ब्लगबुधबार, चैत्र ११, २०७१
‘सरकार, म नेपाली हुँ भनेर गर्व गर्न सकुँ !’

सिंगापुर विमानस्थलमा यात्रुहरु ।
पछिल्लो समय नेपालमा छ बर्षीया बालिका बलात्कार र स्कुले छात्राहरुमाथि एसिड प्रहार जस्ता लज्जाजनक घटनाहरुसँगै एउटा त्यस्तो घटना घट्यो जसले विश्वको ध्यान सिधै नेपाल सरकारको औकात माथि तानियो । जुन घटना थियो नेपालको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा भएको टर्कीस एअरलाइन्सको बिमान दुर्घटना ।
धावनमार्गमा भएको यो दुर्घटनाले झन्डै एक साता चर्चा पायो । चर्चा एकातिर थियो भने भोगाइ अर्कोतिर । म स्वयम् यस घटनाबाट प्रत्यक्ष प्रभावित एक यात्रु थिएँ । यो घटना को पीडाबोध र लज्जाबोधजति नेपालमै बस्ने नेपालीलाई भयो त्यसको कयौ गुणा बढी बिदेशमा भएको नेपालीलाई भएको महशुस म स्वयमले गरेँ । यो घटनाले नेपाल सरकारको लाचारिता विश्वको सामु छताछुल्ल भएर पोखिदियो ।
हुन त यो पटक नेपाल आउने क्रममा अमेरिकाको विमानस्थलबाट नै लज्जाबोध महसुस हुन शुरु भएको थियो । मेरो हस्तलिखित राहदानी त्यसमा पनि अंग्रेजी अल्फाबेटहरु नमिलाईकन लेखिएको देखेर विमानस्थलका कर्मचारीहरु मुखामुख गरे र अन्तमा अर्को सिनियर कर्मचारीलाई नै निम्त्याउनु परेको थियो । यसमा मेरो पनि गल्ति थियो । मैले एमआरपी बनाउनु पर्नेथियो । कोशिस पनि गरेकी हुँ तर अमेरिकास्थित नेपाली राजदुताबासको ढिलासुस्तीको कारण असफल भएँ । अमेरिकास्थित नेपाली दुताबासको लथालिंगे व्यवस्थाको अर्को छुट्टै कथा छ, जहाँ एउटा खाम किन्ने पैसा समेत छैन र भन्छ डकुमेन्ट फिर्ताको लागि एउटा अर्को खाम पनि संगै हुलाकबाट पठाउनुहोला ।
अमेरिकाबाट उडेपछि अर्को ट्रान्जिट थियो सिंगापुर । सिंगापुरकोको छ घण्टाको ट्रान्जिटपछि मनमा आफ्नो मान्छे भेट्ने खुशी र उमङ्गको साथ सिल्क एयर हुदै उडियो नेपालतिर । लगभग पाँच घन्टाको उडान हो सिंगापुरबाट काठमाण्डौ । तर, झन्डै आधा समय उडिसकेपछि काठमाण्डौ विमानस्थलको धावनमार्गमा टर्कीस् एयरलाइन्सको जहाज दुर्घटनाको बारेमा थाहा भयो । यो सुनेर सबै यात्रुहरुमा निरासा र खैलाबैला शुरु भयो ।
एकजना बिदेशी यात्रुले बिमान परिचारिकाको माध्यमबाट क्याप्टेनलाई सुझाब पठाए कि किन हामी नेपाल को कुनै अर्को एयरपोर्ट मा ल्याण्ड नहुने, जसले गर्दा त्यति लामो यात्रा फेरी गर्न पर्दैन । लगत्तै क्याप्टेनले जवाफ दिए कि नेपालमा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल भन्दा अर्को अन्तरास्ट्रिय विमानस्थल छैन र यतिका यात्रुहरुलाई अन्तरास्ट्रिय मापदण्डको खानबस्नको असुविधा नहोस भनेर सिंगापुर नै फर्कनु पर्नेछ । क्याप्टेनको जवाफमा बिदेशी यात्रुहरु अचम्मित भए । हामी नेपाली यात्रुहरुको लाजले शिर निहुरिनयो । मन भारी भयो । मलाई त्यो उडान भरि आफ्नो परिवार, आफन्त समयमा भेट्न नपाएको पीडा भन्दापनि नेपालमा अर्को बैकल्पिक विमानस्थल नभएको कुरा सबै बिदेशिको सामु पोखिदाको पीडा सहन गाह्रो भो ।
