रिपोर्टआइतबार, फाल्गुण २४, २०७१
फेरियो जीवन
-बच्चु बिक
गुगल इन्जिनले सेकेन्डभरमै ६ अर्ब नतीजा देखाउने ‘लाइफ’ शब्दलाई बृहत् नेपाली शब्दकोशले ‘जन्मदेखि मृत्युसम्मको अवधि’ भनेर सजिलो बनाएको छ ।
तर, कञ्चनपुरको झ्लारी पिपलाडी–४ शान्तिपुरकी भुरा धानुकको अनुभवमा ‘जीवन’ बिल्कुलै गाह्रो जिनिस हो । “यो जीवन भन्या साह्रै गाह्रो कुरा रहेछ”, २१ वर्षकी नातिनी शान्तिलाई हेर्दै ७५ वर्षीया यी हजुरआमाले भनिन्, “मेरो जीवन सोच्दा दुःखैदुःख जस्तो लाग्छ, नातिनातिनाको जीवन देख्दा सुखैसुख लाग्छ । मन लागेको खाएको छ, लगाएको छ, मन परेको ठाउँ पुग्या छ, मन मिलेका साथीसँगीसँग हाँसखेल ग-या छ, यस्तो पो जीवन !”
उहिले र अहिले

“ती बूढा मान्छे त मलाई हेर्न पो आएका रहेछन् । त्यतिबेला दाँत हेर्ने चलन थियो, तर म हाँस्दै हाँसिनँ ।”-भुरा धानुक (७५)
नौ वर्षकी छँदा आमासँग बैतडीको कुवाकोट लेकको गोठमा बस्थिन्, भुरा । एक दिन औलबाट दाजु र काका ‘घर जाऔैं’ भन्दै आउँदा उनी कम्ती खुशी भइनन् । उनलाई दाजु र काकाले पालैपालो बुई चढाउँदै घर पुर्याए । आँगनमा नयाँ मान्छेहरू थिए ।
तिनैमध्येका बूढा मान्छेले भुरालाई सुर्ती भरेको सुल्फामा कोइला राखेर ल्याऊ भने । भुराले लिन खोज्दा बूढाले जिस्केजस्तो गर्दै सुल्फा यता र उता पारे । “ती बूढा मान्छे त मलाई हेर्न पो आएको रहेछन्”, भुरा भन्छिन्, “यो हाँस्ली र यसका दाँत हेरम्ला भन्ने रहेछ । त्यतिबेला दाँत हेर्ने चलन थियो, तर म हाँस्दै हाँसिनँ ।” त्यो घटना सम्झ्ेर सुनाउँदा भुरा खुब हाँसिन् ।
बुई चढेरै उनी छिमेकी गाउँ हाट पुगिन् । बिहे हुन लागेको पत्तै पाइनन्, तर नयाँ कपडा लगाउँदा खुशी भइन् । बेहुला कर्णबहादुर धानुकसँग देखादेख हुँदा केही जस्तो लागेन । तर, अर्को बिहानैदेखि उनी रुन थालिन्, दाजु र काका अरू तीन दिन त्यहीं बसे, उनलाई फकाउन । अहिले ती दिन सपना जस्तो भएको छ । अझ् सपना त आफ्नै अगाडि मुस्कुराइरहेका बुहारी र नातिनी भएका छन् ।
भुराकी कान्छी बुहारी सुना धानुक (४७) सासूभन्दा २८ वर्ष कान्छी छन्, जसले बिहे हुनुभन्दा एक वर्ष अघिदेखि नै बेहुला नवीन धानुकसँग देखाभेट गरिन् । “आमाबुवा केटा असल छन् भन्नुहुन्थ्यो”, सुना भन्छिन्, “मैले साथीहरूबाट आनीबानी बुझे, विचारको लागि भेटघाट पनि गरें ।”
