थप समाचारमंगलबार, फाल्गुण २६, २०७१

अब आधुनिक लाइसेन्स

हिमालखबर

-सन्त गाहा मगर

bKkzUDFयातायात व्यवस्था विभागले मेशीन रिडेबल सवारी चालक अनुमतिपत्र ल्याउन लागेको छ। एटीएम आकारको पोलिमर प्लास्टिक कोटेड चालक अनुमतिपत्र (हे.तस्वीर) वितरणका लागि अन्तिम तयारी भइरहेको विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीले जानकारी दिए।

उनी भन्छन्, “स्मार्ट लाइसेन्स कार्ड अहिलेको भन्दा सुरक्षित र विस्तृत जानकारी सहितको हुनेछ।” चलनचल्तीमा रहेका अनुमतिपत्रमा भएका नाम, ठेगाना, जारी मिति र म्याद सकिने मिति बाहेकका जानकारी पनि लाइसेन्समा राख्न लागिएको हो।

चालकले राज्यलाई तिर्नुपर्ने कर तिरे/नतिरेको, कुनै आपराधिक गतिविधिमा संलग्न भए/नभएको लगायतका सूचना समेत लाइसेन्समै राखिने भएको छ। यसका लागि शुरूमा सम्पूर्ण जानकारी ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टम (डीएलआरएस)मा इन्ट्री गर्ने र लाइसेन्स मेशीनमा छुवाएपछि हेर्न सकिने महानिर्देशक बुर्लाकोटी बताउँछन्।

डीएलआरएसमा इन्ट्री भएको रगत समूह सम्बन्धी जानकारी अस्पताल, कर सम्बन्धी जानकारी ब्याङ्क र आपराधिक गतिविधि सम्बन्धी जानकारी प्रहरीले हेर्न मिल्ने गरिको इन्ट्रा–नेट सिस्टम पनि तयार पारिएको छ।

यातायात व्यवस्था विभागले आफ्नो कार्यालयबाटै स्मार्ट लाइसेन्स कार्डमा कारबाही भएको जनाउन मिल्ने गरिको बनाउन लागेको छ। नक्कली लाइसेन्स निरुत्साहित हुने मात्रै होइन बोकेर हिंड्न पनि सहज हुने महानिर्देशक बुर्लाकोटी बताउँछन्। उनका अनुसार लाइसेन्स नवीकरणको म्याद पनि पाँचबाट १० वर्ष हुने र शुल्क पनि केही बढ्ने भएको छ।

यसका लागि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनको तयारी भइसकेको पनि बुर्लाकोटीले जानकारी दिए। विभागले चालक अनुमतिपत्र, सीसीटीभी, सफ्टवेयर निर्माण र क्षमता अभिवृद्धि तालीम सञ्चालनका लागि ४ अक्टोबर २०१३ मा एशियाली विकास ब्याङ्क (एडीबी) सँग १५ लाख डलर बराबरको आयोजनामा सम्झौता गरेको थियो। देशभरि २४ लाख चालक अनुमतिपत्र वितरण भएकोमा शुरूमा एक लाख ६० हजार लाइसेन्सलाई स्मार्ट कार्डमा लगिन लागिएको हो।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>