थप समाचारबुधबार, चैत्र ४, २०७१

अस्पतालको फोहोर सीधै नदीमा

हिमालखबर

-दीपक ज्ञवाली, बुटवल

तिनाउ नदी किनारमा थुपारिएको फोहोर।

तिनाउ नदी किनारमा थुपारिएको फोहोर।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति निर्देशिका भन्छ– ‘फोहोर संकलन, ढुवानी र अन्तिम विसर्जन उपयुक्त प्रविधिबाट गर्नुपर्नेछ।’

निर्देशिकाले अस्पतालको फोहोर जम्मा गरेर कुहिने–नकुहिने छुट्याउनेदेखि विसर्जनसम्मको प्रक्रियामा डिजिटलाइज्ड उपकरण प्रयोगलाई अनिवार्य भनेको छ। स्वास्थ्य सुविधाको ‘हव’ बन्दै गरेको बुटवलका अस्पतालहरूले भने आफ्नो फोहोर तिनाउ नदीको उकास क्षेत्रमा फालिरहेका छन्।

अस्पतालबाट निस्कनेमध्ये ८० प्रतिशत फोहोर हानिकारक हुन्छ। त्यस्तो फोहोर व्यवस्थापनमा गरिने लापर्वाहीले एचआईभी/एड्स, हेपाटाइटिस लगायतका रोगको जोखिम बढाउँछ। सिरिन्ज, पञ्जा र रगत लागेका फोहोर संक्रामक रोगको महामारीको कारण बन्छन्।

तिनाउको पानीबाट सिंचाइ हुने खेतहरूमा पानीसँगै सिरिञ्ज, बोतल, शल्यक्रिया सामग्री र मानव अंगहरू पुग्ने गरेका छन्। “साह्रै गलत काम भइरहेको छ”, बुटवल उप–महानगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुईंटेल भन्छन्, “अस्पतालहरूले नगरपालिकाले व्यवस्थापन गर्ने सामान्य फोहोरमा हानिकारक फोहोर मिसाइरहेका छन्।”

बुटवलमा २० वटा अस्पताल तथा स्वास्थ्य केन्द्र र सयभन्दा बढी क्लिनिक छन्। यीमध्येे लुम्बिनी अञ्चल अस्पताल, सिद्धार्थ महिला तथा बाल अस्पताल, आम्दा लगायत केहीमा मात्र फोहोर जलाउने इन्सिनेटर छन्। तर, ती पनि पुरानो प्रविधिका, कम क्षमताका र बिग्रिएको उपभोक्ता हित संरक्षण मञ्च, बुटवलका अध्यक्ष नर्बू लामा बताउँछन्।

लुम्बिनी अञ्चल अस्पताल पछाडि नाम मात्रको इन्सिनेटर छ। त्यसको तस्वीर लिन जाँदा हातमा पञ्जा समेत नलगाएका रामबहादुर भारती रगत लागेका कपडा, कपास, सिरिञ्ज लगायतका फोहोरहरू जलाउँदै थिए। पम्पबाट मट्टीतेल पास गराएर फोहोर जलाउने इन्सिनेटरको पम्प बिग्रिएकाले आगो झोस्नुपर्ने रहेछ। अस्पतालका अध्यक्ष डा. प्रायश्चित श्रेष्ठले नयाँ व्यवस्थाबारे सोचिरहेको बताए।
बुटवल उप–महानगरपालिकाले दैनिक करीब ५० टन फोहोर संकलन र व्यवस्थापन गर्छ– शहर नजिकै तिनाउ किनारमा। त्यसमध्ये करीब एक टन अस्पतालजन्य फोहोर हुने गरेको अनुमान छ।

उपमहानगरका वरिष्ठ अधिकृत लुईंटेल अस्पतालहरूको लुकिछिपी हानिकारक फोहोर मिसाइदिएपछि सबै फोहोर खतरनाक हुने बताउँछन्। अस्पताल संचालकहरू सबै फोहोर व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने बताउँछन्। बुटवल हस्पिटल प्रालिका प्रबन्ध निर्देशक मुक्ति पोखरेल भन्छन्, “नगरपालिकाले चिकित्साजन्य फोहोर व्यवस्थापन गर्ने होइन भन्ने भ्रम फाल्नुपर्छ।”

आफ्नो फोहोर व्यवस्थापनको जिम्मा नगरपालिकाको हुने तर्क गर्ने स्वास्थ्य संस्थाहरूले सरसफाई र वातावरणीय दायित्व बुझनै नसकेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष लामाले बताए।

अस्पताल सञ्चालकहरू भने महँगो इन्सिनेटर राख्न नसकिने बताउँछन्। मेडिटेक हस्पिटल एण्ड रिसर्च सेञ्टरका प्रबन्ध निर्देशक गणेश ज्ञवाली यसमा सामूहिक पहल जरूरी देख्छन्। “सबैले मासिक शुल्क तिर्ने गरी ठूलो इन्सिनेटर राख्न सरकारी र स्थानीय पहल हुनुपर्छ”, ज्ञवाली भन्छन्।

उप–महानगरपालिकाले अस्पतालजन्य फोहोर उत्पादन गर्नेहरूलाई नै व्यवस्थापनमा जिम्मेवार बनाउन फोहोर व्यवस्थापन, अनुगमन तथा कार्बाही सिफारिश समिति बनाएको छ।

लुम्बिनी अञ्चल अस्पतालका अध्यक्ष संयोजक र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सदस्यसचिव रहेको समितिमा उपमहानगरपालिका, स्वास्थ्य संस्था, चिकित्सक र औषधि व्यवसायीहरूको प्रतिनिधित्व छ। फोहोर गर्ने वा फोहोर व्यवस्थापनमा अवरोध गर्नेलाई रु.५ हजारदेखि रु.१ लाखसम्म जरिवाना र तीन महीनासम्म कैद हुने कानूनी व्यवस्था छ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>