अर्थ/बजारबुधबार, फाल्गुण २०, २०७१

प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण

हिमालखबर

तामाकोसीको शेयर अावेदन गर्न पुलचोकस्थित राष्ट्रिय बाणिज्य बैंकमा लागेको भीड । तस्वीर: देवकी बिष्ट

तामाकोसीको शेयर अावेदन गर्न पुलचोकस्थित राष्ट्रिय बाणिज्य बैंकमा लागेको भीड । तस्वीर: देवकी बिष्ट

दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरमा लगानी गर्न कर्मचारी (कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता) ले उत्साह देखाएका छन् ।

कम्पनीको शेयर विक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार, ११ फागुनबाट खुलेको शेयर आवेदनका लागि २० फागुनसम्ममा करिब ७५ हजार कर्मचारीले रु. २ अर्ब १० करोडको शेयर माग गर्दै आवेदन भरेका छन् ।

कम्पनीले सञ्चयकर्ताका लागि रु. १ अर्ब ८३ करोड बराबरको १ करोड ८२ लाख ९९ हजार ५२० कित्ता शेयर छुट्याएको थियो । सञ्चयकोषका करिब ४ लाख ५० हजार सञ्चयकर्तामध्ये ३ लाख ७५ हजारले शेयर आवेदन दिनै बाँकी छ ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा स्थानीयबासीसँग तामाकोशीको शेयर आवेदन माग गरेपछि फारम बुझाउने देशैभरिका केन्द्रमा भीड लागेको थियो ।

कोषले सञ्चयकर्ताका लागि फागुन ११ देखि खोलेको शेयर आवेदन दिनका लागि देशभरिका राष्ट्रिय बाणिज्य ब्यांकका ६८ शाखा तथा नागरिक लगानी कोषसहितका विभिन्न ब्यांकका अन्य संकलन केन्द्र तोकेको थियो ।

शेयर आवेदन दिन सञ्चयकर्ताको अत्याधिक भीड लागेपछि यो अवधि बढाएर १५ चैतसम्मका लागि सारिएको छ ।

नेपाल विद्युत प्राधिकरणका २ हजार कर्मचारीले मात्रै रु. २० करोडको शेयर माग गर्दै आवेदन गरेका छन् ।

“तामाकोशीको शेयरमा लगानी गर्न देशैभरिबाट अत्याधिक आकर्षण देखिएको छ,” कोषका प्रवक्ता सुशिल अर्यालले भने ।

प्रति सञ्चयकर्ता न्यूनतम ४४ कित्ता दिने नीति बनाइएकाले बढीको शेयर आवेदन गर्नेले पनि धेरै कित्ता शेयर नपाउने अर्यालले बताए ।

तामाकोशीले स्थानीय दोलखाबासीका लागि १ करोड ५ लाख ९० हजार, ऋणदाता सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान र नेपाल टेलिकमका कर्मचारीका लागि ३० लाख ४९ हजार ९२०, विद्युत प्राधिकरण र तामाकोशीका कर्मचारीलाई ४० लाख ६६ हजार ५६० कित्ता शेयर छुट्याएको छ ।

सञ्चय कोषका कार्यालयमा सञ्चयकर्ता भएको प्रमाणित गर्न कर्मचारीको भिड लागेको छ ।
४५६ मेगावाटको राष्ट्रिय गौरबको यो आयोजनाको लागत रु. ४० अर्ब छ । सस्तोमा विद्युत उत्पादन हुने भएकाले यो आयोजनामा लगानी गर्न चाहनेको आकर्षण बढी छ ।

आयोजनाले अहिलेको शेयर बाँडफाँड सकिएपछि आगामी असारमा सर्वसाधारणका लागि १ करोड ६५ लाख कित्ता शेयरको आवेदन माग गर्ने तयारी गरेको छ ।

nलगानीको आकर्षण
तामाकोशीले सञ्चयकर्ता, ऋण दातासंस्थाका कर्मचारी र स्थानीयबासी बाहेक सर्वसाधारणका लागि अझै शेयर आवेदन माग गरेको छैन । तर, अहिले नै छुट्याइएको भन्दा कयौं गुणा बढी आवेदन पर्ने अनुमान छ ।

