ब्लगबुधबार, फाल्गुण २०, २०७१
बाबुराम केजरीवाल बन्न सक्लान् ?
भारत भ्रमणमा रहेका एमाओवादी नेता बाबुराम भट्टराईले सामाजिक सञ्जालमा दिल्लीका नवनिर्वाचित मूख्यमन्त्री तथा आम आद्मी पार्टीका संयोजक अरविन्द केजरीवालसँग खिचाएको आफ्नो तस्वीर राखेका छन् ।

बाबुराम भट्टराई दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग । तस्वीर: भट्टराईको फेसबुकबाट साभार
फोटोको तल केजरीवाललाई बैकल्पिक राजनीतिका प्रयोगकर्ता भन्दै ‘बैकल्पिक राजनीतिबारे निकै उपयोगी र रोचक बिमर्श भयो’ लेखिएको छ ।
गत वर्ष केजरीवाल दिल्लीको ४९ दिने मूख्यमन्त्री हुँदा बाबुरामले ‘नया शक्ति’ बनाउन भरमग्दुर प्रयास गरेका थिए ।
त्यसका लागि आफ्नै पार्टीमा कुरा उठाए, आफू समर्थक कार्यकर्तामार्फत माहोल बनाउन खोजे, ‘नागरिक समाजका अगुवाहरु’ सग छलफल गरे, तर सोचे जस्तो नतिजा ननिस्किएपछि अघि बढेनन् ।
फेरी, उता नै केजरीवालको पार्टी लोकसभा निर्वाचनमा नराम्रोसग पराजित भयो । उसको भविष्य नरहेको बताउन थालियो । त्यसपछि यताका नयाँ शक्ति पक्षधर अरुसँगै बाबुराम पनि सेलाए ।
दिल्लीमा भर्खरै भएको निर्वाचनमा केजरीवालको पार्टीले ७० सदस्यीय विधानसभामा ६७ सिट जितेपछि यता पनि नया शक्तिको चर्चा चुलिएको छ । अरु धेरै जस्तै बाबुराममा पनि अहिले फेरी नयाँ शक्ति निर्माणप्रति चासो बढेको उनले सामाजिक सञ्जालमा प्रयोग गरेका शब्दहहरुले देखाउछन् ।
यो बेग्लै हो कि, उनको यो भारत भ्रमण केजरीवालसँग भन्दा त्यहाँका स्थापित राजनीतिक दल र सरकारसँग सम्बन्ध बलियो बनाउन थियो । यसैले उनले आफ्नो शिक्षादिक्षा भारतमै भएको, १२ बुँदे समझदारीको हिस्सेदार भारत पनि रहेको तथा चीनसँग आफू र आफ्नो पार्टीको कुनै सम्बन्ध नरहेको भारतीय संस्थापनलाई बेलिविस्तार लगाए ।
केजरीवाल र बाबुराम
बाबुरामले केजरीवाल र उनको पार्टीप्रति मोह देखाएपनि उनीहरुबीच धेरै कुरामा समानता छैन। केजरीवालको पृष्ठभूमि राजनीति नभएर सरकारी कर्मचारी तथा गैरसरकारी संस्थाकर्मी हो भने बाबुरामले कम्युनिष्ट राजनीति गरेको लामो समय भयो ।
केजरीवाल अहिंसा पक्षधर हुन्, गान्धीवाद उनको बिश्वास हो भने, बाबुराम माओवादी हिंसा पक्षधर हुन्, १७ हजार मानिसको मृत्युको कारण बनेको ‘जनयुद्ध’ का उनी एक प्रमुख नेता हुन् ।
गत लोकसभा निर्वाचनमा कयौं मानिसले थप्पड हान्दा केजरीवाल ध्यान गर्न गान्धीको समाधिस्थल पुगे तथा आफूलाई पिट्नेलाई फूल लिएर भेट्न गए ।
बाबुरामको वाईसीएलमोह, आक्रोश र बदलाको भावना जगजाहेर नै छ ।
केजरीवालले जाति, भाषा र धर्मको राजनीतिलाई महत्व दिएका छैनन् । विधानसभा निर्वाचनको दुई दिन अघि ‘डेरा सच्चा’ नामको हिन्दु निकट समूहले भारतीय जनता पार्टीलाई सघाउने घोषणा गरेपछिको प्रतिक्रियामा मुसलमान धार्मिक गुरु इमाम बुखारीले आप पार्टीलाई समर्थन गरेको घोषणा गरे, तर एक घण्टामै केजरीवालले त्यो समर्थनलाई अस्वीकार गरिदिए ।
त्यो भारतीय राजनीतिमै नौलो र उदाहरणीय काम थियो, बाबुराम भने अघि बढ्न तथा शक्तिमा पुग्न जातीय, भाषिक र धार्मिक भावना भड्काइरहेका छन् ।
बाबुराम र यहाँका नयाँ शक्ति पक्षधर अरु जस्तो केजरीवालमा अधैर्य देखिदैन । लोकसभा निर्वाचनमा पराजय बेहोरेपछि विधानसभा निर्वाचनमा बिजय पाउन उनले पार्टीलाई पुनर्गठन गरे, जनताको घर–घर पुगे, कतै नहेरी दिल्लीमा एकोहोरो लागिरहे र त्यसको परिणाम जनताको मन जित्न सफल पनि भए ।
बाबुराम भने एक पटक निर्वाचनमा हार्नासाथ फेरी कहिल्यै जितिदैन भन्ने सोचेर अधैर्य बन्दै छन् तथा जनताको घर जानुको साटो देशी/बिदेशी शक्ति केन्द्र धाउँदैछन् ।
यस्ता तथ्य र कारणहरुले बाबुराम केजरीवाल बन्न नसक्ने देखाउँछन् । केजरीवालले एक दशक अघिदेखि दिल्ली र भारतीय जनताको अधिकारका लागि लडाई लडे, त्यसो गर्दा राजनीतिक लाभ पाउने उनले सोचेका पनि थिएनन् ।
दुई बर्षअघिको अन्ना आन्दोलनपछि मात्र राजनीतिक पार्टी बनाउने सोच उनमा आएको थियो । बाबुरामका तीन दशक यताका सबै कामकारवाही राजनीतिक लाभ/हानीलाई बिचार गरेर चालिएका छन् ।
यो वेग्लै हो कि, केजरीवालकै राजनीति पनि अझै परिक्षणमै छ । उनलाई एक व्यक्ति पार्टी बनाउन खोजेको आरोप योगेन्द्र यादव र प्रशान्त भुषण जस्ता उनकै वरिष्ठ सहकर्मीहरुले लगाइरहेका छन् ।
भर्खरै शुरु भएको त्यो पार्टीभित्रको द्वन्द्व समाधान भएन भने आप भारतभरी फैलनेमा शंका गर्न थालिएको छ ।
लेखकको ब्लगबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
