समाचारबुधबार, कार्तिक १५, २०६९
माओवादी नेताका छोरा पक्राउ
१५ कार्तिक विहान अयोध्यानगर– ९ का मनोज यादवलाई इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।
सिरहाका प्रहरी प्रमुख विक्रम गुरुङका अनुसार मनोजलाई ३ भदौ २०६८ मा तेनुवापट्टिका विद्यार्थी सन्दीप यादवलाई अपहरण गरेको आरोप छ । “सन्दीपलाई मात्र होइन, करिब १२ व्यक्तिलाई मनोजले अपहरण गरेकाले उनको खोजी भइरहेको थियो,” गुरुङले भने । अपहृत सन्दीपका परिवारजनसँग मनोज र सिरहा लटाटोल घर भई भारतमा बसेर आपराधिक कार्यमा संलग्न रामकुमार मिलेर रु साढे चारलाख फिरौतीसमेत असुलेको प्रहरीको दाबी छ ।
घरबाट लहान आउने क्रममा सन्दीपको अपहरण भएको थियो । अपहरणको घटना १४ महिना बितिसके पनि सन्दीपको अतोपत्तो छैन । फिरौती लिएर पनि अपहृत सन्दीप अपहरणमुक्त नभएपछि हत्या भएको प्रहरीको शङ्का छ । रासस
