थप समाचारमंगलबार, फाल्गुण १९, २०७१
‘मन्त्रीज्यू, त्यो झण्डामा कस्को छायाँ देख्नुहुन्छ ?’
‘‘काठमाडौंमा दुई किशोरीमाथि भएको एसिड आक्रमणले नेपाली समाजमा महिलाको अवस्थाबारे प्रश्न उठ्दै गर्दा हामी अन्तर्राष्ट्रिय महिला दिवस मनाउदै छौं’’, एमालेकी नेतृ रामकुमारी झाँक्रीले भनिन्, ‘‘नारी मुक्तिको बाटो चौडा भएको छ, हिड्न अझैं सजिलो छैन ।’’
१०५ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा साहना प्रधान स्मृति प्रष्ठिानको ब्यानरमा काठमाडौंमा आयोजित कार्यक्रममा झाँक्रीले साहना प्रधानलाई सम्झदै भनिन्, ‘‘नारी स्वतन्त्रताको हरेक घटनाले उहाँको सम्झना दिलाउँछ । त्यसैले हामी उहाँलाई ‘आमा’ भन्छौं ।’’
साहना प्रधान नेपाली बाम–लोकतान्त्रिक आन्दोलन र नारी मुक्तिको सशक्त हस्ताक्षर भएकाले हरेक बर्षको नारी दिवसमा प्रधानको चर्चा गर्ने गरिएको झाँक्रीले बताइन् । प्रतिष्ठानकी अध्यक्ष रहेकी उनले भनिन्, ‘‘नेपालमा महिला स्वतन्त्रताको बाटो उहाँले नै खन्नु भएको हो । उहाँलाई बिर्षेर नारी मुक्तिको चर्चा अधुरो हुन्छ ।’’
झाँक्रीले यसअघि प्रधानकै घरमा यो दिवस मनाइएको सम्झदै उनले भनिन्, ‘‘यो बर्ष उहाँ हुनुहुन्न । त्यसैले उहाँको तस्वीर राखेर चर्चा गर्दैछौं ।’’ नेपालको राजनीतिक, सामाजिक, आर्थिकलगायत क्षेत्रमा सुनिश्चित हुँदै गएको महिला अवस्थालाई प्रधानकै योगदान मान्न सकिने झाँक्रीले बताइन् ।
‘‘महिला शिक्षा, स्वास्थ्य, राजनीति, सहभागिता र स्वतन्त्रताको संवैधानिक व्यवस्था आज जुन अवस्थामा पुगेको छ । त्यहाँ प्रधानकै छायाँ देखिन्छ ।’’, झाँक्रीले भनिन् ।
जनआन्दोलनको पृष्ठभूमीबाट राजनीतिमा उदाएकी कडा स्वभाविक नेतृ झाँक्रीले गम्भीर हुँदै अतिथी ड्यासमा बसेकी उर्जा मन्त्री राधा ज्ञवाली र पूर्वमन्त्री सत्या पहाडीलाई प्रश्न गरिन्, ‘‘मन्त्रीज्यू, तपाईले चढ्ने गाडीको झण्डामा कस्को छायाँ देख्नुहुन्छ ?’’ केही समयको मौनता तोड्दै उनैले भनिन्, ‘‘नारी सफलताका हरेक घटनामा म उहाँकै छायाँ देख्छु ।’’
कार्यक्रममा अन्य बक्ताहरुले पनि प्रधानको योगदानबारे चर्चा गरेका थिए ।
साहना प्रधानबारे थप सामाग्री, (हिमाल खबरपत्रिकाको १२–२५, असोज अंकबाट)
एउटा युगको अन्त्य
बर्माबाट २००१ सालमा परिवारसँगै स्वदेश फर्किएपछि साहना प्रधान दिदी साधनासँगै महिलालाई जागरुक बनाउने र अधिकार दिलाउने अभियानमा लागिन्। निरङ्कुश जहानियाँ राणाशासन रहेको त्यो बेला व्यवस्था विरुद्धको आन्दोलन पनि हुँदैथियो।
त्यस्तो बेला, राणा प्रधानमन्त्री पद्म शमशेरलाई मागपत्र बुझाउन अरूसँगै साहना पनि दरबार पुगिन्। त्यसपछिको सडक आन्दोलनमा उत्रिंदा साहना गिरफ्तारीमा पनि परिन्।झ्ण्डै आधा शताब्दी सँगै राजनीति गरेका एमाले नेता भरतमोहन अधिकारीका अनुसार, साहनालाई राणाशासनको बन्दीगृहले गलाउनुको साटो अरू बलियो बनायो। उनी पछि पनि साहनामा सत्यको पक्षमा निरन्तर लागिरहने आत्मविश्वास देखेको बताउँछन्।
जनक्रान्तिले राणाशासन अन्त्य गर्यो। तर, त्यसपछि पनि प्रधानमन्त्री मोहनशमशेर राणा नै बने। प्रजातन्त्र आएपछि महिलाले शिक्षाको अधिकार पाए पनि मताधिकारको अधिकार पाउने नपाउने टुङ्गो लागेको थिएन। उनकै अगुवाईमा भएको पहलपछि २००८ साल (नगर चुनाव) मा महिलाले पहिलो पटक मतदान गर्न पाए।
साहना २००७ सालमा कम्युनिष्ट पार्टीको सदस्य बनिन् भने त्यही बेला अखिल नेपाल महिला संघको स्थापनामा पनि प्रमुख भूमिका निर्वाह गरिन्। २०१० मा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालसँग उनको विवाह भयो। विवाहपछि राजनीतिमा लाग्न उनलाई अरू सहज हुनु स्वाभाविक थियो। नेकपा मालेका महासचिव सीपी मैनाली पुष्पलालको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीलाई बलियो बनाउन साहनाको भूमिका महत्वपूर्ण रहेको बताउँछन्।
