रिपोर्टआइतबार, फाल्गुण २४, २०७१

सहमतिको सु–अवसर

हिमालखबर

-सइन्द्र राई

२३ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे वार्ताका सहभागीहरु । तस्वीरः रासस

२३ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे वार्ताका सहभागीहरु । तस्वीरः रासस

मुलुककै राजनीतिक भविष्य निर्धारण गर्ने भनेर प्रचारित १६ फागुनको ‘शक्ति प्रदर्शन’ लगत्तै एकीकृत नेकपा (माओवादी) नेतृत्वको मोर्चा सरकारसँग वार्ता गर्न सहमत भएको छ । यसअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले औपचारिक रूपमा दुई पटक र अर्को सत्तासीन दल नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठकबाटै गरेको वार्ता प्रस्ताव बेवास्ता गर्दै मोर्चाले आन्दोलन घोषणा गरेको थियो ।

२१ फागुनमा मोर्चाको वार्तामा फर्कने निर्णयले ५ माघपछि अवरुद्ध दलहरूबीचको औपचारिक सम्वाद पुनः शुरू भएको छ । यसले अवरुद्ध संविधान निर्माण प्रक्रियालाई गति दिने सम्भावना बढाएको छ । एमाले उपाध्यक्ष भीम रावल भन्छन्, “मोर्चाको निर्णयले संविधान निर्माण प्रक्रिया अघि बढ्न सहयोग पुग्ने देखिन्छ ।”

स्थगित संविधानसभा बैठक शुरू गर्न कांग्रेस–एमालेले अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आग्रह गर्ने र सहमतिका लागि प्रधानमन्त्रीले विपक्षीसँग वार्ता प्रक्रिया अघि बढाउने सत्तासीन दलहरूको २० फागुनको निर्णयले पनि मोर्चालाई वार्तामा आउन बाध्य बनाएको बताउनेहरू पनि छन् ।

यसबीच, कांग्रेसले केन्द्रीय समितिबाटै सहमतिमा संविधान बनाउने निर्णय गर्नु, संविधानसभा अनिश्चितकालसम्म स्थगित गराइनु, प्रधानमन्त्री कोइराला र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग मोर्चाका संयोजक पुष्पकमल दाहालसँग भएको अनौपचारिक सम्वाद मोर्चाको पछिल्लो निर्णयमा सहायक बनेको देखिन्छ । त्यसो त १९ फागुनमा बसेको एमाले स्थायी कमिटी बैठकले संविधानसभालाई अनिश्चित बनाइरहने सोचबाट कांग्रेस पछि नहटे सत्ताबाट बाहिरिनेसम्म चेतावनी दिएको थियो ।

मोर्चाले ११ माघमा संविधानसभाको दुईतिहाइबाट बनेको प्रश्नावली समिति खारेज गरी संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति पुनः सक्रिय गराइनुपर्ने माग राख्दै आएको छ । तर, विवादका प्रमुख विषय संघीयता, निर्वाचन प्रणाली, न्याय प्रणाली र शासकीय स्वरुपमा सहमति जुटेको अवस्थामा समिति खारेजीकै मागमा नअडिने निष्कर्षमा मोर्चा पुगेको छ ।

‘शक्ति प्रदर्शन’ मोर्चाको बाध्यता मात्र भएको तर्क गर्ने एमाओवादी सचिव टोपबहादुर रायमाझ्ी सहमतिका लागि कांग्रेस–एमाले तयार देखिएकाले वार्तामा बस्ने निर्णय गरेको बताउँछन् । उनी भन्छन्, “दलहरूबीच संविधानका अन्तरवस्तुमा सहमति जुट्नासाथ अन्य विषयमा लचक हुन सकिन्छ ।”

मोर्चाका संयोजक एमाओवादी अध्यक्ष दाहाल अनौपचारिक सम्वादका लागि २० फागुनमा प्रधानमन्त्री निवास बालुवाटार पुग्नु र एमाले वरिष्ठ नेता नेपाललाई सहजीकरणको आग्रह गर्नुले मोर्चाले सम्वादबाटै निकास खोजे झ्ैं देखिन्छ । मोर्चाका एक नेता भने आन्दोलन या वार्ता भन्नेमा मोर्चा नै विभाजित बनेकाले यस्तो निर्णय गरिएको बताउँछन् ।

राजनीतिक विश्लेषक नीलाम्बर आचार्य विभाजित राजनीति पुनः वार्तातर्फ उन्मुख भएकाले यसलाई सार्थक बनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, “विषय केन्द्रित छलफलमा सहमति जुटाउन नलाग्ने हो भने यो वार्ताले पनि निकास दिनसक्दैन ।”

नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्का अबको राजनीति मोर्चाको निर्णयमा निर्भर हुने बताउँछन् । “बल मोर्चाको कोर्टमा छ । सहमतिका लागि हो भने वार्ता सार्थक हुन्छ, देखाउन मात्रै हो भने औपचारिकतामै सीमित हुन्छ”, खड्का भन्छन् ।

एमाओवादी सचिव रायमाझ्ी मोर्चाको प्राथमिकतामा सहमतिको संविधान भए पनि सत्तापक्षले पेले आन्दोलनमा फर्कनुको विकल्प नरहेको बताउँछन् । उनी भन्छन्, “सहमतिबाट संविधान आउने वातावरण कांग्रेस–एमालेले नै तयार गर्नुपर्छ ।”

मोर्चाले आन्दोलन र सत्तासीन दलले दुईतिहाइको मानसिकता त्यागेर विषय केन्द्रित छलफलमा बस्नासाथ सहमति टाढा देखिंदैन । विश्लेषक आचार्य भन्छन्, “सम्वादमा गम्भीर हुने हो भने केही समयभित्रै सहमतिको संविधान आउँछ ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>