टिप्पणीमंगलबार, चैत्र १०, २०७१

समृद्धिको पो नेतृत्व

रघु पन्त

222

महन्थ ठाकुर, उपेन्द्र यादव, विजय गच्छदार र अशाेक राई ।

उपेन्द्र यादवले जतिसुकै प्रयत्न गरे पनि उनको दल मधेशी जनअधिकार फोरम, नेपालले सिंगो नेपालको प्रतिनिधित्व गर्न सक्दैन।

महन्थ ठाकुर, विजय गच्छदार र अशोक राईको पार्टीको हकमा पनि यही लागू हुन्छ। नेकपा एमालेमा हुँदा पार्टीका अधिवेशनहरूमा सर्वाधिक मत पाउने राई छुट्टै दल बनाएपछि चर्चा बाहिर छन् र केही नलागेर यादवको शरणमा जान खोज्दैछन्।

यादव तराईमै पनि ‘यादवहरूको मात्र पार्टी नेता’ मानिन्छन्। गच्छदार पनि नेपाली कांग्रेसमा रहँदा निकै प्रभावशाली थिए। उनले सत्तामा पटक–पटक मौका पनि पाए। तर अहिले उपेन्द्र यादवहरूले उनको दल मधेशी जनअधिकार फोरम ‘लोकतान्त्रिक’ लाई ‘थारू पार्टी’ भन्ने गरेका छन्।

कांग्रेसमा राम्रो अवसर र सम्मान पाएका महन्थ ठाकुरको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले ‘तराईका बाहुनहरूको पार्टी’ भन्ने आरोप खेप्दै आएको छ। थारू र तराईका अन्य जातजाति ‘यादवहरूको दमन सहन नसकेर’ उपेन्द्र यादवको पार्टीबाट निस्केको भन्छन्।

तराईकै बाहुन–क्षत्रीको भूमिका बढी भएकोले तमलोपा छोड्नुपरेको गुनासो महेन्द्र यादवहरू गर्छन्। जनजाति नेताहरू भटाभट अशोक राईको पार्टी छोड्दैछन्। किन? यो प्रश्नको उत्तर सबै राजनीतिक दलले सोच्नु र खोज्नु जरूरी छ। नेपालका अहिलेका कतिपय अप्ठ्यारा समस्याको समाधान यो प्रश्नसँग जोडिएको छ।

पार्टी विचारले बन्छ

पार्टी निर्माणको मूल आधार दर्शन र त्यस दर्शनलाई प्रतिनिधित्व गर्ने विचार हो। दार्शनिक आधार र स्पष्ट वैचारिक मूल्य, मान्यता नभएका दलहरू जन्मे पनि टिक्न सक्दैनन्। भारतमा जन्मँदा जन्मँदै चर्चित भएर छोटो समयमै हराएका जनता पार्टी लगायत थुप्रै क्षेत्रीय दलहरू त्यसका उदाहरण हुन्।

नेपालमा उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम, महन्थ ठाकुरको तमलोपा, विजय गच्छदारको फोरम लोकतान्त्रिक र अशोक राईको संघीय समाजवादी पार्टी केहीले जातको र केहीले क्षेत्रको कुरा उठाएका छन्। उनीहरूले शुरूदेखि नै जात र क्षेत्रको मात्र कुरा उठाए, तर त्यहाँभित्र पनि फराकिलो ढंगले चल्न सकेनन्।

सत्तामा जाने मौका पाउँदा यादवले यादव र आफ्ना पिछलग्गुलाई मात्र च्यापे भने ठाकुरले उच्च जातिका आफन्तलाई। गच्छदारले कि टन्न पैसा दिनेलाई सांसद् बनाए कि त आफ्नो कुरा शिरोपर गर्ने थारूलाई च्यापे।

अशोक राईलाई राई, लिम्बू र नेवारहरूले नै संकीर्ण भएको आरोप लगाउँदै उनको पार्टी छोडिरहेछन्। दार्शनिक र वैचारिक प्रतिबद्धता नभएपछि यस्तो हुनु स्वाभाविक हो।

नेपाली कांग्रेसका डा. रामवरण यादव राष्ट्रपतिका रूपमा जनतामा लोकप्रिय हुनु र उपराष्ट्रपति परमानन्द झा लोकप्रिय हुन नसक्नुका कारण विश्लेषण गर्दा धेरै तथ्य पहिल्याउन सकिन्छ।

डा. यादव समग्र देशको कुरा गर्छन्, अरू जात र क्षेत्रको। नेपाल बहुजातीय देश हो। हिमाल, पहाड, तराई जता हेरे पनि नेपाल बहुजातीय देखिन्छ। तराई त झ्न् बहुजातीय छ। यस्तोमा कुनै एक जाति वा क्षेत्रको मात्र पक्षपोषण गर्ने दलले आफ्नो राजनीति टिकाउने दीर्घकालीन आधार पाउँदैन।

जमीन, नदीनाला र वनजंगलले सभ्यता, संस्कृति र जीवनलाई गति दिइरहेका हुन्छन्। भूगोलले मान्छेहरूबीच सम्बन्ध निर्माण गरिरहेको हुन्छ भने मान्छे मार्फत भूगोलमा परिवर्तन भइरहेको हुन्छ।

