रिपोर्टसोमबार, चैत्र २, २०७१
‘शहर जसले पैसा मात्रै चिन्छ’
काठमाडौं महानगरमै एउटी यस्ती बालिका पनि छिन्, जो भरपेट खान नपाएकै कारण थला परिरहेकी छन् ।
-डम्बरकृष्ण श्रेष्ठ

दुःखमाथि दुःखः २७ फागुन साँझ काठमाडाैं टेकूस्थित डेरामा कुपाेषणग्रस्त जाेगलक्ष्मी बुबा बलबहादुर, अामा नरमाया तामाङ र भाइहरुका साथ । तस्वीरः विक्रम राई
“काम पाइएला, छोरा–छोरीलाई पढाउन सकिएला, परिवारको भविष्य राम्रो होला भनेर शहर आइयो ! तर सुखको दिन कहिल्यै आएन । यो शहरले मान्छे हैन पैसा मात्रै चिन्ने रहेछ !”
काठमाडौं, टेकूस्थित विष्णुमती किनारको एउटा पक्की घर पछाडि लस्करै बनाइएका एकपाखे घरको साँघुरो कोठामा भेटिएका काभ्रे, गोकुलेका बलबहादुर तामाङ (३५) भन्दैथिए ।
उनको कुरा नौलो थिएन, दुःख पाएका अधिकांशले भन्ने यही नै हो ।
तर, उनको जस्तो दुःख शायदै अरूले पाएका छन् । (हेर्नुहाेस् भिडियाे)
२७ फागुनमा उनको घर पुग्दा कुपोषण र क्षयरोगले ग्रस्त छोरी जोगलक्ष्मी (१३) ओछ्यानमै लडिरहेकी थिइन् ।
छोराहरू अरुण (९) र अमित (६) बुबाआमासँग खानेकुरा मागिरहेका थिए । छोरी बिरामी भएर थला परेको एक वर्ष भइसक्दा पनि राम्रो उपचार दिन नसकेकोमा बलबहादुर पछुतो गरिरहेका थिए ।
दुःखको श्रृंखला
बलबहादुर हरेक दिन बिहानै ३ बजे पर्यटकीय केन्द्र ठमेलमा फोहोर उठाउन पुग्छन् ।
यो कामबाट उनले मासिक रु.७ हजार ५०० कमाउँछन् । उनकी श्रीमती निरमाया (३५) पनि टेकूको फोहोर संकलन केन्द्रमा फोहोर प्लाष्टिक सफा गर्ने काम गर्छिन्, र महीनाको रु.४ हजार आम्दानी गर्छिन् । दम्पतीको मासिक आम्दानी रु.११ हजार ५०० हुन्छ ।
खर्चको फेहरिस्त भने लामो छ । महीनाको घरभाडामा रु.२५०० र रु.७ हजार खानेकुरामै सकिन्छ । आफूले पढ्न नसके पनि सन्तानलाई राम्रो शिक्षा दिने उनीहरुको चाहना एक गैर सरकारी संस्थाको सहयोगले पूरा भइरहेको थियो ।
स्थानीय फनिस एकेडेमीमा कक्षा चार, तीन र युकेजीमा पढ्ने छोराछोरीको शुल्क मासिक रु.४ हजार ७०० को आधा हिस्सा सो संस्थाले व्यहोर्दै आएको थियो । तर अहिले सो संस्था बन्द भएको छ र त्यसको भार पनि परिवारमा थपिएको छ ।
४ कक्षासम्म राम्रो पढिरहेकी छोरी कुपोषणको शिकार भएपछि अहिले दुई छोरा मात्रै विद्यालय गइरहेका छन् ।
आर्थिक अवस्था कमजोर भएको परिवारमा जेठी छोरी थला परेपछि भने बलबहादुरको परिवारमा दुःख माथि दुःख थपिएको छ । भन्छन्, “छोरी बिरामी भएपछि उपचार गर्न दौडाउँदा नै रु.१ लाखभन्दा बढी खर्च भइसक्यो तर केही पार लागेन ।”
