रमझमबुधबार, चैत्र ११, २०७१
राजधानीमा धामीको स्वर
-अनुशील
३० वर्षदेखि साधनारत राम धामी (५१) ले पहिलोपटक राजधानीको मञ्च भेटे। ४–५ फागुनमा लाजिम्पाटस्थित थिएटर भिलेजमा गाउँदागाउँदै उनले भने, “मेरो गीत काठमाडौंले सुन्दैन, यहाँका रेडियोमा बज्दैन।”
पूर्वको इटहरीमा बस्ने रामलाई हिमाल एसोसिएसन र थिएटर भिलेजले राजधानीमा प्रस्तुत गरेको हो।
लेखक बसन्त थापा र कवि विप्लव प्रतीकले गत माघमा इटहरीमा भएको एक जमघटमा रामको प्रतिभा सुनेलगत्तै यस्तो कार्यक्रम गर्ने सोच पलाएको थियो। ‘राम धामी एकल साँझ’ मा उनले डेढ दर्जन गीत गाए।
जसमा उनकै सिर्जना र नारायणगोपाल, भक्तराज आचार्य, दीप श्रेष्ठका चर्चित गीत थिए।
जसलाई दर्शकहरुले मन पराएका थिए। धामीलाई कार्यक्रममा इटहरीबाट साथै आएका विदुर कार्की, राजेन लामा, नवीन श्रेष्ठ, रोशन राना, त्रिजंग बस्नेत, प्रवेश राई र नवीन न्यौपानेले साथ दिएका थिए।
थारु भाषाको गीत गाएर २०४८ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेका धामीको स्वरमा ५० वटा गीत रेकर्ड भएका छन्। उनको संगीतमा ३० वटा गीत अरुले नै गाएका छन्। संगीत साधना केन्द्र इटहरीका संस्थापकमध्येका धामी २०५० सालयता संगीत प्रशिक्षकका रुपमा सक्रिय छन्।