थप समाचारबिहीबार, फाल्गुण २१, २०७१
विदेशमा होली
नेपाल, भारत, श्रीलंका र म्यानमारमा होलीमा केही विधिहरु फरक भए पनि उस्तै गरी रंग र अविर दलेर, अत्तर र रंग मिसाएको पानी छ्यापेर मनाइन्छ । त्यसैले यी देशवासीहरुको ठूलो संख्या भएका अन्य देशहरुमा पनि होली हार्षोल्लासका साथ मनाइन्छ ।
करिब ६० प्रतिशत भारतीय मुलका नागरिक रहेको मरिशसमा पनि होली परम्परागत तरिकाबाटै मनाइन्छ ।
रुसमा होली जस्तै ३१ मार्चका दिन मूर्ख दिवसको आयोजना गरिन्छ । विभिन्न हास्य एवम् महामूर्ख सम्मेलनको आयोजना गरिन्छ । होलीको एउटा विशेषता भनेकै परिहास हो जुन रुसको यो पर्वसँग मिल्छ ।
जर्मनीको ओल्डबर्गमा यस दिन युवायुवतीले खरपरालको पुतला बनाउँछन र त्यसलाई जलाउँछन् । पुतला जलिसेकपछि केटा केटीहरु एक अर्कालाई जिस्काउँदै रमाइलो गर्छन् भने आफूभन्दा ठूलाका लुगामा दाग लगाएर विगारिदिन्छन् ।
रोममा रेडिका नामको पर्व मे महिनामा मनाइन्छ । यस दिन मानिसहरु अग्लो स्थानमा दाउरा बाल्छन, नाच्दैगाउँदै खुसियाली मनाउँछन् । यस अवसरमा आतिशबाजीको पनि आयोजना गरिन्छ । इटलीवासीका अनुसार यो पर्व अन्नकी देवी फ्लोरालाई खुशी पार्न मनाइन्छ ।
चीनमा यसलाई च्वैजे भनिन्छ । यस दिन उनीहरु पनि काठ दाउराको ठूलो धुनी बालेर रमाइलो गर्छन् । एकअर्कामाथि रंग हाल्छन् र रंगिविरंगी लुगा लगाएर शुभकामना आदानप्रदान गर्छन् ।
सुकरातको जन्मभूमि युनानमा यो उत्सव पोल नामले मनाइन्छ । यस दिन यूनानी देवता टायनोसियसको पूजा हुन्छ । मानिसहरु आगो बालेर रमाइलो गर्छन् ।
फ्रान्समा स्थानीय पर्व गाचोका नामबाट होली मनाइन्छ । फ्रान्सेलीहरु खरपरालको पुतला बालेर एकअर्कामा रंग हाल्दै रमाइलो गर्छन् ।
बेलायतमा ५ नोभेम्बरमा ‘गाइ फक्स डे’ का रुपमा होली मनाइन्छ । यस पर्वमा त्यहाँका मानिसहरु फ्याउरोको पुतला बनाएर जलाउँछन् ।
बेल्जियममा केही स्थानमा पनि होली जस्तै उत्सव मनाउने चलन छ । हाँस्दै रमाउँदै मानिसहरु पुराना जुत्ता जलाउँछन् । ठट्यौली गर्दै मनाइने यो उत्सवमा सहभागी नहुने हरुको अनुहार रंगाएर उनीहरुको जुलुश निकाल्ने चलन छ ।
अफ्रिकामा होली जस्तै पर्वलाई ओगेवा बोंगा भनिन्छ । यस दिन बोंगा नामक जंगली देवताको पुतला जलाइन्छ ।
पोल्याण्डमा होलीलाई आरशिना भनिन्छ । यस अवसरमा फूलहरुबाट बनाइएको रंग एकआपसमा लगाइदिने चलन छ ।
स्वीडेनमा होलीसँग मिल्दोजुल्दो पर्व सेंट जोनको पवित्र तिथिका रुपमा मनाउने प्रथा छ । यस दिन केटकेटीहरु पटाका पडकाउँछन् र साँझ आगो बालेर रमाइलो गरिन्छ ।
चेकोस्लावाकियामा होली जस्तै पर्वलाई वेलियाकोनसी भनिन्छ । यहाँ पनि नेपालमा जस्तै रंग र अबिरले होली मनाइन्छ ।
एजेन्सीहरुबाट