थप समाचारशुक्रबार, फाल्गुण २९, २०७१
महामारी छैन स्वाइन फ्लुको
-मीना शर्मा
बिरामी भएर राजधानीको मोडेल अस्पतालमा भर्ना भएकी एक महिलाको १७ फागुनमा स्वाइन फ्लु (एचवनएनवन भाइरस) का कारण मृत्यु भएपछि यसको त्रास नेपालमा ह्वात्तै बढ्यो।
आम रूपमा स्वाइन फ्लु भन्ने गरिएको एचवनएनवन भाइरसबाट भारतमा करीब नौ सयको मृत्यु र १५ हजारभन्दा बढी संक्रमित भएको खबरले पनि नेपालमा सन्त्रास बढाएको छ। गुजरातका स्वास्थ्य राज्यमन्त्री शंकर चौधरी र बलिउड अभिनेत्री सोनम कपुर समेतलाई एचवनएनवन संक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
त्रास कतिसम्म भयो भने छात्रछात्रामा छट्पटाएर ढल्ने लक्षण देखिएपछि स्वाइन फ्लुको आशंकामा गोरखाको वीरेन्चोकस्थित रत्नराज्य उमावि बन्द नै गरियो। तर, ती छात्रछात्रालाई स्वाइन फ्लु लागेको पुष्टि भएन।
गत वर्ष २३ पुसमा राष्ट्रिय योजना आयोगका तत्कालीन सहसचिव भवकृष्ण घिमिरेको स्वाइन फ्लुकै कारण उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको थियो। त्यस वर्ष स्वाइन फ्लुको कारण नेपालमा १८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। सन् १९१८ मा पहिलो पटक अमेरिकामा स्वाइन फ्लु फैलिएको थियो। त्यसबेला यसको संक्रमणबाट विश्वभर एक करोड जनाको मृत्यु भएको मानिन्छ।
शुरूमा सुँगुरबाट फैलिएको ठानेर नाम नै स्वाइन फ्लु राखिएको एचवनएनवन भाइरस अब सबै ठाउँको रैथाने भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनी बताउँछन्। उनका अनुसार एचवनएनवन भाइरस मधुमेह, फोक्सो, मुटु, मिर्गाैला सम्बन्धी रोग लागेका तथा बालबालिका, वृद्धवृद्धा, सुत्केरी वा अन्य कारणले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा चाँडै संक्रमित हुन्छ।
समयमै उपचार गरेमा निको हुने यो भाइरसको संक्रमण भए/नभएको जाँच्ने सुविधा नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा मात्र छ। स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल र अन्य सुविधासम्पन्न अस्पतालहरू समेतबाट रक्त नमूना संकलन गरी टेकू ल्याउने व्यवस्था मिलाएको छ।
डा. मरासिनीका अनुसार यस वर्ष टेकू प्रयोगशालामा परीक्षणका लागि आएका ३०० नमूनामध्ये ५८ मा एचवनएनवन पोजिटिभ पाइएको छ, जसमध्ये ६ जना चितवनका र एकजना कैलालीका छन्। उनीहरूमध्ये धेरैजसो स्वस्थ भएर फर्किसकेका छन्।
चिसो र मनसुनका बेला बढी सक्रिय हुने एचवनएनवन भाइरस अरू बेला उति नदेखिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. गीता शाक्य बताउँछिन्। डा. मरासिनीले चैत लागेर तापक्रम बढेसँगै संक्रमण घट्ने बताए। उनका अनुसार, काठमाडौंको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसभन्दा बढी हुँदा एचवनएनवनको संक्रमण भएको पाइएको छैन।
पाँच वर्षमुनिका बालबालिकालाई वर्षमा ६ पटकसम्म र ठूला मानिसलाई दुईदेखि चार पटकसम्म रूघा लाग्नु सामान्य भएकाले रूघा लाग्दैमा स्वाइन फ्लु भनेर नडराउन डा. मरासिनीको सुझाव छ।
एचवनएनवन लगायत अन्य रोगको संक्रमणको सम्भावना जहिले पनि हुने भएकाले आवश्यक सावधानी भने सधैं अपनाउनुपर्ने उनको भनाइ छ। “एचवनएनवन यहाँको रैथाने भैसकेकाले कुन बेला सक्रिय हुन्छ भन्न सकिंंदैन तर चिसो मौसम र पानी परेका बेला यसको संक्रमण बढेको पाइएको छ”, डा. मरासिनी भन्छन्।
ललितपुर, जावलाखेलस्थित सम्यक् डाइग्नोस्टिक प्रालिका अध्यक्ष डा. केयुर गौतमका अनुसार, अहिले नेपालमा देखिएको एचवनएनवन संक्रमण महामारी भने होइन। रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू सजग हुनै पर्ने, तर आत्तिनुपर्ने अवस्था नभएको उनले बताए। अन्य फ्लु (श्वासप्रश्वास सम्बन्धी संक्रमण) बाट बच्न गरिने उपायले स्वाइन फ्लुबाट बच्न सकिने डा. गौतम बताउँछन्।
अमेरिकी स्वास्थ्य पत्रिका मेडिसिन नेट का अनुसार सन् २००९ मा फिलिपिन्समा फैलिएको स्वाइन फ्लु संक्रमितमा मृत्युदर १० प्रतिशत थियो भने अहिले भारतमा ६ प्रतिशत देखिएको छ। भारतकै उदाहरण हेर्दा, संक्रमित व्यक्तिसँग निकट रहेर काम गरेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र कुपोषितहरूमा यो रोग बढी लागेको देखिएको गौतमले बताए।
२००९ मा मेक्सिकोबाट अमेरिका र युरोप हुँदै स्वाइन फ्लु विश्वका धेरै भागमा फैलिएको थियो। त्यसबेला विश्व स्वास्थ्य संगठनले एचवनएनवनको ‘महामारी’ फैलिएको घोषणा गरेपछि संक्रमण रोक्न विश्वभर ‘हात धुने दिवस’ मनाउन थालिएको थियो।
साप्ताहिक खबरपत्रिका हिमालबाट