थप समाचारबिहीबार, चैत्र १२, २०७१

पिराहा समाज

हिमालखबर

-चीना थापा

China

स्केजः विलाश राई

माओवादीलाई खाना खुवाएको भन्दै २०५३ कात्तिक, सिन्धुलीको कपिलाकोटस्थित घरमा बसिरहेका मञ्जुमाया आचार्य (४८) का श्रीमान्लाई तत्कालीन शाही सेनाले बारीमा लगेर गोली हानी हत्या गर्‍यो।

पतिको हत्यापछि एक्लो बनेकी मञ्जुमायाले दुई छोरी र एक छोरा हुर्काउन सिन्धुली बजारमा फलफूल बेच्न थालिन्। “टाउकोमा फलफूल बोकेर दिनभरी बजार घुम्छु, घाँटी फतक्क गल्छ”, उनी भन्छिन्, “तर, मान्छेहरू क–कसलाई खुशी पारेर हो, फलफूल बेचेर पनि राम्रै कमाएकी छे भन्दै कुरा काटेर दिक्क पार्छन्।”

सिन्धुलीमाढीकै ३५ वर्षीया मीरा थापा (परिवर्तित नाम) ले माओवादीमा लागेका युवकसँग प्रेम बिहे गरिन्। बिहे भएको एक वर्षपछि २०५६ वैशाखमा उनका श्रीमान् बेपत्ता भए। त्यसपछि ससुराले यौन दुर्व्यवहार गर्न थाले। घरमा अरू कोही थिएनन्।

‘ससुरासँग सल्केकी’ भन्दै समाजले कुरा काट्न थाल्दा मीराका लागि माइतीको ढोका बन्द थियो, अन्त जाने ठाउँ थिएन।

ससुराको यौन दुर्व्यवहार बिरुद्ध आवाज उठाउन नसकिरहेकी सिधासाधा मीरा पनि समाजको निशाना बनिन्। त्यसपछि घर छाडेकी उनी अहिले काठमाडौंमा मकै पोलेर जीविका चलाइरहेकी छन्।

त्यस्तै, कमलामाई नगरपालिका–६ कि राधा कार्कीलाई २०६१ साउनमा झाडापखालाबाट श्रीमान्को मृत्यु भएपछि ‘अलच्छिनी’ भन्न थालियो। घरको पूजापाठदेखि समाजमा हुने शुभकार्यसम्ममा उनलाई साइत बिगार्ने/अशुभ जनाउने भन्दै प्रताडित गरियो।

आफूमाथि भएको अन्याय विरुद्ध आवाज उठाउने विचार मनमा आए पनि समाजको अगाडि केही नलागेको उनी बताउँछिन्। राधा भन्छिन्, “एक्लै केही गर्न नसकिंदो रहेछ, झूटा आरोप सहनु बाहेक केही उपाय देखिनँ।”

२०६३ साल मंसीरमा विवाह गरेका रतनचुरा–९ का नवराज खड्काको तीन महीनामै घाँस काट्दा रूखबाट लडेर मृत्यु भएपछि उनकी श्रीमती निशालाई ‘लोग्ने टोकुई’ भन्न थालियो।

गर्भवती भएकी उनले स्याहार त के पेटभरी खान पनि पाइनन्। मेलापातबाट थाकेर आउँदा समेत सासूले कहिले कुट्ने त कहिले आगोले पोलिदिने गरिन्। त्यसपछि बच्चा जोगाउन घर छाडेर माइत गएको उनी बताउँछिन्।

माइतीको सहयोगमा धुरा बजारमा किराना पसल गरिरहेकी उनी अहिले मासिक सरदर रु.८ हजार बचत गर्छिन्, छोरी आठ वर्षकी भइन्। यही किराना पसलबाट छोरीलाई पढाएर आत्मनिर्भर बनाउने उनको योजना छ। एसएलसी पास भएपछि विवाह भएकी उनी भन्छिन्, “छोरी हुर्केपछि म चाहिं महिलामाथि हुने दुर्व्यवहार विरुद्ध लाग्छु।”

२०५९ कात्तिकमा विदा लिएर कमलामाई नगरपालिका–७ माझीटारस्थित घर आएका सैनिक श्रीमान्लाई माओवादीले आफ्नै अगाडि हत्या गरिदिएपछि संघर्ष गर्दै एकल महिला समूह सिन्धुलीकी अध्यक्ष बनेकी तारा देवकोटा यो समाजमा टिकिखानु साह्रै गाह्रो भएको बताउँछिन्। एकल महिलाप्रति समाज ज्यादै कठोर भएको उनको अनुभव छ।

एकल महिला अधिकारका लागि काम गर्दा घर–घरै धाएर अर्काका छोरी–बुहारी बिगारेको, काम गर्ने समयमा भाषण सुनाएको लगायतका आरोप खेप्नुपरेको उनी बताउँछिन्।

“महिला अधिकारको कुरा गर्दा समाजले देखिसहँदैन”, तारा भन्छिन्, “अरूको अधिकारको कुरा गर्दा आफ्नै सुरक्षाको चिन्ता हुन्छ।”

आ.व. २०७१/७२ को जिल्ला विकास समितिको आँकडा अनुसार सिन्धुलीमा ६ हजार १८८ जना एकल महिला छन्। तीमध्ये अधिकांश निरक्षर र बेरोजगार छन्।

निरक्षर महिलाहरूले द्वन्द्वपीडित राहत तथा आर्थिक सहायता कार्यविधि नियमावली २०६६ अनुसार पाउनुपर्ने सरकारी राहत समेत नपाएको तारा देवकोटा बताउँछिन्। “पहिलो कुरा त एकल महिलाहरूलाई राहत लिने प्रक्रिया नै थाहा छैन, थाहा भए पनि त्यसमा निरन्तर लाग्न सक्दैनन्”, तारा भन्छिन्, “सबभन्दा धेरै त समाजले नै पिरोलेको छ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...