रमझमशुक्रबार, चैत्र १३, २०७१
न्युयोर्कमा नीलिमा
शब्द/तस्वीरः ङिमा पाख्निन, अमेरिका
नेपालीको पोशाक नेपालीले मात्रै लगाउनुपर्छ, परम्परागत नै हुनुपर्छ भन्ने पनि छैन।
नीलिमा शर्मा (तामाङ) (३७) नेपाली मात्रै होइन, पूरै एशियाली युवामा नेपाली पहिरनको बजार देख्छिन्। यसैको अध्ययनका लागि यतिबेला नीलिमा अमेरिका आइपुगेकी छन्।
नमूना कलेज अफ फेसन टेक्नोलोजीबाट स्नातक उनी काठमाडौंमा ‘नीलिमा फेसन स्टुडियो’ सञ्चालन गर्थिन्।
पछिल्लो समय आधादर्जन नेपाली चलचित्रको कस्ट्युम डिजाइन समेत गरेकी उनले नेपाल चलचित्र प्राविधिक संघले वर्षेनि प्रदान गर्ने नेफ्टा अवार्डमा ‘उत्कृष्ट कस्ट्युम डिजाइनर’ २०१३ र २०१४ को उपाधि हात पारिसकेकी छन्।
कस्ट्युम डिजाइनरको हैसियतमा विभिन्न पुरस्कार र सम्मान समेत बटुलेकी उनलाई नमूना कलेजले ‘मेरितोरिअस् अवार्ड’ बाट सम्मानित गरेको छ।
देशभित्र आफ्नो प्रतिभाको पहिचान र कदरबाट उत्साहित नीलिमा अब फेसनको अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने प्रयासमा छिन्।
सात वर्षअघि पहिलोपटक न्युयोर्कको म्यानहटनस्थित फेसन बजार नियाल्न भ्याएकी नीलिमाले त्यहीबेला विश्वबजारमा नेपाली फेसनको सम्भावना देखेकी थिइन्।
यसपटकको उनको अमेरिका यात्रा त्यही सम्भावनाकै अर्को यात्रा हो। अमेरिकामा नेपाली फेसन समेत प्रदर्शन गर्ने तयारी गरेकी उनी भन्छिन्, “नेपालका विभिन्न जातजातिका पहिरनमा थोरै मात्र परिवर्तन गर्दा पनि विश्वबजारमा छाउन सकिन्छ। तर, मौलिकतालाई ध्यान दिनुपर्छ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
