थप समाचारआइतबार, चैत्र १, २०७१
नेपालीले पत्ता लगाइन् ल्यूकेमिया क्यान्सरकोे नयाँ जीन (अन्तर्वार्ता सहित)
नेपाली विद्यार्थी सेवा रिजालसहितकोे टोलीले रक्त क्यान्सर (ल्युकेमिया) भएका विरामीमा नयाँ जीन पत्ता लगाएको छ ।
अष्ट्रेलियाको मेलवर्नस्थित मोनास विश्वविद्यालयमा विद्यावारिधी अध्ययनरत् रिजाल टोलीले क्यान्सरको उपचारका लागि गरिने केमोथेरापीलाई निष्प्रभावी बनाउने आइएनपीपी फोर बी जीन पत्ता लगाएको हो ।
रक्त क्यान्सरका अधिकांश विरामीहरुमा केमोथेरापीले कुनै काम नगर्ने भए पनि त्यसको कारण अहिलेसम्म पत्ता लागेको थिएन ।
रिजालको पीएचडी थेसिस नै आइएनपीपी फोर बी सम्बन्धी अनुसन्धानमा आधारित छ ।
मोनास विश्वविद्यालयबाट बायोमेडिकल साइन्समा स्नातकोत्तर गर्नुअघि रिजालले काठमाडौंको बुढानिलकण्ठ स्कुलबाट ए लेभल उत्तिर्ण गरेकी हुन् । त्यसपछि उनले मोनासमै मेडिसिनमा विद्यावारिधीको अवसर पाइन् ।
आइएनपीपी फोर बी जीन बारेको उनको खोज प्रसिद्ध मेडिकल जनरल ‘द ब्लड’ मा पनि प्रकाशित भएको छ । रिजालका अनुसार उनको यो उपलब्धीले वैज्ञानिकहरुलाई केमोेथेरापीको विकल्प खोज्न सहयोग पुर्याउने छ ।
उपचारको प्रभाव रोक्ने जीन पत्ता लाग्नु झ्वाट्ट सुन्दा नराम्रो खबर जस्तो सुनिएपनि क्यान्सरको सफल उपचारका लागि नयाँ सम्भावना देखिएको रिजालको भनाइ छ ।
“यो जीनले केमोथेरापीलाई कसरी निष्प्रभावी बनाउदोरहेछ भन्ने अध्ययन् गरिरहेका छौ । यसमा सफलता हासिल गरेपछि ल्युकेमिया विरामीको उपचारको बाटो खुल्ने छ,” रिजाल भन्छिन् ।
रिजालसँग साहिना श्रेष्ठले गरेको कुराकानीः
आइएनपीपी फोर बी जीन पत्ता लागेपछि कस्तो अनुभव गर्नु भएको छ ?
यो खोज केही दिनमै गर्न सकिने खालको होइन । हामीले ५ वर्ष कडा मेहनतपछि मात्रै सफलता पाएका हौं ।
ल्यूकेमिया (धेरै जसो अवस्थामा उपचार नहुने) क्यान्सरको क्षेत्रमा नयाँ योगदान दिन पाउँदा धेरै खुशी र सन्तुष्टि पाएकी छु ।
यो उपलब्धीले ल्यूकेमियाका विरामीहरुलाई कसरी सहयोग पुर्याउला ?
यो प्रोटिन (आइएनपीपी फोर बी) ल्यूकेमियाको बायोमार्कर हो । यो पत्ता लागेपछि एक त विरामीहरुले केमोथेरापी गराएर यसको नकारात्मक प्रभाव व्यहोर्नु पर्ने छैन भने ल्यूकेमियाको उपचारमा नयाँ विकल्पहरुको खोजी शुरु हुनेछ ।
अहिले तपाइँले गरिरहेको अनुसन्धानका बारेमा विस्तारमा भनिदिनुस न?
अहिले हामी यो प्रोटिनले कसरी केमोथेरापीको प्रभावलाई रोक्छ भन्ने पत्ता लगाउन केन्द्रित भएका छौं । यदि यो पत्ता लगाउन सफल भइयो भने हामीले उक्त प्रोटिनलाई निष्प्रभावी बनाउने उपाय खोज्ने छौं र यसले एक्युट माइलोइड ल्यूकेमियाको कारण पत्ता लगाई त्यसको सफल उपचारमा मद्दत पुर्याउनेछ ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
क्यान्सरका क्षेत्रमा अझै धेरै कुरा पत्ता लगाउन बाँकी नै रहेकाले मलाई शुरुदेखि नै क्यान्सर अनुसन्धानमा रुचि थियो । मोनासमा त्यो अवसर पनि पाएँ ।
नेपाल फर्किने कुनै योजना ?
नेपालमा क्यान्सर रिसर्च शुरु गर्न सक्ने गरी अनुभव हासिल गरेपछि अवश्य नेपाल फर्कनेछु । मलाई त्यहाँ उच्च शिक्षाका क्षेत्रमा पनि धेरै काम गर्न मन छ ।
बायोमेडिकल रिसर्च नै राम्रोसँग हुन नसकेको नेपालमा क्यान्सर सम्बन्धी अनुसन्धान गर्ने संस्था स्थापना गर्न सजिलो होला र ?
यसका लागि अली लामै समय चाहिन्छ । शुरुमा वैज्ञानिक उपकरणहरुको सुविधा भएको एउटा अनुसन्धान केन्द्र स्थापना गर्ने विचार छ । काठमाडौं उपत्यकाभित्रका अस्पतालहरुबाट क्यन्सरका नमूना तन्तु संकलन गरी केन्द्रमा ल्याएर अनुसन्धानको काम अगाडि बढाउन सकिन्छ ।
मलाई लाग्छ, यसकालागि मोनास जस्ता क्यान्सरको क्षेत्रमा अनुसन्धान गरिरहेका विश्वविद्यालयहरुको सह–कार्यमा यो काम गर्नु बढी उपयुक्त हुनेछ ।
अहिले तपाइँले देखेका मुख्य चुनौतिहरु के के हुन् ?
मुख्य चुनौति भनेको त रकमकै हो । विकसित मुलुकमा सरकारले नै मेडिकल रिसर्चका लागि सहयोग उपलब्ध गराउँछ । हामीले अन्तर्राष्ट्रिय स्रोत र स्वयम्सेवी संस्थाहरुबाट आर्थिक सहयोग जुटाउनुपर्छ ।
आफ्नो सफलताको श्रेय कसैलाई दिनुहुन्छ कि ?
मेरा बुवा–आमा जसले मलाई उच्च शिक्षाका लागि सँधै हौसला दिइरहनुभयो ।
तपाइँको खोजले ल्यूकेमियाका विरामी बाहेक अरु क–कस्लाई प्रभाव पार्छ भन्ने लागेको छ ?
मेरो यो सफलताको कथाबाट प्रेरित भएर नेपालमा पनि महिलाहरुलाई उच्च शिक्षा हासिल गर्दै नेतृत्व तहमा पुग्न प्रेरणा पुगोस भन्ने मेरो चाहना हो ।