ब्लगशनिबार, फाल्गुण ३०, २०७१
मजलिसको आँखा–१०, लाजिम्पाट दरबार–शंकरहोटेल
अचेल हामी जेलाई ‘लाजिम्पाट’ भन्दछौं त्यसलाई १९०० सालतिर अंग्रेजीमा ‘लजिङ्ग पार्ट’ भनिंदोरहेछ। अथवा भनूँ, त्यस गाउँलाई ब्रिटिश लिगेसनमा बस्ने ‘साहेबहरू’ ले आफ्ना कामदार, काम गर्ने नेपालीहरू बस्ने ठाउँका अर्थमा त्यसो भन्दारहेछन्।
वास्तवमा चाहिं थापाहरू बस्ने क्षेत्रलाई ‘थापाथली’ भने झैं त्यस इलाकामा केही पाँडेहरू बसोबास गर्ने हुनाले त्यसलाई पाँडेथली या पाँडेगाउँ भनिन्थ्यो अरे! हुन पनि प्रशस्त जमीन ओगटेर रणजङ्ग पाँडेका भैयाद कपर्दार वीरकेशर पाँडेले त्यहाँ एउटा निकै ठूलो भवन बनाएछन्।

वि.सं. १९४२ पछि वीरशमशेरले भाइ जीतशमशेरका लागि बनाइदिएको लाजिम्पाट दरबार, दक्षिण मोहडा।
१९०३ सालको कोत पर्वमा वीरकेशर पाँडे मारिए। पाँडेहरूको पतनपछि विस्तारै यो ‘लाजिम्पाट’ नै हुनपुग्यो। अंग्रेजीको ‘लजिङ्ग’ लाई ‘लाजिम’ र ‘पार्ट’ लाई ‘पाट’ बनाए नेपालीहरूले! अनि गाउँलेले वीरकेशरको त्यो भव्य भवनलाई पनि लाजिम्पाट दरबार भन्न थाले।
वास्तवमा त्यो भवनलाई दरबार भन्नुहुँदैनथ्यो परम्परा अनुसार। तर वरिपरि भएका झुप्रा र काँचा ईंटका सानासाना घरका अगाडि ठडिएको उनको त्यो ठूलो घर ‘दरबार’ जस्तै देखियो होला र गाउँलेहरूले त्यसलाई दरबार भन्न थाले होलान् भन्ने अनुमान गरौं।
वीरकेशरको हत्यापछि कसरी हो, त्यस भवनको स्वामित्व पाँडेहरूबाट थापाहरूमा सरुर्यो । निकै वर्ष ‘काजीमामा’ त्रिविक्रमसिंह थापाले यस भवनमा रजाइँ गरे।
१९३१ सालमा त्रिविक्रम थापालाई जङ्गबहादुरले काशीवासमा पठाइदिएपछि केही वर्ष यो भवन बेवारिसी अवस्थामा पुगेको थियो भन्ने बुझिन्छ। तर १९४२ मा काका रणोद्दीपसिंहलाई मारेर तीनचाँदे श्रीपेच आफूले पहिरेपछि नेपालको सर्वेसर्वा भएका वीरशमशेर महाराजले किन हो वीरकेशरले बनाएको त्यो भवन पूरै भत्काउन लगाए र त्यस जग्गामा, उनका मन परेका वास्तुकलाविद् (इन्जीनियर) ‘भाजुमान’ जोगलाल स्थापितलाई लगाई आफ्ना भाइ जीतशमशेरका लागि एउटा ठूलो भवन निर्माण गर्न लगाए।
‘घोडा समेत छिर्न सक्ने’ भन्ने प्रख्याती पाएको अग्लो तला भएको त्यस भवनलाई सौखिन जीतशमशेरले अझ् सिंगारपटार गरी झन् राम्रो र भव्य बनाएका थिए। त्यसै हुँदा दुनियाँले त्यस भवनलाई पनि ‘लाजिम्पाट दरबार’ नै भन्न थाले।
