थप समाचारबुधबार, चैत्र ४, २०७१
‘कुले कुखुरो’
-हरिबहादुर लम्जेल, धनकुटा
सिंचाइ कुलो मर्मतमा सहयोग पुग्ने उद्देश्यले पूर्वका धनकुटा र तेह्रथुम जिल्लामा ‘कुले कुखुरो’ अभियान थालिएको छ।
यो अभियान अन्तर्गत सिंचाइ आयोजना सञ्चालन भएका गाउँका प्रत्येक उपभोक्तालेे एउटा चल्ला अनिवार्य पाल्नुपर्ने नियम बनाइएको छ। स्थानीय सिंचाइ उपभोक्ता समूहले नै उपलब्ध गराउने चल्लालाई एक वर्ष पालेपछि समितिमै फिर्ता गर्नुपर्छ। समितिले कुखुरा बेचेर आएको रकम ब्यांकमा जम्मा गरी त्यही रकम कुलो मर्मतमा खर्च गर्छ। सदस्यलाई दिइएको कुखुरा मरेमा, हराएमा पाल्नेले ठूलो कुखुराको मूल्यसरह जरिवाना तिर्नुपर्छ।
अहिले धनकुटाका तीन वटा सिंचाइ आयोजनामा ‘कुले कुखुरो’ अभियान शुरू भइसकेको छ। तीमध्ये छिन्ताङ―९ स्थित सफाईटार सिंचाइ जल उपभोक्ता समिति एउटा हो। समितिका ५२ जना उपभोक्ताले एक/एक ओटा चल्ला पालिरहेका छन्। ‘अभियानले साना लगानीमा सञ्चालित सिंचाइ आयोजनालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने’, समितिका अध्यक्ष भीमनाथ खड्का बताउँछन्।
‘कुले कुखुरो’ अभियानका परिकल्पनाकार डिभिजन सिंचाइ कार्यालय धनकुटाका प्रमुख देवराज निरौला हुन्। निरौलाका अनुसार कुलो मर्मतमा समस्या परेको बेला उपभोक्ता समितिबाटै पैसाको जोहो गर्ने उद्देश्यले यस्तो अभियान थालिएको हो। डिभिजन सिंचाइ कार्यालय अन्तर्गत धनकुटा र तेह्रथुम जिल्लामा चार दर्जन सिंचाइ आयोजना सञ्चालित छन्।
निरौलाको अनुमानमा सामान्यतः ४० देखि १२० जनासम्म उपभोक्ता हुने समितिका प्रत्येक सदस्यले कुखुरा पाल्ने हो भने समितिमा वर्षेनि न्यूनतम डेढ लाख रुपैयाँ जम्मा हुन्छ।