शेयर विश्लेषक रविन्द्र भट्टराई दोस्रो बजारमा जलविद्युत र लघुवित्त कम्पनीको शेयरको आकर्षक कारोबार बढिरहेका कारण प्राथमिक शेयर निष्कासनमा पनि आकर्षण देखिएको बताउँछन् ।

“दोस्रो बजार बढेका बेला लगानीकर्ता प्राथमिक शेयरमा पनि तानिन्छन्,” भट्टराई भन्छन्, “बजार बियरिस (घट्दो) टे«ण्डमा गयो भने आकर्षण हराउँछ ।”

हुन पनि, अहिले शेयर बजार बुलिस ट्रेण्डमैं छ । दोस्रो बजारमा पनि लगानीकर्ताको आकर्षण बढिरहेको छ । अर्कातिर, शेयरमा लगानी गर्न खोज्ने प्रवृत्ति बढ्नुले सर्वसाधारणको हातमा पैसा रहेको र त्यसको लगानी गर्ने आकर्षक ठाउँ खोजिरहेको देखाउँछ ।

सर्वसाधारणले सधैं र सबै कम्पनीमा लगानी गर्न तयार नहुने भएपनि जलविद्युतजस्ता परियोजनामा प्रतिफल धेरै हुन्छ भन्ने अनुमानका आधारमा लगानी गर्न उत्साहित हुने गरेको विश्लेषक भट्टराईको विश्वास छ । तर, यसलाई ‘क्यास’ गर्न सरकार चुकेको उनी बताउँछन् ।

तामाकोशीमा लगानी गर्न आकर्षण देखिएका बेला सरकारले यसको साधारण सभा बोलाएरै भएपनि पुँजी संरचना परिवर्तन गरेर अर्को आयोजना शुरु गर्न समेत रकम उठाउनुपर्ने उनको तर्क छ ।

नेपालमा जलविद्युतसहितका ठूला परियोजनाको प्रस्ताव गर्ने बित्तिकै कुरा उठिहाल्छ – लगानीको । ठूला वाणिज्य ब्यांकको कन्र्सोटियमबाट समेत लगानी जुटाउन धौ धौ पर्छ ।

तर, आकर्षक परियोजना छ र सर्वसधारवणको विश्वास जित्न सके सर्वसाधारणबाटै लगानी उठाएर आयोजना निर्माण गर्न सकिन्छ भन्ने विश्वास तामाकोशीको शेयरमा देखिएको आकर्षणले जगाएको छ ।

तामाकोशीबाहेक जनउत्थान लघुवित्त र बरुण हाइड्रोपावर कम्वपनीमा पनि उस्तै आकर्षण देखियो । यी दुबैका प्राथमिक शेयरमा आवेदन गर्न सर्वसाधारणहरु घण्टौं लाइन बसेका थिए ।

दुबै कम्पनीले १७ फागुनबाट आवेदन खोलेका थिए जसमा बरुणले ४ लाख ८६ हजार र जनउत्थानले ९० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गर्नेछ ।

“मध्यमस्तरका आयोजना निर्माण गर्न विदेशीसँग भिख माग्नै पर्दैन, सर्वसाधारणबाट पुँजी जुटाउन सकिन्छ,” विश्लेषक रविन्द्र भट्टराई भन्छन् ।

परियोजनामा शेयर लगानी गर्ने सर्वसाधारणको आकर्षण थामिनसक्नु देखिएपनि सरकारले भने कोटा तोकेर बस्नु युक्तिसंगत होइन । बरु, हातमा रकम भएका तर लगानीको अवसर कुरिरहेका सर्वसाधारणलाई जतिसक्दो लगानीको अवसर सिर्जना गर्न ढिला भइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>