१२ कक्षामा अध्ययनरत शान्तिका लागि हजुरआमा र आमाको अनुभव उहिलेका कुरा हुन् । उनलाई त हुनेवाला बेहुला अरूलाई हेर्न लगाउनुपर्छ भन्ने नै लाग्दैन । मागी विवाहका लागि आएका एक जना अपरिचित वरलाई शालीनतापूर्वक अस्वीकार गरिसकेकी शान्तिका लागि परिचय र विश्वास विवाहका आधार हुन्, जुन बारम्बारको देखाभेटबाट व्यवहार नबुझी हुँदैन । बुवा नवीन धानुक आउँदो वैशाखतिर शान्तिको बिहे गर्न चाहन्छन्, तर आफूले कुराकानी गरेको केटासँग छोरीले बिहे गर्नेमा विश्वस्त छैनन् । “अहिलेका केटाकेटी लेखपढ गर्या छन्, हामीभन्दा जान्ने छन्”, भुराका कान्छा छोरा नवीन भन्छन्, “आफ्नो निर्णय आफैं गर्ने भन्छन् ।”
प्रेम पिरती

“आमाबुवा केटा असल छन् भन्नुहुन्थ्यो । मैले साथीहरूबाट आनीबानी बुझे, विचारको लागि भेटघाट पनि गरें ।”-सुना धानुक (४७)
उहिले प्रेम नजानेकी भुरा अहिले मायापिरतीको कुरा आउँदा हाँस्छिन् अनि ‘आफ्नो त छोराछोरी जन्मेपछि मात्र बूढासँग बोलचाल हुनथालेको’ बताउँछिन् ।
बिहेपछिका ६५ वर्षसम्म सँगसँगै हिंडडुल समेत नगरेका धानुक दम्पती आक्कल–झ्क्कुल मेलाजात्रा जाँदा पनि लोग्नेमान्छे र स्वास्नीमान्छेको छुट्टाछुट्टै समूहमा गए । तराई झ्रेपछि भने भुरालाई बूढासँग घुमफिर गर्नुपर्ने रहेछ भन्ने लाग्यो । “कति वर्ष नबोलेरै बित्यो, कति वर्ष सँगै नहिंडी बित्यो”, भुरा भन्छिन्, “एकअर्कालाई छोडेर यताउता जान पनि सकिएन, मायाप्रेम भन्या यही रहेछ !”
तर, उनकी बुहारीको समयमा आइपुग्दा प्रेम–पिरती धेरै प्रष्ट भइसकेको थियो । पहिल्यै देखाभेट भएको मान्छेसँग बिहेको दोस्रो दिनदेखि नै बोलचाल हुन थालेको सुनाले बताइन् । अरू मान्छेका बीच नबोले पनि एक्लाएक्लैमा हँसिमजाक पनि चलिहाल्थ्यो । “लुकिछिपी हेर्न मन लाग्थ्यो, उहाँ पनि हेरिराख्नुहुन्थ्यो, माया, प्रेम जे भने पनि त्यही हो”, सुना भन्छिन् ।
अहिले त पूरा समाज प्रेममा खुलेको छ । बिहेअघिको मायाप्रेम पनि स्वीकार्य भएको छ । भुरा जस्ती हजुरआमाले पनि नाति पुस्ताको प्रेमलाई सहज रूपमा लिएकी छन् । कसैलाई मन पराउनु, माया लाग्नु र उसैसँग जीवन विताउनु ठीक लाग्छ, उनलाई । यस्ती हजुरआमाकी नातिनी शान्ति कलेज पढ्ने आजका केटाकेटीलाई ब्वाईफ्रेन्ड, गर्लफ्रेन्ड छ ? भनेर सोध्न नहुने बताउँछिन् । उनी भन्छिन्, “त्यो त बुझने कुरा हो ।”