माघ २०७० को एक मध्यान्हदेखि दिनहुँजसो ‘पेट दुख्यो’ भन्दै आएकी जोगलक्ष्मीले आर्थिक अभावका कारण उपचार पाइनन् ।
रोगले ग्रस्त भएपछि २ चैत २०७० मा काठमाडौंको मोडल अस्पताल नै भर्ना गर्नुपर्यो । डाक्टरले खान्की नपुगेकाले शरीर कमजोर भएको र आन्द्रामा घाउ भएको बताए ।
तामाङ दम्पतीले दुई महीनापछि छोरीलाई थापाथलीस्थित कान्ति बाल अस्पताल पुर्याए । तर निको हुने छाँट देखिएन ।
साउन २०७१ मा पाटन अस्पताल भर्ना गरिएकी जोगलक्ष्मीमा कुपोषणका साथै क्षयरोग समेत देखिएको भनियो । त्यहाँबाट उनलाई ललितपुरको सुनाकोठीस्थित न्युट्रिसन रिह्याबिलिटेसन होम ‘रिफर’ गरियो । रिह्याबिलिटेसन होम पुगेपछि जोगलक्ष्मी निकै खुशी भइन् ।
त्यहाँ उनले पेटभरी खान पाउँथिन् । तर, यो खुशीले पाँचौं दिन देख्न पाएन ।
होमले जोगलक्ष्मीको क्षयरोग र अन्य कारण देखाएर राख्न नमिल्ने बताएपछि तामाङ दम्पतीले छोरी घर फर्काए । ‘घर फर्कने दिन त्यहाँको भान्सामा खाना पाकिरहेको थियो, खानै नदिई किन ल्याएको भन्दै धेरै दिनसम्म छोरीले आमासँग गुनासो गरिरही’, बलबहादुर सम्झ्न्छन् ।
उनी भन्छन्, “चार दिनसम्म पेटभरि खान पाएर छोरी केही तंग्रिएकी थिई तर बोलिदिने कोही नहुँदा त्यहाँबाट निकालिदिए ।”
तर, सो होम सञ्चालन गर्ने नेपाल युथ फाउण्डेशनका अध्यक्ष राजु धमला बालिकामा भएको क्षयरोग अरू बालबालिकालाई संक्रमण हुनसक्ने खतरा देखिएकाले चाहेर पनि राख्न नसकेको बताए ।
छोरीको उपचारका लागि रु.१ लाखभन्दा बढी खर्च भएपछि आमा निरमाया मलेशिया जान तम्सिइन् । विदेश जाने भनेपछि आफन्तले पनि ऋण पत्याए ।
रु.१ लाख ५० हजार खर्च गरेर मलेशिया पुगेकी उनलाई तीन महीनामै स्वास्थ्य परीक्षणमा असफल भएको भन्दै कम्पनीले नै नेपाल फर्काइदियो । भन्छिन्, “छोरीलाई निको बनाउने पैसा कमाउँछु भनेर गएको ऋण बोकेर फर्कनु पर्यो ।”
अस्पतालको चक्कर लगाएर राहतको साटो ऋण सँगालेका बलबहादुरले एक हप्ताअघि छोरीलाई झरफुक गराए ।
“नहुनु जस्तो साह्रो केही रहेनछ । छोरी ठीक हुन्छे र भाइहरूसँगै फेरि स्कूल जान्छे भन्ने आश मरेको छैन”, उनी भन्छन् ।

दुःखकाे भारीः २८ फागुन विहान काठमाडाैं ठमेलमा अाफ्नाे नियमित फाेहाेर उठाउने काममा बलबहादुर । तस्वीरः विक्रम राई

दुःखकाे भारीः २८ फागुन विहान काठमाडाैं ठमेलमा अाफ्नाे नियमित फाेहाेर उठाउने काममा बलबहादुर । तस्वीरः विक्रम राई

२७ फागुन साँझ काठमाडाैं टेकूस्थित डेरामा कुपाेषणग्रस्त जाेगलक्ष्मी बुबा बलबहादुर र भाइहरुका साथ । तस्वीरः विक्रम राई
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