नेपालका नदीहरू उत्तरबाट दक्षिण बगेका छन्। नेपालीहरू पनि नदी सँगसँगै उत्तरबाट दक्षिण सर्दै आएका थिए। यसरी पहाडबाट तराई र्झ्नेहरूले जंगल फाँडेर बस्ती गुल्जार गरे। उनीहरूले रैथाने आदिवासी जनतासँग मिलेर तराईलाई नयाँ रूप दिए।

तर, अहिले एउटा खल्तीमा भारतीय परिचयपत्र र अर्को खल्तीमा नेपाली नागरिकता बोकेर हिंड्नेहरू ‘पहाडी’ र ‘मधेशी’ बीच द्वन्द्व चर्काउन कस्सिएका छन्। उनीहरू ‘तराईलाई पहाडियाहरूले उपनिवेश बनाएको’ आरोप लगाउन र साम्प्रदायिक दंगा चर्काउन उद्यत छन्।

देश सोच

हिजो पहाडबाट मानिसहरू तराई झ्रे जस्तै आज तराई मूलका बासिन्दाहरू काठमाडौं उपत्यका पसेका छन्, पहाड उक्लेका छन् र हिमाली भेगतिर चढेका छन्। ‘पहाडिया भगाऊ’ भन्दै स्वार्थपूर्ति गर्न खोज्ने बाहेक तराईका सबै शहर–देहातका मधेशीलाई पहाडिया कम हुँदा घट्दै गएको आर्थिक, सामाजिक गतिविधिले पिरोल्न थालेको छ।

कुनै पनि ठाउँको विकासको लागि बहुजातीय बसोबास चामत्कारिक हुन्छ। तराईमा विकास गतिविधि बढाउन देशका अन्य भागका उद्योगपति, व्यापारी र विभिन्न पेशा–व्यवसायका मानिसहरू चाहिन्छ।

जनकपुर, राजविराज, वीरगञ्ज, नेपालगञ्ज, धनगढी, कञ्चनपुर जस्ता शहरहरूमा देशभरिका मानिसहरू आउनुपर्छ, बस्नुपर्छ। जनकपुर र राजविराज किन आज नेपालगञ्ज, धनगढी वा कञ्चनपुर भन्दा पछाडि परे भनेर विश्लेषण हुनुपर्छ।

देशका पुराना शहर भए पनि पहाडी जिल्लाहरूसँग जोडिन नसकेका तथा पहाडी मूलका मानिसहरूले छोड्दै गएकोले जनकपुर र राजविराजमा आर्थिक–सामाजिक गतिविधि घट्न थाल्यो।

उता कञ्चनपुर र धनगढी महाकाली र सेती अञ्चलका मानिसहरूको आर्थिक केन्द्रका रूपमा विकसित हुँदैछ भने नेपालगञ्जमा कर्णाली अञ्चलको प्रवेशद्वार हुनुको चहलपहल बढ्दो छ। ऐतिहासिक महत्वका दुई शहर जनकपुर र राजविराज भने पछाडि पर्दैछन्। नयाँ बाटोहरू बनाएर नजिकका पहाडी जिल्लाहरूसँग नजोडिने हो भने जनकपुर र राजविराज अझै पछाडि धकेलिनेछन्।

तराईबाट पहाड उक्लने, उपत्यका पस्ने र हिमाल चढ्ने क्रमलाई पनि बढाउनुपर्छ। तराईमा कलकारखाना खोलेर पहाडको विद्युत् र कृषिसँग जोड्नुपर्छ। यस्ता गतिविधि बढाउने कार्यको नेतृत्व गर्न सक्ने राजनीतिक दलहरू नै टिकाउ हुन सक्छन्।

पहाडिया लखेट्ने र जातीय प्रदेश बनाएर राज गर्ने नियत बोकेका दलहरू न टिक्न सक्छन् न त देशमा समृद्धि ल्याउन सहायक हुन्छन्। तराईको त्यही नेता देशको नेता हुन सक्छ, जसले यो वास्तविकतालाई बुझछ। आफूलाई ‘मधेश’ को मात्र नेता बनाउन खोज्नेहरू देशको त कुरै छाडिदिऊँ ‘मधेश’ को मात्रै पनि नेता हुन सक्दैन।

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक भूभाग तराई–मधेशमा लामो समयदेखि थुप्रै पहाडी जाति बस्दै आएका छन्। यी सबैको भावना अन्य भूभागका देशवासीको जस्तै छ। त्यसैले, तराई ‘मधेश’ का नेताहरूले देश सोच्न नसकेसम्म आफ्नै जाति, समुदायका बाहेक प्रदेश र देशको नेता बन्न सक्दैनन्।

दर्शन, विचार, नीति र कार्यक्रम नभएका जातिवादी, क्षेत्रवादी, उग्रवादी र भ्रमितहरूले देशलाई द्वन्द्वमा त लैजान सक्छन् तर निर्माण गर्न सक्दैनन्। यस्ता तत्वहरू विध्वंस र विखण्डनको लागि मिल्न सक्छन्, तर निर्माणमा अग्रसर हुन सक्दैनन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>