थप समाचारमंगलबार, चैत्र १०, २०७१

अनशनरत डा. केसी भन्छन, ‘माफिया र नेता छुट्टाउनै गाह्रो भो’

हिमालखबर

kc1

अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी ९ माघमा । तस्वीर: देवकी बिष्ट

-सञ्जीव शर्मा
चिकित्सा क्षेत्रमा भइरहेको बेथिति रोक्नका लागि आन्दोलनरत प्रा.डा. गोविन्द केसी अनशन बसेको आज १० चैतमा तीन दिन पुगेको छ ।

१० चैत अपराह्न त्रिवि शिक्षण अस्पतालको ‘डक्टर्स रुम’ कोे बेडमा पल्टेका डा. केसी आफ्नो आन्दोलन किन सबैको हो भन्ने पत्रकारहरुलाई बताउँदै थिए । अलिक पर रहेका उनका चेला चिकित्सकहरुको ‘आजलाई पुग्यो सर, अब धेरै नबोल्ने हो की’ भन्ने सुझाव बेवास्ता गर्दै ।

पत्रकारको टोली विदा भएपछि मेडिकल स्टुडेन्ट सुमन आचार्यले भने, “आजलाई थप कुराकानी बन्द गरौं सर,” गुरुले आज्ञाकारी चेला झैं टाउको हल्लाए ।

विगतका चार पटकका अनशनमा अली बलियो स्वास्थ्य अवस्थामा देखिएका केसीको यसपटक तेस्रो दिनमै पिसावमा खराबी देखिएको आचार्यले जानकारी दिए । “छाती र टाउकोको दुखाई शुरु भएको छ,” उनले भने ।
“उहाँको यूरिनमा एसिटोन देखिएको छ, छाती र टाउको दुखेको छ, अरु सामान्य छ,” डा. केसीको मेडिकल टिमकी इन्चार्ज प्राडा दिव्यासिंह शाहले जानकारी दिइन् ।

यसअघि केसी पत्रकारहरुलाई भन्दै थिए, “को राजनीतिज्ञ, को पदाधिकारी, को माफिया छुट्टयाउनै गाह्रो भो, संविधान बनाउँछौ भनेर संविधानसभामा पुगेका नेताहरु नै आफ्नो काम छोडेर पद र शक्तिको गलत प्रयोग गर्दैछन्, मेरो आन्दोलन त्यसविरुद्ध पनि हो ।”

नेपालमा एक वर्षमुनीका प्रति हजार बालबालिकामध्ये ३३ जना वर्षेनी झाडापखाला, निमोनिया जस्ता सामान्य रोगका कारण मर्ने गरेको, ५ वर्ष पुगेकाको मृत्यु दर पनि त्यस्तै रहेको जानकारी दिंदै डा. केसीले भने, “ख्वै गाउँमा गएर सेवा दिने चिकित्सक ? गरीबका छोराछोरी डाक्टर बन्न पाउने सुनिश्चित्ता कसरी हुन्छ ?”

क्षमता नभएका मेडिकल कलेजलाई सम्बन्धन दिएर पैसाका भरमा अक्षम चिकित्सक उत्पादन गर्ने परिपाटी मिलाउन प्रधानमन्त्री, दलका नेताहरु र अख्तियार प्रमुख हुँदै त्रिविका पदाधिकारीसम्म लागि परेको भन्दै डा. केसीले थपे, “करोडौं खर्च गरेर पढेका चिकित्सक कसरी गाउँ गएर गरिबको सेवा गर्लान, गइहाले भने पनि उनीहरुको सेवा कस्तो होला ?”