२०१७ सालमा राजा महेन्द्रले एकलौटी सत्ता लिएपछि शुरू भएको पञ्चायती व्यवस्थामा कम्युनिष्ट पार्टी छिन्नभिन्न भयो। कैयौं नेताहरू थुनामा परे भने २०३५ सालमा भारत प्रवास रहेको बेला पुष्पलालको पनि मृत्यु भयो। त्यसपछि पुष्पलालको नेतृत्वमा रहेको समूहलाई उनले नेतृत्व दिंदै अरू कम्युनिष्ट पार्टीहरूसँग एकीकरण गर्ने अभियान शुरू गरिन्।
सबैभन्दा पहिले उनको समूह र मनमोहन अधिकारीको नेतृत्वमा रहेको नेकपा (मार्क्सवादी) बीच एकीकरण भयो। जस मार्फत नै उनी २०४६ सालको जनआन्दोलन अघि बाममोर्चाको अध्यक्ष बनिन्। नेता अधिकारी भन्छन्, “पार्टीले बाममोर्चा निर्माण गर्न साहना र मलाई जिम्मेवारी दिएकोमा मोर्चा निर्माणमा खेलेको भूमिकाका कारण उहाँ नेता चुनिनुभयो।”
जनआन्दोलन सफल भएपछि साहना अन्तरिम सरकारमा मन्त्री बनिन्। तर, कैयौं नेताले जस्तो मन्त्री बन्दा उनले आरोप र विवाद बेहोर्नुपरेन। त्यसपछि मनमोहन/साहना नेतृत्वको नेकपा (मार्क्सवादी) मदन भण्डारी नेतृत्वको नेकपा (माले) बीच एकीकरण भएर नेकपा (एमाले) बन्यो। बहुदल आएपछिको पहिलो निर्वाचनमा एमाले दोस्रो ठूलो दल बन्दा साहनाले काठमाडौंबाट निर्वाचन जितिन्।
२०५१ को निर्वाचनमा एमाले संसद्को ठूलो दल बनेर सरकारमा पुग्यो, प्रधानमन्त्री मनमोहन अधिकारी बने। २०५३ मा सरकार परिवर्तन हुँदा साहना महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भइन्। २०५४ मा एमाले फुटेपछि उनी मालेको अध्यक्ष बनिन् भने वामदेव गौतम त्यसको महासचिव भए। चार वर्षपछि दुई पार्टीबीच एकीकरण हुँदा उनी पुनः स्थायी समितिमा पुग्दै २०६३ को जनआन्दोलनपछिको लोकतान्त्रिक सरकारमा उपप्रधान तथा परराष्ट्र मन्त्री बनिन्।
सबैकी अभिभावक
नेपाली राजनीति र कम्युनिष्ट पार्टीमा साहना पहिलो पुस्ताकी नेतृ हुन्। जसमध्ये अधिकांशको निधन भइसकेको छ। माले महासचिव मैनालीको विचारमा साहनाको निधनले नेपाली राजनीतिले अभिभावक तथा पुरानो र नयाँ पुस्ता जोड्ने कडी गुमाएको छ। एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्री साहनाको निधनले नेपाली महिला आन्दोलनले ‘आमा’ गुमाउनु परेको बताउँछिन्।
एमाले नेता अधिकारी सात दशकसम्म स्वतन्त्रताको आन्दोलनमा लाग्न सक्ने नेतृ अब नेपालले पाउन मुश्किल पर्ने बताउँछन्। उनी पहिलेदेखि नै राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहिन्। २०६४ मा उनकै नेतृत्वमा अन्तर–पार्टी महिला सञ्जाल बन्यो। जसले नयाँ संविधानमा महिलालाई राज्यका हरेक ठाउँमा ३३ प्रतिशत सुरक्षित गर्न योगदान पुर्याएको थियो। चीनको राजधानी बेइजिङमा सन् १९९५ मा भएको पाँचौं अन्तर्राष्ट्रिय महिला सम्मेलनमा पनि साहनाले भाग लिएकी थिइन्।
साहनाको जीवनयात्रा
** १९८४ साल २९ असारमा काठमाडौंमा जन्म।
** १९८९ मा परिवारसँगै बर्मा गइन्।
** २००१ मा नेपाल फर्किइन्।
** २००४ मा श्री ३ पद्म शमशेरलाई भेटेर महिला अधिकारबारे माग राखिन्।
** २००४ मा राणाशासन विरुद्ध सडकमा निस्किंदा गिरफ्तारीमा परिन्।
** २००७ मा कम्युनिष्ट पार्टीको सदस्य, अखिल नेपाल महिला संघको संस्थापक।
** २००८ को नगरपालिका चुनावमा महिलालाई मताधिकार दिलाउन सफल।
** २०१० मा पुष्पलालसँग विवाह।
** २०१७ मा अध्यापन शुरू।
** २०३२ मा त्रिविद्वारा प्राध्यापकबाट अवकाश।
** २०३५ पछि राजनीतिमा पूर्णकालीन।
** २०४६ मा बाममोर्चाको नेतृत्व।
** २०४७ मा अन्तरिम मन्त्रिपरिषद्मा दोस्रो बरियताको वाणिज्य मन्त्री।
** २०४८ र २०५१ मा काठमाडौंबाट प्रतिनिधिसभामा विजयी।
** २०५३ मा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री।
** २०५४ देखि चार वर्ष मालेको अध्यक्ष।
** २०६३ मा उपप्रधान तथा परराष्ट्रमन्त्री।
** २०६४ मा अन्तर–पार्टी महिला सञ्जालको अध्यक्ष।
** २०७१ असोज ६ मा निधन।