रिपोर्टसोमबार, चैत्र ९, २०७१
सेवाको सफलता
-सञ्जीव शर्मा

मोनास युनिभर्सिटीको प्रयोशालामा सेवा रिजाल ।
अष्ट्रेलियाको मेलवर्नस्थित मोनास युनिभर्सिटीमा विद्यावारिधि गरिरहेकी २९ वर्षीया सेवा रिजालको टोलीले रक्त क्यान्सर (ल्यूकेमिया) मा गरेको अनुसन्धानको नतिजा यसक्षेत्रमा ४० वर्षयताको महत्वपूर्ण उपलब्धि भएको छ ।
टोलीको अनुसन्धान रक्त क्यान्सरमध्येको ‘एक्युट माइलोइड ल्यूकेमिया’मा पाइने ‘आईएनपीपी ४ बी’ जीनमा केन्द्रित छ ।
अनुसन्धानले अन्य क्यान्सरमा ट्यूमर बढ्न नदिने मानिंदै आएको यो जीन ल्यूकेमियामा भने केमोथेरापीलाई निष्प्रभावी बनाउँदै क्यान्सर कोषिका वृद्धिमा सहायक हुने पत्ता लगाएको छ ।
अनुसन्धानले ‘एक्युट माइलोइड ल्यूकेमिया’ भएका बिरामीहरूको उपचारमा नयाँ विकल्प खोज्ने बाटो खोलेको छ ।
रिजालले अबको अनुसन्धान ‘आईएनपीपी ४ बी’ ले कसरी काम गर्छ र त्यसलाई कसरी निष्प्रभावी बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहने हिमाल लाई बताइन् (हे. अन्तर्वार्ता)।
प्रायः निको नहुने ल्यूकेमिया जस्तो क्यान्सरको अनुसन्धानमा योगदान दिन पाएकोमा सन्तोष लागेको बताउँदै उनले इमेलमा भनिन्, “केमोथेरापी प्रतिरोधी यो जीनले कसरी काम गर्छ भन्ने पत्ता लागेपछि ल्यूकेमियाको नयाँ उपचार विधिको विकास हुनेछ ।”
प्राध्यापक एन्ड्रयू वेईको सुपरीवेक्षणमा रहेको सेवा नेतृत्वको टोलीले ‘एक्युट माइलोइड ल्यूकेमिया’का २५० बिरामीमा अध्ययन गरेको थियो ।
अध्ययनको क्रममा जेनेटिक इन्जिनियरिङबाट उत्पादन गरिएको ‘आरएनए’ मार्फत ‘आईएनपीपी ४ बी’लाई निष्प्रभावी बनाउँदा केमोथेरापीले काम गरेको रिजालले बताइन् । उनको पीएचडी थेसिस यही विषयमा केन्द्रित छ ।
काठमाडौंको मीनभवनस्थित सिभिल सर्भिस अस्पतालका रक्तरोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ विशेष पौडेलले रिजालको टोलीको अनुसन्धान रक्त क्यान्सरमा दशकौंदेखि भइरहेका अनुसन्धानमध्ये सर्वाधिक महत्वको भएको बताए ।
डा. पौडेलका अनुसार, अन्य ‘सोलिड’ क्यान्सरहरूमा राम्रो मानिएको ‘आईएनपीपी ४ बी’ जीन ल्यूकेमियाका बिरामीहरूमा खराब प्रमाणित हुनु नयाँ उपलब्धि हो ।
विशेषतः स्तन क्यान्सरमा ट्यूमर बढ्न नदिने मानिएको यो जीनबारे अध्ययन शुरू गर्दा ल्यूकेमियामा पनि यसले त्यस्तै गर्ने मान्यता थियो, तर उल्टो परिणाम आयो । यो जीन भएका ल्यूकेमियाका बिरामीमा केमोथेरापीको कुनै असर नहुने बरु स्वस्थ कोषहरूमा जटिलता निम्तिनसक्ने अनुसन्धानले देखायो ।
भक्तपुर क्यान्सर अस्पतालका कन्सल्ट्यान्ट हिम्याटोलोजिस्ट अजय झ ‘आईएनपीपी ४ बी’को थप अनुसन्धानले ल्यूकेमियाको उपचार विधि (टार्गेटेड थेरापी) को विकास हुने सम्भावना बढेको बताउँछन् ।
अन्य रोगहरूमा लगातार नयाँ अनुसन्धान र उपचार विधिको विकास भइरहे पनि ल्यूकेमियाको ३०–४० वर्ष पुराना उपचार पद्धतिहरू विस्थापित हुनसकेका छैनन् । सेवा रिजालको टोली केमोथेरापीलाई निष्प्रभावी बनाउने ‘आईएनपीपी ४ बी’ को थप अनुसन्धानबाट उपचारका नयाँ विकल्प पहिल्याउनेमै केन्द्रित छ ।
एक्युट माइलोइड ल्यूकेमियालाई स्टान्डर्ड रिस्क, इन्टरमिडियट रिस्क र हाइ रिस्कमा विभाजन गरिन्छ ।

सेवा रिजाल अघिल्लो लहरमा बायाँबाट तेस्रो आफ्ना प्राध्यापक ता अनुसन्धान सहकर्मीहरुका साथमा ।
स्टान्डर्ड रिस्कका बिरामीलाई केमोथेरापी र औषधि दिइन्छ भने इन्टरमिडियट र हाइ रिस्कमा बोनम्यारो प्रत्यारोपण गरेर जीवन लम्ब्याइन्छ । स्टान्डर्ड रिस्कका कतिपय बिरामीमा केमोथेरापीले असर नगर्नुको कारण ‘आईएनपीपी ४ बी’ भएको थाहा भएको छ ।
