रमझममंगलबार, फाल्गुण २६, २०७१
राईको नौमती समूह
-गोपाल गडतौला, बाँझो, इलाम
भाका फेरीफेरी सहनाई बजाउने ६८ वर्षे बहादुरमान राई।
हल्लीहल्ली झयाम्टा बजाउने ३६ वर्षे रत्नकुमार राई अनि ट्याम्कोमा मिलाई–मिलाई गजो मार्ने ३८ वर्षे रञ्जित राई। यसैगरी, नगरा बजाउने ५४ वर्षे रामकुमार राई अनि मादल ठोक्ने ४५ वर्षीय महाप्रसाद।
नरसिङ्गा बजाउने ७२ वर्षे हर्कबहादुर राई चाहिं नेगियर, अर्थात् परम्परागत नौमती बाजा समूहको नाइके।
धुन विचार गरेर ढोलकी ठोक्ने सटेन्द्र राई कसैले रुमालमा राखिदिएको दक्षिणा उभिण्डो परेर हातले नछोई मुखले टिप्न घरी–घरी बजाइरहेको बाजा बिसाउँछन्।
यी २० वर्षे तन्नेरी नाच्न पनि तम्सिहाल्छन्।
एउटै गाउँका दाजु–भाइ, काका–भतिज र नाति–बाजेसम्मको साइनो पर्ने कोयु राईहरूको यो समूह अढाइ वर्ष अघि बिहे उठाउने नौमती टोली नपाएपछि जन्मिएको हो।
नौमतीवादक बूढा–पुराना दर्जीहरूका हातपाउ बसे, तन्नेरीहरू कमाउन परदेश गए।
“गाउँघरमा रहेका एक्कादुक्काले नौमतीमा हातै हालेनन्, खाँचै परेपछि मतो मिलाएर आफैं घाँटी फुलाउन थाल्यौं”, सहनाईमा सिपालु भएका बहादुरमान राई भन्छन्, “हामी त यो क्षेत्रको राई–दमाई पो भयौं है!” राईहरूको तीनथुम्की नौमती बाजा कलाकेन्द्रले डेढलाख रुपैयाँमा बाजागाजा र पहिरन जुटाएको छ।
समूहले गाउँभित्रकै शुभकार्यमा रु.५ हजार र बाहिर दुरी हेरी रु.२० हजारसम्म लिन्छ। अढाइ वर्षमा इलाम र पाँचथरका ३५ बिहे उतारेको बहादुरमानले बताए।