ब्लगमंगलबार, फाल्गुण २६, २०७१
बाबुरामकाे दिल्ली यात्राः खुला आत्मसमर्पण
एनेकपा (माओवादी) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा दिल्ली भ्रमणमा व्यक्त विचारले यतिबेला नेपाली राजनीति तरंगित बनेको छ।
‘अर्को द्वन्द्व हुन नदिन र नेपालको राजनीतिक समस्या समाधान गर्न भारतले फेरि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने’, ‘नेपालका सबै राजनीतिक दल एकठाउँमा ल्याउन भारतले सहयोगी र सिर्जनात्मक वातावरण बनाउन सहयोग गर्नुपर्र्ने’, र ‘१२ बुँदे समझ्दारीको शुरुआतदेखि साथ दिंदै आएको भारतले नेपालको अवरुद्ध शान्ति प्रक्रिया फुकाउन पनि उस्तै सद्भाव राख्नुपर्ने’ जस्ता भट्टराईका विवादास्पद अभिव्यक्तिले देशभक्त नेपाली दुःखित र आक्रोशित बनेका छन्।
भारतीय हस्तक्षेप खुला आमन्त्रण गरेर उनले नेपालीको नूर गिराएका छन्। एमाओवादी र आफ्नो संदिग्ध चरित्र पुनः प्रदर्शन गरेका छन्।
भारतका ‘खेलाडी’
नेपालको राजनीतिक समस्या नेपाली जनता र राजनीतिक दलहरूले समाधान गर्ने हो। निर्वाचन, जनमतसंग्रह वा जनआन्दोलन यसका माध्यम हुन्। यी परिवर्तनका माध्यम प्रयोग गरेर जनताले पटक–पटक भूमिका स्थापित गरेका छन्।
लोकतन्त्रको लागि नेपाली जनताको संघर्ष र संकल्पलाई विश्वले नै प्रशंसा गरेको छ। तर, जनताले निर्वाचित गरेका दलहरूले भने जनआकांक्षा पूरा गर्न सकेका छैनन्। उनीहरू बारम्बार असफल बनेका छन्। असफल नेताहरू जनतासामु राष्ट्रियता र स्वाभिमानका चर्काचर्का व्याख्यान दिन्छन् अनि तिनैलाई बिर्सेर विदेशीसामु टाउको निहुर्याउँछन्।
‘बाबुराम भट्टराईको राष्ट्रियता शंकास्पद रहेको’ भनेर पहिलोपटक जनसमक्ष ल्याउने अरू कोही नभई एमाओवादी नेताहरू नै हुन्। उनीहरूले सार्वजनिक रूपमै भट्टराईमाथि भारतपरस्तको आरोप लगाएका थिए। भारत सरकारले पनि मोहन वैद्य र सीपी गजुरेल जस्ता भारतीय हस्तक्षेपको विरोध गर्दै आएका माओवादी नेतालाई पक्राउ गरी वर्षौं थुनामा राखेको तर बाबुराम र पुष्पकमल दाहालहरूलाई आफ्नो भूमिमै सुरक्षा दिएको कुरा अब नौलो रहेन।
एकातिर वैद्य र गजुरेल थुन्ने र अर्कातिर भट्टराई मार्फत दाहाललाई कमजोर गराउँदै १२ बुँदे सहमति मार्फत नेपाली राजनीतिमा सोझो हस्तक्षेप गर्ने भारतीय रणनीति नै रहेछ भन्ने अहिले प्रष्ट भएको छ।
यसले भट्टराईलाई प्रधानमन्त्री बनाउन र उनी मार्फत बिप्पा सन्धि गराउन सफल भारत नेपाली राजनीतिमा उनको उपयोगिता कायमै राख्ने मनसायमा देखिन्छ भने भट्टराई पनि भारतको समर्थनमा एमाओवादीभित्र र नेपाली राजनीतिमा प्रभावकारी भूमिका स्थापित गर्ने स्वार्थमा लागेको स्पष्ट छ। दिल्ली भ्रमणमा व्यक्त विचारले उनको भारतीय आत्मसमर्पणवादी रूप छर्लङ्ग भएको छ।
यतिबेला नेपालको संविधान निर्माण प्रक्रिया अवरुद्ध छ। एमाओवादी र तराईका केही दल यसमा जिम्मेवार छन्। र, भट्टराई गतिरोध उत्पन्न गराउन भूमिका खेल्नेमध्येका एक प्रमुख नेता हुन्।
गतिरोध चर्काउन एमाओवादीभित्र पनि उनकै भूमिका बढ्ता देखिन्छ। आफैं सभापति रहेको संविधानसभाको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको दायित्व पूरा नगर्ने पनि स्वयं भट्टराई नै हुन्।