तर जीतशमशेर निःसन्तान थिए। १९७० सालमा उनको निधन भएपछि यो दरबार फेरि अपुतालीमा पर्यो । तर जीतशमशेर आफ्नो सानो भाइ जुद्धशमशेरलाई खूब माया गर्थे। आफ्नो सेखपछि त्यो दरबार जुद्धले पाओस् भन्ने जीतको इच्छा थियो भन्ने बुझेकाले चन्द्रशमशेरले यो दरबार जुद्धशमशेरलाई नै दिलाइदिए।
हुन पनि, महाराज चन्द्रलाई समेत ती कान्छा भाइ जुद्धशमशेर मन परेका थिए। ‘धेरै तिकडम नगर्ने, सोझो प्रकृतिको छ जुद्ध’ भन्थे रे उनी। त्यसमा पनि सम्पत्ति कम र सन्तान धेरै भएकाले जुद्धशमशेर आर्थिक हिसाबले अलि कमजोर छ भन्ने पनि परेको थियो उनलाई।
केहीपछि त जुद्धशमशेर स्वयं श्री ३ बनिहाले। उनले पनि आफ्ना सबै छोराहरूलाई घरजग्गा बाँड्दै र घर बनाउँदै दिंदै गर्न थाले। त्यस क्रममा उनले यो लाजिम्पाट दरबार चाहिं आफ्ना काइँला छोरा जनरल अग्निशमशेरलाई बकस दिए उनको अंशभाग स्वरूप।

पछि बनेको शंकर होटेल।
२०३५ सालमा जनरल अग्निशमशेरको मृत्यु भएपछि यो लाजिम्पाट दरबारको फेरि अंशबण्डा भयो। अग्निशमशेरका धेरै छोरा थिए, विवाहित तथा अविवाहित पत्नीहरूबाट गरी। अंश त सबैले पाउने नै भए।
वीरकेशर पाँडेले प्रशस्त जग्गाजमीन जोडिदिएकै थिए दरबार वरिपरि। पछाडिका जग्गाहरू पाए अरू छोराहरूले। मूल दरबार र अगाडिको जग्गा भने तीन जनाका भागमा परेछन्, मुकुन्द, वैकुण्ठ र केशवशमशेरको।
केशव व्यापार गर्दथे। एक चोटि यिनले नेपाली सेनालाई चाहिने केही रासनको ठेक्का लिएका थिए। भारतले नेपालमाथि नाकाबन्दी लगाएको समय परेछ, केशवलाई ठेक्कामा ठूलै घाटा लाग्यो र त्यसबाट उम्किन उनलाई पैसा चाहियो।
आफूसँग नगद नभएर उनले आफ्नो घरजग्गा साहू रामशंकर श्रेष्ठसँग धितो राखी कर्जा लिए। तर समयमा कर्जा तिर्न सकेनन्। नसकेपछि साहूले घर कब्जा गर्ने नै भयो। साहू रामशंकरले पनि त्यही गरे। उनले घरजग्गा आफ्ना नाममा नामसारी गराइहाले।
लाजिम्पाट दरबारको अगाडिको भाग आफ्नो स्वामित्वमा आइसकेपछि रामशंकरले वरिपरिका घरजग्गा पनि अरू अंशियारहरूबाट खरीद गर्दै गए। अनि उनले त्यस भवनलाई आधुनिक पारामा ‘रिनोभेट’ गर्न लगाए र ‘शङ्कर होटेल’ खडा गरे।
त्यो शङ्कर होटेलले लाजिम्पाटको मुहारै फेरिदियो भने हुन्छ। किनभने यस होटेलले नाम कमाएपछि त्यो क्षेत्र नै विश्वविख्यात भयो अनि त्यस इलाकामा राजदूतावास, होटेल र रेस्टुराँहरू भटाभट खुल्न थाले।
हुँदाहुँदा दुईसय वर्षअघिको यो ‘पाँडेथली’ त ऐले नेपालको सम्भ्रान्त–थली पो हुनपुगेको छ!
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