सिभिल अस्पतालका डा. पौडेल नयाँ खोजले ल्यूकेमियाका बिरामीलाई नयाँ तरीकाले वर्गीकरण गरी उपचारको विकल्प खोज्न मार्गदर्शन गरेको बताउँछन् । यसको चिकित्सकीय कार्यान्वयनमा भने समय लाग्ने उनले बताए ।
अमेरिकाको युनिभर्सिटी अफ इलिनस एट शिकागोमा बोनम्यारो प्रत्यारोपण तालीम लिएका डा. पौडेल विश्वका ठूला बायोमेडिकल अनुसन्धानमा भारतीय र चिनियाँहरूको उपस्थिति प्रभावकारी हुने गरेकोमा अब नेपालीको नाम आउन थालेको बताउँछन् ।
“अनुसन्धान आफैंमा महत्वपूर्ण हुँदै हो, त्यसमाथि नेपालीले गरेको सुन्दा गर्व लाग्नु स्वाभाविकै हो”, डा. पौडेल भन्छन् ।
नेपालमा ल्यूकेमिया
नेपालमा क्यान्सर रोगीको आधिकारिक तथ्यांक नभए पनि ल्यूकेमियाका मात्रै वार्षिक दुई हजार बिरामी थपिने भक्तपुर क्यान्सर अस्पतालका डा. झको अनुमान छ ।
विश्वभरका क्यान्सर पीडितको तथ्यांक राख्ने संस्था ग्लोबोक्यानले भने नेपालमा वर्षेनि ५० देखि ७० हजार क्यान्सरका बिरामी थपिने उल्लेख गरेको छ । यो संख्यालाई भरपर्दो मान्न नसकिने नेपाली चिकित्सकहरू बताउँछन् ।
ल्यूकेमियालाई एक्युट र क्रोनिक गरी दुई उपसमूहमा वर्गीकरण गरिन्छ । क्रोनिक ल्यूकेमिया भएकाहरूको निरन्तर उपचार चाहिए पनि ज्यानको जोखिम कम हुन्छ । एक्युट ल्यूकेमिया भएकाहरूको जीवन भने उपचार र बोनम्यारो प्रत्यारोपणबाट केही वर्ष मात्र लम्ब्याउन सकिन्छ ।
नेपालमा केही निजी अस्पतालले ल्यूकेमियाका बिरामीहरूका लागि बोनम्यारो प्रत्यारोपण शुरू गरेका छन् । सरकारीमा सिभिल अस्पतालले अबको चार महीनामा त्यो सुविधा दिने डा. पौडेलले बताए ।
अष्ट्रेलियामै पनि ल्यूकेमियाका बिरामीमध्ये २५ प्रतिशत मात्रै रोग पत्ता लागेको पाँच वर्षसम्म बाँच्ने गरेको सेवा रिजाल बताउँछिन् ।
ल्यूकेमियाका बिरामीहरूको उपचार पद्धति विश्वभर उस्तै भए पनि रोग पत्ता लगाउने उपकरण, प्रयोगशाला, रोगीको हेरचाह आदिको अवस्था फरक छ ।
भक्तपुर क्यान्सर अस्पतालका डा. झ नेपाल लगायतका पछौटे देशहरूमा आफूलाई कुन रोग लागेको छ भन्ने पत्तै नपाई धेरैको ज्यान गइरहेको बताउँछन् । गरीब देशहरूमा ल्यूकेमियाको डाइग्नोसिस र उपचार धेरैको पहुँच बाहिर छ ।
सेवाको नेपाल नाता
मोनास युनिभर्सिटीमा पीएचडी फेलो सेवा रिजाल ललितपुरको रातो बंगला स्कूलमा ओ लेभल र काठमाडौंको बूढानीलकण्ठ स्कूलबाट ए लेभल गरेर बायोमेडिकल साइन्स पढ्न १० वर्षअघि अष्ट्रेलिया पुगेकी हुन् ।
पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालकी नातिनी तथा गीतकार राजेन्द्र रिजाल र प्रभाकी छोरी उनले अध्ययन–अनुसन्धानमा पर्याप्त अनुभव बटुलिसकेपछि नेपाल फर्केर बायोमेडिकल रिसर्च सेन्टर स्थापना गर्ने सपना देखेकी छन् ।
“मेरी हजुरआमाको निधन क्यान्सरबाटै भयो”, सेवा भन्छिन्, “त्यो कारण पनि यो क्षेत्रमा आएँ, काम गर्न धेरै बाँकी छ ।”
महिलालाई पढाउनुलाई ‘सुन फलाउने शिक्षा’ भन्ने १०० वर्षीया मावली जिजुमुवा चन्द्रकुमारी जोशीको नजरमा सेवा ‘शान्त र सन्तोषी केटी’ हुन् ।
नातिनी–पनातिनीहरूलाई जहिल्यै ‘तिमीहरूलाई मास्टर डिग्रीले पुग्दैन, पीएचडी चाहिन्छ’ भन्दै घचघच्याउने चन्द्रकुमारी उनीहरूको प्रगतिबाट प्रसन्न छिन् । ‘शान्त र सन्तोषी केटी’ को सफलताले त दंग नै बनाएको उनी बताउँछिन् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