सिंगापुर ओर्लनेबित्तिकै सबै यात्रुहरुलाई खानेबस्ने सुबिधा सहितको होटेलतिर लगियो । एयरलाईन्सले दिएको सुबिधा प्रशंसनीय थियो । मसंगै आउनुहुने एकजना नेपाली बुढी आमाको औषधि लगेजमा छोडिएछ । उहाँ अस्वस्थ हुनुभएकोले एयरलाईन्सले नै उहाँको औषधि किनिदिने, अस्पताल लाने ल्याउने, स्थिति बुझ्ने सबै काम गरिरहेको थियो । हामी भने नेपालको विमानस्थलमा बिदेशी तथा स्वदेशी यात्रुहरुको बिजोग, लडेको विमान हटाउने असफल प्रयास, अनि नेपाल सरकारको लाचारिताको अनलाइन अपडेट पलपल लिदै अनिश्चितता भित्र रुमल्लिरहेका थियौँ ।
अब त होटेलका कर्मचारी, खाने ठाउँको मान्छेहरु र एयरलाईन्सको हेल्प डेस्कका मानिसहरुले समेत हामी र हाम्रो त्यहाँ रोकिनुको अवस्थालाई राम्ररी बुझीसकेका थिए । जतिबेला भेटेपनि उनीहरुको एउटा मात्र प्रश्न हुथ्यो, किन अझै त्यो जहाज तिमिहरुको देशले हटाउन नसकेको ? लाग्थ्यो यो प्रश्न हैन कि व्यंग्य हो ! मेरो देशको लाचार सरकारलाई ।
नेपालमा भएको जस्तै दुर्घटना अमेरिकाको न्यूयोर्क शहरमा अर्को दिन भएको थियो तर त्यहाँ त रातारात त्यो जहाजलाई हटाइयो र विमानस्थल सूचारू गरिएको थियो । हामीलाई चिन्ने मान्छे हरुको प्रश्नबाट बच्नलाई उनीहरुको आँखा छलेर कतै सुटुक्क हिडौँ कि, खाने ठाउँ नै परिवर्तन गरौँ कि , अर्कै हेल्प डेस्क मा गएर सोधपुछ गरौ कि जस्तो लाग्थ्यो ।
यतिबेला महशुस भयो कि विदेशमा आएपछी व्यक्ति जतिसुकै सभ्य होस्, धनि होस् र पढेलेखेको होस् आखिर उसको चिनारी भन्नु नै सर्बप्रथम उसको देश रहेछ । विदेशमा कसैले तपाइलाई पहिलो पटक बोल्न खोज्यो भने उसको प्रश्न हुन्छ ‘ह्वेर आर यु फर्म ?’ (तपाई कुन देशबाट?) त्यतिबेला मलाई म नेपालको नागरिक हुँ भन्न पीडा अनुभूत भइरहेको थियो । जुन देशको सरकारलाई एउटा लडेको जहाज उठाउँन चार दिन लाग्छ । त्यहि पनि अरु देशको सहयोगमा । मलाई भनिरहन मन लाग्यो, सरकार, म नेपाली हुँ भनेर गर्व गर्न सकुँ !

त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमान ।
सिङ्गापुर बसाइको चार दिनमा बल्ल उड्ने पालो आयो । हर्षको सीमा रहेन ! विमान उड्यो तर विडम्वना, नेपालको विमान स्थलमा विमानको चापका कारण थप एक घण्टा आकाशमा घुमिरहनु पर्ने भयो । आकाशबाट जो कोहिले पनि अनुमान लगाउन सक्थ्यो काठमाडौँ कति अस्तव्यस्त छ भनेर ? काठमाडौँको अस्तव्यस्त नियाल्न यसको आकाशमा एक फेरो लगाए पुग्छ । मकैका खोयाजस्ता अव्यवस्थित घरहरु, सारै साघुरा सडक, पानी हैन ढल बग्ने कालामैला मसिना खोलाहरु अनि कालो धुवाको मुस्लो फ्याल्ने सवारी साधन हरु !