भुरादेखि शान्तिसम्मको तीनपुस्ते अवधिमा प्रेम र विवाहको परिपाटी मात्र नभई जीवन जिउने क्रममा आउनेजाने खुशी र दुःखका कारण पनि फेरिएका छन् । भुराका लागि माइती जान पाउनु जीवनका सर्वाधिक खुशीका दिन हुन्थे । माइती घरमा महीना बितेको पत्तै हुँदैनथ्यो ।
घरबाट मान्छे लिन आउँदा उनी ‘मरौं कि मरिहाल्छु कि’ भन्ने सोच्दै खूब रुन्थिन् । तर, सुनाको समयमा माइती आउनु–जानु ठूलो कुरा रहेन । बरु श्रीमान्सँग मेलाबजार जाँदा धेरै खुशी लागेको सुना बताउँछिन् । अहिले त खुशी र दुःखी हुन ठूलो कुरा नै चाहिन्न । जस्तो, शान्तिलाई मन लागेका स–साना कुरा गर्न पाउँदा पनि धेरै खुशी लाग्छ, नपाउँदा दुःख । साथीसँगीसँग कुराकानी गरिरहँदा बाबुआमाले ‘कति फोनमा बोलेको’ भन्दा र कहीं घुमफिरमा जान खोज्दा ‘अहिले होइन, पछि जाऊ’ भन्दा दुःख लाग्ने उनी बताउँछिन् ।
परिवार र समाज

“कलेज पढ्ने केटाकेटीलाई ब्वाईफ्रेन्ड, गर्लफ्रेन्ड छ ? भनेर सोध्ने नै हैन, बुझने कुरा हो ।”-शान्ति धानुक (२१)
चार/पाँच दशकअघि अनिवार्य मानिएका पारिवारिक तथा सामाजिक बन्धनहरू अहिले लगभग टुटिसकेका छन् । भुराको समयमा बुहारीले बोल्नै हुन्थेन, टाउको मात्रै हल्लाउनुपथ्र्यो । “बोल्यो कि अलच्छिनी भनिहाल्थे”, यी हजुरआमा भन्छिन्, “बिहान झ्सिमिसेदेखि राति अबेरसम्म कामैकाम हुन्थ्यो, एकछिन बस्दा ‘के महारानी भएर बस्या’ भन्दै टोकसिहाल्थे ।”
अहिले संयुक्तबाट एकलमा बदलिंदै गएको परिवारमा फेरिएको पेशा÷जीविकाले पनि कामको चाप घटाएको छ । महिलामाथि घरेलु कामकाजको बोझ् भने खासै नघटेको सुना बताउँछिन् । उनको अनुभवमा, सासूको समयको तुलनामा अहिले धेरै सजिलो छ, तर घरायसी कामलाई स्वास्नीमान्छेको ठान्ने मानसिकता हटिसकेको छैन । सुनालाई छोरी शान्तिको समयमा घरायसी काम पनि दुवैले मिलेर गर्ने चलन आइसक्छ भन्ने लाग्छ । “हाम्रो जुनी पो यसै बित्यो”, कामको चर्चामा अघि सर्दै भुराले भनिन्, “सबै लेखापढा छन्, छोरीलाई ज्वाईंले, बुहारीलाई छोराले सघाउनु परिहाल्यो नि !”
तीन छोरा र चार छोरीमध्ये छोरालाई मात्र स्कूल पठाएकी यी वृद्धाले पाँच नातिनातिनालाई आफैं डोर्याएर स्कूल पुर्याइन् । एसएलसी गरेपछि घरमा शान्तिले बिहेको कुरा चल्दा ‘पढ्छु भन्छे, पढ्न दिऔं’ भन्दै कलेज भर्ना गराउने उनी नै भइन् । एउटी नातिनीलाई पढ्न काठमाडौं पठाएको बताउँदा उनको स्वरमा गर्व मिसिएको प्रष्टै थाहा पाउँछ, सुन्नेले । “यसरी हेर्दाहेदै संसार फेरियो”, उनले भनिन् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
