थप समाचारशुक्रबार, चैत्र १३, २०७१

‘गृहमन्त्रीज्यू, पूजा मारिनु कसरी सामान्य भयाे ?’

हिमालखबर

फाइल तस्वीर

फाइल तस्वीर

प्रिय,  बहिनी पूजा,

मानिस जन्मेपछि मर्नैपर्छ । विज्ञानको विकासले मानिस जन्मने मिति भने पनि को, कहिले र कसरी मर्छ भन्न सकेको छैन ।

तर, हाम्रो समाजमा बलात्कृत छोरीहरु भने पटक–पटक मरिरहेकै छन् । यसरी पलपल मरेर बाच्ने छोरीहरुमध्ये म पनि एक हुँ । आफ्नैहरुबाट बलात्कृत भएर बाँचिरहेकै छु । चाहेर पनि मर्न सकिन । र दिनरात कामना गरिरहन्छु, मैलेजस्तो पीडा अरुले भोग्न नपरोस् ।

तर, जब मैले ६ बर्षको कलिलो उमेरमा तिमी बलात्कारबाट अचेत भयौ । अस्पतालमा उपचार हुँदै गर्दा तिम्रो मृत्यु भयो भन्ने खबर सुनेँ । छाँगाबाट खसेझै भएँ । मेरा आँखाहरु रसाए । थामिएनन् आँसु ।

आँखा अगाडि आफ्नै विगतको पीडा र नारकीय दैनिकी झलझली याद आयो । मन भतभती पोल्यो । कसलाई के भनूँ । घरी शब्दहरु भक्कानिएर मन भारी भयो,  घरी  अपराधी सम्झेर रिसले चूर भए ।

ती साना नानीलाई बलात्कार गर्ने हाम्रै दाजुभाई नै हुन् भन्न घीन लाग्यो । यस्तो राक्षसी पुरुषहरुबारे केही बुझ्न सकेकी छैन । टाउको भारी हुन्छ । दिमागले सोंच्न सक्दैन । टोलाइरहने, बर्बराउने भइरहन्छ ।  म नै पूजा हुँ जस्तो लाग्छ ।

पूजाको मृत्युलाई चिकत्सकीय भाषामा  बलात्कारबाट मृत्यु भनियो  । तर, तिम्लाई के थाहा र आफूमाथि भएको त्यो क्रुर र बर्बर आक्रमण बलात्कार थियो भनेर । काखमा खेल्ने फूलजस्तै नानी बलात्कारबाट गुमाउनुको पीडाले परिवारमा कस्तो बज्रपात परेको होला ? मैले भोगेकी छु त्यो पीडा  । सास फेर्न अप्ठ्यारो हुन्छ । आखिर  किन दिनहुँ बलात्कृत  भइरहन्छन महिला ?

पूजा ! उस्तै हो तिम्रो र मेरो भोगाई । तिमी ‘बलात्कार’ नबुझेरै स्वर्गे भयौ  । म आफ्नै बा र हजुरबाबाट बलात्कृत भएर पनि मर्न सकिन । मृत्युको मुखमा पुगेर पनि बाँचेकी छु ।  हाम्रा पीडकहरुका विरुद्ध लड्दैछु । प्यारी बहिनी, म बाँचेसम्म लडिरहनेछु ।

हाम्रो देशको गृहमन्त्रीले ११ चैतमा दिएको अभिव्यक्ति सुनेर म झनै चकित भएँ । के संक्रमणकाल भएकाले हामीले बाँच्नै नपाउने हो ? गृहमन्त्रीलाई सोध्न चाहन्छु, पूजा छोरी भएर जन्मनु उनको अपराध थियो  ? हामी बलात्कृतहरु अपराधि हौं ? के भनेको गृहमन्त्रीजी,  ‘संक्रमणकाल भएकाले बलात्कार हुन्छ भनेर  ।

बेलुन हान्ने र रंग खेल्नेलाई रातारात कानून बनाउन सक्ने सरकारले बलात्कार जस्तो अपराधमा किन कडा सजायको कानून बनाउन  सक्दैन ? गृहमन्त्रीजी हाम्रो अस्मिता र जीवनमाथि अव मजाक नगर्नुहोस् । मर्दै बाँच्ने छोरीहरु धेरै भइसक्यौं । यसले अर्काे अनिष्ट ननिम्त्याओस् । हामीलाई न्याय दिनुहोस् ।

प्रिय पूजा, आफू जति नै पटक बलातकृत भए पनि, म यो अन्यायविरुद्ध लडिरहने छु । मलाई शक्ति देऊ ।

तिम्री दिदी,
पूजा कार्की

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>