लाग्थ्यो, यहि हो हाम्रो मुलुकको राजधानी काठमाडौँको चिनारी ! अरु बिकशित मुलुकमा जहाज ल्याण्ड गर्नेबेलामा हेर्यो भने शिपालु कलाकारले कोरेको चटक्क मिलेको क्यानभास जस्तो देखिन्छ । हामी नेपाली सगरमाथा र गौतम बुद्ध को देश भनेर गर्ब गर्छौ । तर सगरमाथा र बुद्ध हामीले बनाएका हैनौ । यी त प्रकृतिको अनुपम कृपाले नेपालको भागमा परेका उपहारहरु हुन् । हाम्रो आफ्नै ताकत र पसिनाले बनाएको गर्व गर्ने चिज खै के छ र ?
विमान अवतरण गरिसकेपछि पनि विमानस्थल उत्तिकै अस्तव्यस्त देखियो । काठमाडौँको असन भन्दा कम देखिन्न थियो मान्छेको हुल । बेच्न थुपारेको बोरा जस्ता सामानहरु छरपस्ट छन् । खुट्टा टेक्ने ठाउँ छैन । कतिको समान भने आएको छैन । कसलाई सोध्ने ? भएका कर्मचारीहरू पनि सहि सूचना दिनपनि सक्दैनन् !
मैले एकजना महिला कर्मचारीलाई मेरो छुटेको लगेजको बारेमा सोधपुछ गर्न खोजेकी थिएँ । उनले रुखो लवजमा “नो आइडिया” भन्दै हिडिन ! लगेजको दाबी गर्ने ठाउमा मान्छेको घुइँचो छ तर कर्मचारी भने एकजना त्यहि पनि हातले रिपोर्ट लेख्छ ! बिदेशी पाहुनाहरु अक्क न बक्क छन !
हुन त चार दिन जहाज रोकिदाको चाप थियो त्यो । तर सम्भावित चापलाई कम गर्न अग्रिम योजना गरेर ब्यबस्थित गर्न सकिन्थ्यो । कर्मचारीको संख्या थप्नुपर्थ्यो । हात भन्दा कम्प्युटरले फारम भर्ने व्यवस्था हुनुपर्थ्यो । अंग्रेजी राम्रो बुझ्न र बोल्न सक्ने कर्मचारी राख्नुपर्थ्यो तर, त्यस्तो केही गरिएन ।
विदेशको कुनै अफिस या भनौ एयरपोर्टमा जादा या त्यहाँ को कुनै कर्मचारीलाई केहि कुरा सोध्दा मनमा विश्वास हुन्छ कि यो मान्छेले मलाई सहयोग गर्छ र सोधेको जवाफ पाउनेछु । तर यहाँ त अब एयरपोर्टभित्र छिर्ने बितिक्कै मनमा शंका शुरु हुन्छ यो मान्छेले मलाई सहि उत्तर देला या नदेला, सहयोग गर्ला या नगर्ला । कर्मचारीहरुको सेवाग्राहीलाई गर्ने ब्यबहारले नै यस्तो महशुस गराउँछ । सेवाग्राहीप्रति गर्ने व्यवहारले आफूलाई यसले कतिबेला ठग्ने हो भन्ने संशय भइरहन्छ ।
शुरुमै आगमन छाप हान्न बसेको कर्मचारीहरुको ब्यबहार हेर्दा लाग्छ नेपाल सरकारले उसलाई महिनौ देखि तलब नखुवाई सित्तैमा काम गराइरहेको छ । डेस्कमा जाँदा ‘हाई , हेल्लो’ त परै जाओस हामीले ‘हेल्लो’ भन्दा पनि प्रत्युतर दिदैनन् । अनुहारसम्म हेर्दैनन् ! हामी नेपालीहरुलाई त नेपालको यो भद्रगोल अवस्था थाहा छ तर हवाई मार्ग हुदै नेपाल छिर्ने बिदेशी पर्यटकहरुले अन्तर्राष्ट्रिय विमानस्थलको यो हालत देखेर नेपालप्रति के सोच्नेहोलान् ?!
nainarai2009@gmail.com
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
