अन्तर्वार्ता/विचारशनिबार, चैत्र ७, २०७१
‘मिर्गौला रोगको लक्षण नकुरौं’ (डा. शर्मालाई पाँच प्रश्न)
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मिर्गौला तथा मुटुरोग विशेषज्ञ संजीवकुमार शर्मा भन्छन्, “लक्षण देखिंदासम्म मिर्गौला रोग निकै फैलिएको हुन्छ, त्यसैले स्वस्थ छँदै परीक्षण गराउनु पर्छ।”
नेपालमा मिर्गौला रोगीको अवस्था कस्तो छ?
केही वर्षअघि हामीले परीक्षण गरेका २० वर्षमाथिका ४० हजार जनामध्ये १० प्रतिशतमा मिर्गौला रोगको लक्षण देखिएको थियो। अन्य अध्ययनले पनि प्रत्येक १०० जनामध्ये १० जनामा यो रोग लागेको देखाएको छ।
मिर्गौला रोग लागेको कसरी थाहा पाउने?
वान्ता आउने, वाक्वाकी लाग्ने, हातखुट्टा सुन्निने, रगतको कमी हुने आदिलाई रोगको लक्षण मानिन्छ। तर लक्षण देखिंदासम्म रोगले निकै च्यापिसकेको हुन्छ। शुरुआती चरणमै लक्षण नदेखिनु यो रोगको ठूलो चुनौती हो।
मिर्गौला रोगका कारण के के हुन्?
मधुमेह, उच्च रक्तचाप र पिसाबबाट प्रोटिन जानु मिर्गौला रोगका मुख्य कारण हुन्। यी बाहेक मिर्गौलामा पत्थरी, औषधिको जथाभावी प्रयोग, जन्मजात र संक्रमणका कारणले पनि रोग लाग्न सक्छ।
रोग लाग्नै नदिन के गर्न सकिएला?
रोगको लक्षण देखिनुअघि नै कम्तीमा वर्षमा एकपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ। सरकारी अस्पतालमा आउने बिरामीलाई निःशुल्क मिर्गौला परीक्षण गर्ने प्रस्ताव तुरुन्त कार्यान्वयन गरिनुपर्छ। दिनमा कम्तीमा दुई–तीन लीटर पानी पिउनुपर्छ। नियमित व्यायाम र स्वास्थ्यवर्द्धक खाना खानुपर्ने त छँदैछ।
मिर्गौला रोग उपचार निकै महँगो छ। उपचारलाई सहज र सुलभ बनाउन सरकारी भूमिका कस्तो हुनुपर्छ?
हामीकहाँ अस्पताल आइपुग्नेमध्ये ९० प्रतिशत मिर्गौलाका बिरामी गरीब छन्। निःशुल्क डायलासिस सेवाको अवधि बढाउनुपर्छ। उपचार केन्द्र शहरमा सीमित हुनुहुँदैन। भारत लगायतका देशमा बिरामीका लागि परोपकारी संस्थाले पनि सहयोग गर्ने गरेका छन्। मुख्य कुरा त रोग लाग्नै नदिने वा शुरुआती चरणमै रोग पत्ता लगाउने सरकारी कार्यक्रम आवश्यक छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
