टिप्पणीबिहीबार, फाल्गुण २८, २०७१
मधेशी महिलाका छुट्टै व्यथा
समग्र मधेशी महिलाको अवस्थाको कुरा गर्नुअघि म आफ्नै भोगाइ भन्न चाहन्छु। हुनत परिवारकै साथले म यहाँसम्म आइपुगेकी हुँ।
तर, घरबाहिर निस्केपछि पाइला पाइलामा अप्ठ्यारा भोग्नु पर्यो। महिलाले पनि काम गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्नु नै मेरा लागि पहिलो चुनौती बन्यो।
त्यसमा पनि मधेशी र मुस्लिम हुनुको पीडा छुट्टै छ। पुरुषलाई सक्षम हुन पुरुष भए पुग्छ तर महिलाले काम गरेरै देखाउनुपर्छ। पत्रकारितामा हुँदा होस् वा अधिवक्ताको रूपमा काम गर्दा; यस्ता थुप्रै समस्या भोगें, जहाँ महिला भएकै कारण मेरो क्षमतामाथि विश्वास गरिएन।
१४ जेठ २०६७ मा राष्ट्रिय महिला आयोगको सदस्य भएदेखि अहिले राष्ट्रिय मानवअधिकार आयोगको सदस्य हुँदासम्म पनि मैले त्यस्तो विभेदको सामना गरिरहेकी छु। योभन्दा ठूलो विडम्बना के हुन सक्छ? अहिले पनि मेरो स्थान होइन, कमजोर मुस्लिम महिला भनेर व्यवहार गरिन्छ।
प्रहरीदेखि सरकारका उच्चतहका पुरुष कर्मचारीले गर्ने व्यवहार निकै अत्यासलाग्दो छ। आयोगकै कर्मचारीले पनि पुरुष सदस्य र महिला सदस्यसँग गर्ने व्यवहारमा निकै अन्तर छ। जति जति ठूलो र महत्वपूर्ण स्थानमा पुग्यो, समस्या र विभेदको पर्खाल उति नै अग्लो पाएकी छु। पुरुषको सोचमा परिवर्तन आएकै छैन।
मधेशी महिलाको समस्या घरबाटै शुरू हुन्छ। सामाजिक, सांस्कृतिक जटिलता त कुरै छाडौं। बिहे गरेर अर्काको घरमा जाने हो थोरै पढाउँदा पनि हुन्छ भन्ने अभिभावकको मानसिकतामा सुधार आएको छैन।
गाउँमा शिक्षाको पहुँच पुग्न सकेको छैन। छोरीलाई विद्यालय नपठाउने घरमा जनचेतनासँगै आयआर्जनको व्यवस्था गर्नुपर्छ। छात्रवृत्तिले मात्र छोरी विद्यालय जान सक्ने अवस्था छैन।
राजनीतिमा सक्रिय दुई–चार जना महिला हेरेर मात्र भएन, समग्र महिलाको अवस्था कमजोर नै छ। पहाडी जनजाति, दलित महिलाको तुलनामा मधेशी महिला निकै पछि छन्। जनचेतनामा केन्द्रित अधिकांश कार्यक्रम पहाडकेन्द्रित छन्। मधेशी महिलाका मुद्दा ओझेलमा पर्नुको कारण समग्र एकैखाले कार्यक्रमले सबैलाई समेट्न खोज्नु हो।
त्यसैले दलित र मुस्लिम महिलाको हितमा छुट्टै कार्यक्रम ल्याउनुपर्दछ। महिलालाई घरबाहिर र घरभित्रै सुरक्षित महसूस गर्ने वातावरण बनाउनुपर्छ। असुरक्षाको भावनाले त केही गर्नै सकिंदैन। शिक्षा, स्वास्थ्य, सीप र उत्पादनका समावेशी कार्यक्रममा जोड दिनुपर्दछ। महिलालाई सम्पत्तिको अधिकार दिइनुपर्छ, जसले महिला हिंसा कम गराउँछ।
दाइजोसँगै महिलाको चरित्रमा लाञ्छनाको समस्या झ्नै विकराल छ। एकल महिलामाथि लाञ्छना लगाई घरनिकाला गर्ने समस्याका कारण थुप्रै मधेशी महिला घरबारविहीन भएका छन्। मुस्लिम महिलाको अर्को ठूलो समस्या तलाक पनि हो।
शिक्षितको नाममा जग्गा राख्ने चलन आए पनि आम मधेशी महिला यसबाट बञ्चित नै छन्। कर छल्नको लागि महिलाका नाममा व्यापार सञ्चालन गरे पनि त्यहाँ महिलाको पहुँच पुगेकै छैन।
हरेक राजनीतिक आन्दोलनमा महिलाले हातमा हात दिन्छन् तर आन्दोलन सफल भएपछि पुरुषवादी सोच हावी हुन्छ। देखाउनका लागि राखिएका एक–दुई जना महिला पनि निर्णायक तहमा हुँदैनन्।
अर्कोतर्फ आर्थिक अभावकै कारण महिलाले चाहेर पनि निर्वाचन लड्न सक्दैनन्। पछिल्लो मधेश आन्दोलनबाट मधेशी महिलाले ठूलो आशा राखेका थिए। तर, त्यसले पनि हाम्रो समस्या सुनेन।
(अन्सारी राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य हुन्।)
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
