रमझमसोमबार, चैत्र २, २०७१

बेजोड बौद्धिकता (पुस्तक चर्चा)

हिमालखबर

-अजित बराल
book cover newसन् १९६७ देखि १९७७ सम्म लेखिएका फुटकर आलेखहरू संग्रहित र १९७९ मा प्रकाशित प्रोफेसर मल्लको ‘द रोड टु नोव्हेर’ ले मलाई कायल पार्नुको मुख्य कारण अंग्रेजी भाषामाथि उनको पकड थियो ।

अंग्रेजी शिक्षाको राम्रो जग नबसेकोे र अंग्रेजी पुस्तकमा पहुँच सहज नभएको त्यो बेला त्यति राम्रो अंग्रेजीमा लेख्न उनले कसरी सके होलान् ? यो प्रश्नको उत्तर उनले ‘द ल्युर अफ इङ्गलिस’ निबन्धमा दिएका छन् ।

अंग्रेजी सिकाइको संघर्ष र अंग्रेजी पुस्तकप्रतिको लगावले प्रो. मल्ललाई अंग्रेजीमा उपलब्ध विशाल ज्ञानभण्डारमा पस्न सघायो, अंग्रेजी साहित्यभन्दा बाहिरका विषयहरू अध्ययन गर्न प्रेरित ग¥यो । फलतः उनको ज्ञानको क्षितिज फराकिलो र बुझाइ गहिरो भयो ।

यो किताब इन्स्टिट्युसन्स, एजुकेसन, लेटर्स, ल्याङ्ग्वेज, इन्टेलिजेन्सिया र आइडेन्टिटी गरी ६ खण्डमा विभाजित छ । यी खण्डहरूमा मल्लले पढेको ब्रिटिश विश्वविद्यालयको जीवन, त्रिभुवन विश्वविद्यालयको वर्तमान र भविष्य, तत्कालीन राजकीय प्रज्ञा–प्रतिष्ठान, नेपाली भाषा र शिक्षा, भाषाविज्ञान, पहिचान, अंग्रेजी मोह, भारतीय मूलका ब्रिटिश कवि डम मोरेको संस्मरण र केही पुस्तक समीक्षा छन् ।

यी आलेखहरू पढ्दा, पहिलो त कुनै पनि विषयलाई सन्दर्भ दिएर अनि तात्कालिक सामाजिक, बौद्धिक परिस्थितिको कसीमा पर्गेल्ने मल्लको खूबी थाहा पाइन्छ । जस्तो, योगेश्वरप्रसाद वर्माको ‘मास्टर्स एण्ड मिस्टिक्स’ पुस्तकको समीक्षा गर्दा मल्लले पहिला त्यतिखेरको बौद्धिक खोजी (इन्टेलेक्चुअल पस्र्युट) को लागि कस्तो वातावरण थियो भनेर पृष्ठभूमि दिन्छन् अनि मात्र पुस्तकको विवेचना गर्न लाग्छन् ।

त्यस्तै, ‘द इन्टेलेक्चुअल्स इन नेपाल’ मा बौद्धिकहरूको दरिद्रतामाथि टिप्पणी गर्नुभन्दा अगाडि उनले बुद्धिजीवी ( इन्टेलिजेन्सिया) उद्भवको इतिहास खोतल्छन्, बुद्धिजीवी र बौद्धिकबीचको भिन्नता प्रष्ट पार्छन् र बौद्धिक व्यक्तिहरूले नेपालमा किन आफ्नो भूमिका निर्वाह गरिरहेका छैनन्, गर्न सक्दैनन् भनेर व्याख्या गर्छन् ।

दोस्रो, उनको समालोचकीय संवेदनशीलता बेजोड छ । विषयहरूमा गहिरो दक्खलका कारण उनको समालोचना आलोचनात्मक भए पनि सन्तुलित लाग्छन् । ‘द राइजिङ नेपाल’ को पहिलो तीन वर्षको समीक्षा गर्दा होस् या राष्ट्रिय शिक्षा योजनाको मूल्यांकन गर्दा, उनले आलोचनात्मक आवाज मत्थर बनाएका छैनन् । न त उनले इफिमुजम्स (कम कठोर सुनिने शब्दहरू) प्रयोग गरेर समीक्षालाई नरम बनाउन खोजेका छन् ।

उनले आफ्नै संरक्षक, गाइड र सल्लाहकार रहेका प्राध्यापक यदुनाथ खनालको समेत आलोचना गरेका छन्– खनालको पुस्तक ‘स्ट्रे थट्स’ को समीक्षा गर्ने क्रममा मबीबी शाहको कविता ‘उसैको लागि’ माथि खनालले गरेको मनोविश्लेषणलाई शंकास्पद (डुबियस) भन्दै । पञ्चायतको उत्कर्षमा राजा महेन्द्रको कृतिमाथिको विश्लेषणलाई शंकास्पद भन्न ठूलै साहस चाहिन्थ्यो ।

जुन समयमा मल्लले लेखे, त्यसलाई ठूलो उपलब्धि मान्नुपर्छ । भर्खरै जगदम्बा प्रकाशनले निकालेको ‘द रोड टु नो ह्वेयर’ को दोस्रो संस्करणको भूमिकामा मल्लले लेखेकै छन्– ‘त्यतिखेर अंग्रेजीमा लेख्नका लागि पढ्नयोग्य कुनै पत्रपत्रिका, जर्नल थिएनन् ।

सरकारले प्रवर्द्धन गर्न चाहेको विषयहरू— राजतन्त्र, दलविहिन प्रजातन्त्र, वर्ग समन्वय, असंलग्न परराष्ट्र नीति आदिको प्रशंसा गरिएका लेखहरू मात्र प्रकाशन हुन्थ्यो ।’ तर, सच्चा ‘पब्लिक इन्टेलेक्चुअल’ मल्लले सार्वजनिक संस्था, सत्ता, शिक्षा प्रणाली, प्राज्ञ, प्राज्ञिक संस्थान आदिमाथि आलोचनात्मक लेखहरू लेखे ।

सन् १९६० र ७० को दशकको नेपालको शिक्षाको स्थिति र बौद्धिक परिदृश्यमा दृष्टि लगाउन पनि यो किताब पढिनुपर्छ ।
किताब: द रोड टु नोव्हेर
लेखक: कमलप्रकाश मल्ल
प्रकाशक: जगदम्बा प्रकाशन
पृष्ठ: ३१२+२४,
मूल्य: रु. ५००

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>