ब्लगशनिबार, चैत्र ७, २०७१
मजाकिया शासन
संविधानमा भत्कोस् लागे पनि २०७१ साल व्यर्थै नगएको सुनिश्चितता एउटा सुखद् संयोग बनेर आएको छ।
त्रिभुवन विमानस्थलमा टर्किस एअरको जहाज थच्चिएर नेपालले हवाई सम्पर्क विच्छेदको ऐतिहासिक रेकर्ड कायम गर्दै गर्दा सारा नेपालीले आकाशमार्ग जाम भएको नवीन अनुभव सोहोर्न भ्यायौं। पढेर होइन, देखी/भोगी टाठो बनेको यो अनुभवले हाम्रा अनेकन् प्रणालीका रहस्यहरूलाई पनि एकसाथ उजागर गरिदिएको छ। प्रथमतः देशको ‘वान्ली वान’ अन्तर्राष्ट्रिय विमानस्थलमा बिग्रे–भत्केका विमान पन्छाउने ‘एअरक्राफ्ट रिमुभल किट’ रहेनछ। अर्थात्, अपरेसन गर्न तम्सिने सर्जनसँग चिरफार गर्ने औजार चाहिं रहेनछ।
हाम्रो सरकारी संयन्त्रले व्यवस्थापकीय लापरवाहीबाट निम्तिन सक्ने विपत्को गन्ध यसपालि सुँघ्न पायो। नेपाल सरकार जेनतेन आफूलाई मात्र चलाउँछ र नेपाली कर्मचारी मात्र जागिर खान्छन्, त्यसकारण आफ्नो हिफाजत आफैं गर्ने ह्याउ हुनेले मात्र काठमाडौं जाने विमान चढ्नु भन्ने सन्देश फिरन्ताहरूले पाए। यात्रुहरूको जिज्ञासा मेट्न समेत अक्षम विमानस्थल व्यवस्थापनले पनि टेलिभिजनमा मनग्ये थोपडा प्रदर्शन गर्न पाए।
“तपाईंहरूले सूचना नदिंदा मेरो फ्लाइट छुट्यो, के गरम् अब?” एक विदेशी महिलाले रुन्चे स्वरमा सोधिन्।
भाषाको समस्याले हो वा नाजवाफ भएर, कर्मचारीले बत्तीसी प्रदर्शन गरिरहे। घर फर्कन आतुर विदेशीहरू फोहोर विमानस्थलमा पत्रिका ओछ्याएर सुतिरहेका थिए। दानापानीको अभावमा ओठमुख सुकेका नेपालीहरूको कन्तबिजोग बेग्लै थियो। विप्रेषण रकमको हिसाब र शोधनान्तर बचतको फेहरिस्त प्रस्तुत गर्दै कुखुरे छाती तन्काउन व्यस्त सरकार अलपत्र नागरिकको पीडामा मल्हम लगाउने लेठोतिर लागेन।
“ए बाबु, नारानहरूले नेपालीलाई सहयोग गर्छौं भन्दै फेसबुकाँ बोलाएका छन् रे! यो फेसबुक कहाँ पर्छ बा?” ट्रान्जिटमा अलपत्र एक वृद्धाले सोधिन्। सोचें– विदेशका विमानस्थलहरूमा अन्य नेपालीसँगै रोकिएका एनआरएन पदाधिकारीहरू देवनागरी लिपिको ‘प्लेकार्ड’ बोकेर उभिएका भए ती बूढीआमा जस्ता धेरैलाई कति होलो हुँदो हो!
एनआरएनको एउटा खेस्रो अपीलले केहीको उद्धार सम्भव हुँदा आफ्ना दूतावासहरूलाई सरकारले दह्रो निर्देश दिनुका साथै हाम्रा दलका प्रवासी संघ/संगठन चलमलाएका भए धेरैले राहत पाउँदा हुन्। नेपालीहरूको यो दुर्दशा हुँदा सरकारले देखेन, विपक्षी गठबन्धनलाई पोलेन, माननीयहरूलाई दुखेन र बेतुकका विषयमा बाँदर नाच देखाउने भ्रातृ संगठनका लाठेहरूलाई पनि घोचेन। अर्थात्, संकटमा फसेका नागरिकलाई ठेंगा देखाउनेमा राष्ट्रिय सहमति कायम भयो। यसबाट दलहरूबीच सहमतिको जपना पूरा भयो।
एक मन्त्रीजीको मुखारविन्दबाट यो दुर्घटनाले घच्चीको पाठ पढाएको सुन्न पाउँदा जिज्ञासु हुँदै मैले सोधें, “के पाठ पढ्नुभो त, मान्यवर? कृपा गरी हाम्लाई’नि बताउनुस् न!”
“त्यही कि…”, मन्त्रीजी केहीबेर घोत्लिए, “हवाईजहाजको पाङ्ग्रोले धावनमार्ग छेड्दा हाम्रो एअरपोर्टमा पनि निकै भीडभाड बढ्दो रहेछ!”
“अनि अवतरणको क्रममा पिलेनको पखेटा भाँचिए चाहिं के हुने रै’छ?” मैले कटाक्ष गरें।
“अनुभवै नभएको विषय जोखाना हेरेर बताउने झाँक्री परिनँ म”, मन्त्री बोले, “पहिला त्यसमा पनि अनुभवी हुम्, अनि बताम्ला!”
“एउटा जहाजले मुन्टो जोत्दा यत्रो हाहाकार मच्चियो, ठूलो भूकम्प आएर विमानस्थल भत्किए हाम्रो के हविगत होला? सरकारको पूर्व तयारी के छ?” मैले सुर्ता पोखें।
“नब्बे सालको भूकम्प आउँदा म जन्मेकै थिइनँ, त्यसपछिका भुइँचालाहरूले खास केही लछार्न नसकेको तपैंलाई मालुमै छ”, मन्त्रीजी गम्भीर भए, “दैव नै लाग्छन्, विमानस्थलमा भुइँचालो नै गएछ भने हाम्ले क्यार्न सक्छौं? र पनि, केही न केही गर्नै पर्ने भएकोले विमानस्थलमा १० वटा हात्ती पाल्ने सोच बनाएका छम्। तिनले महाभूकम्प रोक्न नसके पनि फेरि कुनै विमान धसिंदा तुरुन्तै ‘एअरक्राफ्ट रिमुभल किट’ को काम गर्नेछन्।”
“काँबाट ल्याउने एकै पटक १०–१० थान हात्ती?” म फ्याट्ट उत्सुक भएँ। “शुक्लाफाँटादेखि पर्सासम्मका पाँच वटा निकुञ्जलाई दुइटाका दरले पठाऊ भन्ने विचार गर्याछम्। तिनले दिन सकेनन् भने आउँदो बर्खामा झापामा बिमाख गर्न मेची तरेर आउने भारतीय मत्ताहरूलाई धपाउँदै काठमाडौं ल्याएर विमानस्थलमा तैनाथ गर्ने सोच छ। अहिले कचकच नगर्नुस्।”
यो देशलाई मजाकियाहरूले मजाकमजाकमै चलाइरहेको स्पष्ट भयो। मजाकिया शासनको मजा लुटौं!
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
