रमझमबिहीबार, फाल्गुण २८, २०७१
धुन खोज्दै २५ देश
-स्टेफन हुइट
काठमाडौं, बौद्धका मनोज सिंहले आठ वर्षको छँदा मध्यरातमा सुरिलो बाँसुरीको धुन सुने। सुनिरहुँ लाग्ने त्यो धुन उनले फेरि कहिल्यै सुनेनन्। तर, त्यही धुनले उनलाई बाँसुरीवादक बनायो।
कुनै बेला उनी पशुपति, बौद्ध जस्ता धार्मिक स्थलमा गई घण्टौं बाँसुरी बजाउँथे। रेडियो नेपालमा सुनेका धुनलाई बाँसुरीमा उतार्ने प्रयत्न गर्थे।
पछि, मदनदेव भट्टसँग बाँसुरीवादनको औपचारिक ज्ञान पनि लिए। सुकर्म समूहदेखि ज्याज ब्यान्ड कडेन्जासँग पनि काम गरे। यसबीच उनले ‘इन्साइड नेपाल’, ‘तरंग’, ‘रिल्याक्सेसन् अफ नेपाल’ जस्ता अल्बम पनि निकाले। बाँसुरीवादनमा डिप्लोमा पनि सिध्याए।
२० वर्षको उमेरमा सन् १९९८ मा पहिलोपटक विदेश गएका सिंह पप संगीतको धुरन्धर प्रशंसक भएर निस्किए।
तर, जब द डुअर्स ब्यान्डका जोन डेन्समोर जस्ता विश्वविख्यात गायक समेत पूर्वीय संगीतबाट प्रभावित भएको थाहा पाए, उनलाई आफ्नै संस्कृतिप्रति गर्व लाग्यो। “पश्चिमेलीले खोजेका धुन त मैले केटाकेटी छँदै अभ्यास गरेको पो रहेछु”, दक्षिण अमेरिकाको भ्रमण सकेर क्यालिफोर्निया पुगेका उनी भन्छन्।
सिंह अहिले देशभन्दा विदेशका कार्यक्रममा सक्रिय छन्। रुसदेखि ब्राजिल र इजरायलदेखि अस्टे्रलियासम्म बाँसुरीको धुन गुञ्जाइरहेका हुन्छन्। तर, उनी पेरु पुग्दा रोमाञ्चित हुन्छन्। “त्यहाँको भूगोल, संस्कृति, संगीत र विशेष गरी बाँसुरी नेपालकै जस्तो छ”, उनी भन्छन्।
अहिले उनी प्राकृतिक धुन समेटिएको सोलो अल्बमको तयारी गरिरहेका छन्। यसका लागि ग्रीसको आँधीबेहरीदेखि कोस्टारिकाको सन्नाटा र अस्टे्रलियाका चराको आवाज कैद गरेका छन्। र, खोजिरहेछन्, त्यही हराएको धुन, जुन २५ वटा देश घुम्दा पनि भेटेका छैनन्।