गतिरोधका सर्जक उनी आफैंले गतिरोध फुकाउन भारत गुहार्नुलाई आत्मसमर्पणवादी चरित्र मान्न सकिन्छ। क्षुद्र स्वार्थ र कुण्ठा पूरा गराउन नेपालका राजनीतिक नेतृत्व कतिसम्म स्वाभिमान गुमाउन तयार हुन्छन् भन्ने उदाहरण पनि हो, यो। यसले एमाओवादीमा हुर्कंदै गएको तावेदारी र पराश्रयी चिन्तनको संकेत पनि गरेको छ।
जब जनता, पार्टीको नीति तथा कार्यक्रमप्रति आस्था समाप्त हुँदै जान्छ, जब आफैं र पार्टीको शक्तिमाथि विश्वास गुम्दै जान्छ र जब देशभक्ति र स्वाभिमान सकिंदै जान्छ, त्यसबेला नेताहरू विदेशीसामु झुक्न थाल्छन्। अहिले भट्टराई, दाहाल र मधेशकेन्द्रित दलका नेता त्यही गरिरहेछन्।
दिल्ली भ्रमणमा रहेका भट्टराईलाई नेपालका लागि पूर्व भारतीय राजदूत श्यामशरणले ‘राष्ट्रभक्त’ नेताको उपमा दिए। श्यामशरणको यस्तो पगरी बडो रोचक र अर्थपूर्ण लाग्छ। जसलाई नेपाली जनताले राष्ट्रभक्त देख्छन् ऊ दिल्लीको दृष्टिमा जहिल्यै भारतविरोधी हुन्छ अनि जसलाई नेपाली जनताले भारतभक्त देख्छन् उसलाई दिल्ली जहिल्यै ‘राष्ट्रभक्त’ देख्छ। यो त दिल्लीको परम्परागत अवधारणा नै हो।
नेपाल फर्क!
युरोप र दक्षिणी छिमेकी आफ्नो विचार बोक्ने राजनीतिक दल, नेता र व्यक्ति नेपाली राजनीतिमा बलियो होउन् भन्ने चाहन्छन्। हाम्रै कतिपय नेतामा पनि विदेशी रिझाएर पद, पैसा र अवसर खोज्ने प्रवृत्ति छ।
भारत भ्रमणका क्रममा भट्टराईले राजनीतिमा देखा पर्न थालेका यिनै विकृति उदाङ्गो पारेका छन्। आफ्ना जनता रिझाएर सत्तासीन हुने अठोट गर्नुभन्दा भारतले मधेशकेन्द्रित दलको समर्थन दिलाइदिन्छ भन्दै दलहरू दिल्ली रिझाउन खोज्छन्। झ्नै कतिपय मधेशकेन्द्रित दलका नेताहरू त काठमाडौंस्थित भारतीय दूतावासकै सेरोफेरोमा घुमिरहेका भेटिन्छन्। यी नेता निर्वाचन हार्दा समेत आफू हैन भारत हारेको भन्छन्।
दोष हाम्रै नेताहरूको हो। आफ्नो लाज छोप्न नजान्ने, स्वाभिमान जोगाउन नसक्ने नेताहरूकै कारण विदेशीले हस्तक्षेपको मौका पाउँदै आएका छन्। बारम्बारको विदेशी हस्तक्षेपले नेपालको जनमत आक्रोशित हुन थालेको छ। दलहरूभित्र नै यस्तो हस्तक्षेप विरुद्ध चर्को आवाज उठ्न थालेको छ।
संविधानका विवाद सल्ट्याउने निहुँमा विदेशी दूतहरूको सक्रियतामाथि चर्को आलोचना हुन थालेपछि यस्तो गतिविधि सुस्ताउन थालेको थियो। तर, भट्टराईको अभिव्यक्तिले राजनीति झ्न् बिथोलिने सम्भावना बढेको छ।
जनतालाई दिल्ली, बेइजिङ र वासिंगटनतिर हेरेर त्यहाँको ताप र राप बुझेर चल्न खोज्ने दल र नेता होइन, स्वदेशकै हिमाल, पहाड र तराईका जनभावना बुझने नेता चाहिएको हो। नेपाल र नेपालीप्रति प्रतिबद्ध दल चाहिएको हो।
आफू प्रधानमन्त्री हुँदा सहमति तोडेर संविधानसभालाई विघटन गर्ने, दुईतिहाइले संविधान बनाउने विश्वकै प्रचलन मान्दिनँ भन्दै विदेशी हस्तक्षेपको माग गर्ने अलोकतान्त्रिक र रुन्चे नेता होइन।
आज भट्टराईको भनाइको आलोचना गर्नेले उनकै स्वरमा स्वर मिलाउने कुनै पनि दलका नेतालाई जनताले बाँकी राख्ने छैनन्। नेपालका केही नेताका मन र व्यवहारमा जुन विदेशभक्ति देखिन्छ, त्यो नै विदेशी हस्तक्षेपको कारण हो। त्यसैले यतिबेला विदेशीको आलोचना गर्नुभन्दा नेपाली जनता र भूमितिर फर्केर स्वाभिमान कायम राख्नु महत्वपूर्ण हुनेछ। भट्टराई त चुके चुके, अरू चुक्नुहुँदैन।
साप्ताहिक खबरपत्रिका हिमालबाट