुट्टाको सहारामा छन् । हड्डी झिकिएको दायाँ हात देखावटी मात्रै छ ।
२०४५ सालको भूकम्पमा श्रीमती कल्पना केसीलाई गुमाएका खड्का जनआन्दोलनमा घाइते भएर उपचारपछि घर फर्कंदा छोरा पनि बेपत्ता भएको बताउँछन् । “हामी जस्ता जनआन्दोलनका घाइतेलाई हेर्न छाड्ने नेताहरू आफू भने नेपालमै ठीक हुने रोगको उपचारमा पनि विदेश नै गइरहेका छन् ।”
साप्ताहिक खबरपत्रिका हिमालबाट