थप समाचारमंगलबार, चैत्र ३, २०७१
बीभत्स मर्मत
-तुफान न्यौपाने
भक्तपुरको न्यातपोल मन्दिरको सबभन्दा तल्लो पेटीमा ढुंगाका दुई वटा कटुवाल मूर्ति छन्।
तीमध्ये दायाँतिरको कटुवालको देब्रे गालापट्टिबाट दायाँ गालातिर चिरिंदै गएको थियो। समयमै उपचार नखोज्ने हो भने यस्तो चिरानले कटुवालको अनुहार नै फक्लक्क खसाउने चिन्ता हिमाल ले गरेको थियो (हे. http://nepalihimal.com/article/2918)।
हिमाल मा समाचार आएलगत्तै स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, भक्तपुरले रेजिन लगाएर चिरानलाई जोड्ने कोशिश गर्यो, जसले मूर्तिलाई कुरूप देखाएको छ (हे. तस्वीर)।
यो तालको बेढंगे मर्मतले नेपालमा पुरातात्विक सम्पदा संरक्षणको जिम्मेवारीबारे कुनै ज्ञानै नभएका व्यक्तिहरुलाई दिइएको जस्तो देखाएको एक जना पुरातत्वविद्ले बताए।
पुरातत्व विभागको केन्द्रीय रसायन प्रयोगशालाका राजेश सिंहले भने कटुवालको अनुहारमा धेरै चिरा नपरेकाले रेजिन मात्र लगाइएको बताउँदै आफ्नो ‘काम’ को बचाउ गरे। “धेरै चिरा परेको भए त्यो भाग नै निकालेर जोड्नुपर्थ्यो, थोरै चर्किएकाले रेजिन लगाइयो”, सिंहले भने।
लामो समय पुरातत्व विभागमा काम गरेका एक जना पुरातत्वविद् भने मर्मतको यो तरीकालाई बेढंगे भन्छन्। उनका अनुसार, पुरातात्विक सम्पदाको मर्मत जसरी मन लाग्यो त्यसरी रेजिन दलेर, पेच कसेर वा टेप टाँसेर हुँदैन।
मर्मत भएको थाहै नपाइने गरी गर्नुपर्छ, ‘फिलिङ’ गरेको देखिनुहुँदैन। उनका अनुसार, यस्ता मूर्तिलाई डिस्टिल्ड वाटरले पखालेर सुपर ग्लूमा समान प्रकृतिको ढुंगाको धूलो मिसाई चिरिएको भाग पुर्न सकिन्छ।
“माइक्रोड्रिल गरेर खिया नलाग्ने स्टीलको पेच कसेर पनि चिरा बढ्ने क्रमलाई ढिलो पार्न सकिन्थ्यो”, ती पुरातत्वविद् भन्छन्, “यस्तो कामको विशेषज्ञ सेवा दिने जनशक्ति नेपालमै छ।”
साप्ताहिक खबरपत्रिका हिमालबाट