सरकारले डा. केसीको चौथो पटकसम्मको अनशन उनका सबै माग पूरा गर्ने प्रतिवद्धता गर्दै तोडाएको थियो । तर, सरकार आफैं विभिन्न स्वार्थ समूहको दबाबमा परेर चोर बाटोबाट नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयासमा लागेपछि केसीले सार्क सम्मेलनका बेला पाँचौ अनशनको तयारी थालेका थिए । त्यसबेला प्रधानमन्त्री सुशील कोइरालाले ‘तपाइँका सबै माग शिघ्र पूरा हुन्छन्, अहिले अनशन बस्नु भयो भने सरकार र देशकै अन्तर्राष्ट्रियरुपमा बदनामी हुन्छ’ भनेपछि उनी रोकिएका थिए ।

तर, समय घर्किंदै जाँदा केसीका माग त पूरा भएनन्, उल्टो स्वास्थ्य क्षेत्रका वेथिति रोक्ने बाचा गरेका प्रधानमन्त्रीले नै नयाँ मेडिकल कलेजलाई विना आधार सम्बन्धन दिनुपर्छ भनेर सिफारिस गरे । इन्स्टिच्यूट अफ मेडिसिनले प्रधानमन्त्रीको सिफारिस र अन्य नेताहरुको दबाबलाई अस्वीकार गर्दै ‘नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने अवस्था नरहेको’ बताएपछि आइओमको अधिकार त्रिविले लिन मिल्ने त्रिवि सिनेटले निर्णय गरेको छ, सम्बन्धनकै लागि ।

“बारम्बार एउटा प्रतिवद्धता गरेर अर्को काम गर्ने प्रवृत्ति विरुद्ध पनि मेरो आन्दोलन हो,” केसीले भने, “यसपाला म सबै माग कार्यान्वयनमा नजाँदासम्म झुक्दैन, यो सबै नेपालीको आन्दोलन हो, तपाइँको पनि हो ।”

जनतकै लागि भनेर कुरा गर्ने तर जनताको विरुद्धमा काम गर्ने प्रवृत्ति विरुद्ध केसीको ठूलो आपत्ति छ, भन्छन, “राम्रो गर्न सक्दैनौ भने नराम्रो पनि नगरिदेऊ भन्ने हो, हामीले चाहेको, त्यती पनि गर्दैनन् ।”
“सरकार, राजनीतिक दल, अख्तियार, अदालत सबैसँग लड्नु परिराख्या छ, कस्तो वेथिति हो यो ?” डा. केसीले प्रश्न गरे ।

यो अनशन अस्पताल बाहिर कुनै सार्वजनिक स्थानमा गर्दा हुँदैन भन्ने एक सञ्चारकर्मीको प्रश्नमा उनले अगाडिको कुर्सी देखाउँदै भने, “मेरो कुर्सी त्यही हो, मेरो कर्मथलो यही हो, म यहाँबाट कहाँ जाउँ ?” आफूले अस्पतालको सेवा र शिक्षा प्रभावित नपार्न सबैलाई आग्रह गरेको पनि उनले दोहोर्‍याए ।

केसी पाँचौ पटक अनशन बसेको तेस्रो दिनसम्म सरकारका प्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक समाजका अगुवा कसैले पनि सम्पर्क नगरेको बताए । उनले भने, “अगुवा भनिनेहरुले बेवास्ता गरे पनि क्षमतावान चिकित्सक, इमान्दार पेशाकर्मी, युवा र आम नेपालीको मलाई साथ छ, मेरो माग पूरा हुन्छ ।”

डा. केसी नेपालका ८० प्रतिशत जनतालाई स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा राख्ने प्रवृतिको विरुद्ध आन्दोलित छन् ।

सेवाको क्षेत्रलाई उद्योग बनाउनेहरुका विरुद्ध आन्दोलित छन् ।

शहर केन्द्रित अक्षम चिकित्सक उत्पादनको साटो दुर्गममा गएर सेवा गर्ने सक्षम चिकित्सक उत्पादन गर्ने परिपाटी बसाल्न आन्दोलित छन् ।

सार्वजनिक संस्थाहरुमा राजनीतिक भगवण्डाका आधारमा गरिने निकम्मा नियुक्तिको अपराधविरुद्ध आन्दोलित छन् ।
राम्रो गर्न नसक्नेहरुले कम्तीमा नराम्रो नगरिदेउन भन्दै आन्दोलित छन् ।

उनको आन्दोलनमा ‘रेजिडेन्ट डक्टर्स एसोसिएसन अफ नेपाल’ र ‘नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटी’ले ऐक्यवद्धता जनाइसकेका छन् ।
डा. केसीका मागहरुः

KC_maag
kc_maag2

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>