ब्लगमंगलबार, फाल्गुण १९, २०७१
उन्नतिको सुमार्ग!
सुर्ताएका पिताको घैंटामा अन्ततः झलल घाम लाग्यो– पुत्र कुमार्गी नभई सुमार्गी नै रहेछ, देखाउनेभो दुनियाँलाई यसले!
मोबाइल एसएमएसमा १२ कक्षाको परीक्षाफल आउँदा भोलारामलाई छाँगाबाट खसे झैं लाग्यो। छोरोले विशिष्ट श्रेणी नल्याएकोमा पिताजी खिन्न थिए भने द्वितीयश्रेणी सुमर्नु पर्दा भोलाराम छक्कराम देखिन्थ्यो। उसलाई यो सेकेन्ड डिभिजन कहाँबाट आइलाग्यो भन्ने भइरहेको थियो। ऊ १३ कक्षा पढ्ने कचकचसँगै १४ थरीका झयाउलो बेसाउने पक्षमा थिएन पनि।
ऊ सोच्थ्यो– एकबारको जुनीलाई पढेर किन खुइल्याउने? पढेर हुन्छ के? नोकरीको चक्करमा चाकरी, तावेदारी अनि लाचारीको जिन्दगी किन काट्ने? उसले जीवनभर चक घोटेर डस्टरी नगर्ने भीष्मप्रतिज्ञा उहिल्यै गरिसकेको थियो।
डस्टरीले जेनतेन भोक भगाए पनि भान्सा चलाएर ज्युनार गराउन नसक्नेमा ऊ विश्वस्त थियो। डाक्टरी गरम् भने प्रवेश परीक्षामा प्रश्नपत्रको सेटिङ्ग मिलाउनै गाह्रो, मिलिहाले भर्ना शुल्कको साँवाब्याज चुक्ता गर्दागर्दै मर्त्यलोकको भिसा सकिने भएकाले उसले त्यो सम्भावनालाई पनि हापिदिएको थियो, उहिल्यै।
छोराको मनसुवा बुझेपछि पिताजी फत्फताए, “कस्तो कुमार्गी जन्मिएछ, धिक्कार!”
“ए बाऊ, उल्टी खोपडी बोकेर नयाँ नेपालाँ काम छैन”, भोलारामले बुझाउन चाह्यो, “कुमार्ग त त्यो हो, जहाँ तिमी मलाई धकेल्न खोज्दैछौ।”
“यो पनि छैन, ऊ पनि होइन”, बाउ झर्किए, “अनि के चाहिं गर्छस् त लठिभुत्रे!”
“मनी प्लान्ट रोप्छु”, भोलारामले दृढतापूर्वक भन्यो।
“वागवानी नराम्रो होइन”, पिताजी केही संयमित भए, “तर, सौ/पचासका बिरुवा बेचेर कति पो कमाउलास् र!”
“पुरानो नेपालवासीहरूको समस्यै यही हो”, भोलारामले थाप्लोमा हात राख्यो, “बिरुवा उमार्ने नभई ‘मनी’ फल्ने ‘प्लान्ट’ रोप्छु भनेको!”
“टक्सार विभाग खोल्ने?”, पिताजीको भृकुटी तन्कियो।
भोलाराम बाउले सोचेजति ‘भोला’ थिएन, ‘जे होला, होला’ भन्दै आफ्नो भविष्यलाई च्याँखेमा थापेको पनि थिएन। आफ्नो आदर्श व्यक्तित्वको उपलब्धिका ग्राफमाथि लामो तहकीकात र नापजोख गरेर मात्र ऊ खालमा बसेर दाउ हान्न तम्सिएको थियो। ऊसँग विस्तृत कार्ययोजना थियो, तर बाउको पुरानो भेजामा नघुस्ला भनी किस्ताबन्दीमा बताउँदै जाने निधो गरेको थियो।
“टक्सारै त नभनी हालम्, पान दोकानबाट श्रीगणेश गर्छु!”
पुत्र टक्सारबाट एक्कासी मीठा/जर्दामा ओर्लिएको देख्दा पिताजी तत्काल बिच्किए, “अनि रोकडा कमाउन मान्छेलाई चुना दल्छस्?”
“चुना लगाउने कलाका महारथीहरूलाई कत्था दल्छु र चमत्कारी साहूजीको सञ्चिति भण्डारमा हरिया–हरिया पत्ता टिपेर बबालको व्यापार थाल्छु।”
“तेरा साहूकोमा लक्कु उमि्रने बगैंचा छ?”
“लीलाधरहरूले लीला रच्छन्, चटक देखाउँछन्, आर्थिक क्रान्ति पनि गरिहाल्छन्!” भोलारामले साउती गरेझैं गर्यो, “भित्ताको पनि कान हुन्छ, बाऊ! उसै त ज्यान धरापमा परेका साहूजीको ‘ओपन सेक्रेट’ छारष्ट पार्देर थप खतरा नउब्जाम् होला!”
“अनि धन्दा चाहिं गर्छस्, के?” बाउलाई हतार थियो, “मलाई त्यो बता।” “नवीन प्रकृतिको धन्दा हो। यसलाई बगाऊ, थेग्य्राऊ र लुँड्याऊ भन्न सकिन्छ!” भोलाराम भन्न थाल्यो, “एउटा अदृश्य प्रकृतिको खोलो खनेर गाडधन यताबाट बगाइन्छ, समुन्द्रबीचको कुनै टापूमा त्यो थिग्रिन्छ, अनि एक चक्कर मारेर यहाँ आइपुगे’सि चोला फेरेको कट्कटिया नोट टिपिन्छ।”
“अनि नाफा चाहिं कहाँबाट उब्जिन्छ?”
“आफूले बगाएको मूलधनले संसार सयर गरेपछि वैदेशिक ऋणको रूपमा जुनी फेरेर आउँछ। अनि साँवा, ब्याज र कुस्त नाफा बोकी उक्त ऋण रकम पुनः सयरमा निस्कन्छ र फेरि तीर्थाटनका लागि स्वदेश भित्रिन्छ। ‘डाइनामो’ घुमाउँदा बिजुली निस्किए जस्तो पैसोलाई जति धेरै देश–विदेशको चक्कर ख्वायो, ठिटोले उति धेरै नाफा कुम्ल्यायो!”
“त्यसो गर्दा राष्ट्र ब्यांकले ६ थान प्रश्न सोध्न बेर लाउन्न
बेबकुफ!” पिताजीले आशंका पोखे।
“दर्जन प्रश्न सोधे’नि बालै भएन!” भोलाराम आत्मविश्वासी देखियो।
“जवाफ चाहिं के दिन्छस्?”
“भरसक थुरेरै निप्टाउँछु, नत्र बिटोले हान्छु, पैसोले पुर्छु”, भोलाराममा आत्मविश्वासको कौनो कमी थिएन, “त्यति गर्दा’नि काम पटेन भने अर्को गभर्नर नआउन्जेल कुर्छु!”
“कुमार्गी हुन लागिस् कि भनी सुर्ताएको थिएँ, सुमार्गी नै
रहेछस्!” ढुक्क पिताले फ्याट्ट भने, “शुभाशीर्वाद!”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
