ब्लगशनिबार, चैत्र १४, २०७१

भाञ्जाराजाको दरबार, मजलिसको आँखा–११

कमल दीक्षित

bhanjarajaसेन्ट जेभियर ऐले जावलाखेल चौरको उत्तरपट्टि सेन्ट जेभियर स्कूलका ठूल्ठूला भवन उभिएका देखिने ठाउँमै थियो– ‘भाञ्जाराजाको दरबार’।

सन् १९२८ मा लण्डनको कन्स्टेबल कंपनीले एउटा किताप प्रकाशित गरेको छ नेपाल भन्ने। दुई भोलुममा छापिएको छ, त्यो भव्य रूपमा। त्यसका लेखक पर्सिभल ल्याण्डन हुन्। महाराज चन्द्रशमशेरको आशीर्वाद पाएर लेखिएको हुँदा त्यो उनीप्रति अलि बढी संवेदनशील छ भनिन्छ।

त्यस पुस्तकमा राख्न ल्याण्डनलाई चाहिएका नेपालका फोटोहरू खिच्ने अनुमति मात्र होइन पूर्ण सहयोग नै पाएछन् महाराजबाट। त्यसका लागि भारतबाट कोही फोटोग्राफर नेपाल झिकाइएछन्।

ती फोटोग्राफरले के कति फोटोहरू खिचे थाहा छैन तर तीमध्ये निकै ओटा ल्याण्डनले आफ्नो कितापमा प्रयोग गरे। ती फोटोहरू खिच्ने जो भए पनि तिनले आफूले खिचेका धेरै फोटोहरू ठूलो ‘प्रिन्ट’ गराएर एउटा मोटो अल्बम नै बनाई महाराजलाई चढाएछन्।

त्यो अल्बम या त्यसको एक अंश ‘घुम्दैफिर्दै’ मपुपु–मा आइपुगेको हो भनेर मैले बताइसकेको छु। त्यस अल्बममा भएको अर्को एउटा फोटो नै आजको हाम्रो विषय हो। त्यसमा एउटा दरबारको तस्वीर र त्यसमुन्तिर सेतो अक्षरमा ‘रेजिडेन्स अफ भान्जाराजा’ भन्ने लेखेको छ। त्यसबारेमा आज अलिकति चर्चा चलाऊँ।

कुन ‘भाञ्जाराजा’ को निवास हो यो थाहा भएन। ती भाञ्जाराजाको हुलिया के हो, ती कसका ‘भाञ्जा’ हुन् पक्कापक्की कसैले मलाई भनिदिएन। मैले आफैंले खोजेर बुझेको कुरा म लेख्दैछु, ठीक–बेठीक जे होला।

राणाकालमा ‘भाञ्जाराजाको दरबार’ भनिने जावलाखेल चौरको उत्तरपट्टि रहेको, त्यस महलको त ऐले नामोनिसान बाँकी छैन, त्यस ठाउँमा ऐले सेन्ट जेभियर स्कूलका ठूल्ठूला भवन उभिएका देखिन्छन्।

श्री ५ सुरेन्द्रका नातिका छोरा होमविक्रम, वीरशमशेर महाराजका भाञ्जा थिए या पर्थे। उनी जंगबहादुरको कुनै रानीबाट जन्मेका ‘जुनाराजा’ भनिने साहेबज्यूका सन्तान थिए। उनैका लागि महाराजले यो भवन निर्माण गराइदिएको बुझिन्छ। त्यसैलाई दुनियाँले ‘भाञ्जाराजाको दरबार’ भन्न थालेका हुन्।

होमविक्रमले जुद्धशमशेरका दुई छोरी मैयाँहरू बिहे गरेका थिए। तर उनीहरूको चाँडै नै मृत्यु भयो। त्यसपछि उनले भैरवशमशेरकी छोरी रोहिणीलाई बिहे गरे। सात सालपछि रोहिणी शाह राजनीतिमा सक्रिय भएर गोरखा परिषद्रुमा संलग्न भई ‘वीराङ्गना दल’ को एउटी खम्बा नै हुनपुगेकी थिइन्। उनकै छोरा हुन् प्राज्ञ खगोलविद् ऋषि शाह।

नब्बे सालको भैंचालाले होमविक्रमको दरबार भत्किएपछि महाराज जुद्धशमशेरले आफ्नी छोरीका लागि आफ्नो दरबार नजीकै, भनिमण्डलमा घर बनाइदिएका थिए। उनीहरू त्यही घरमा बस्थे। जावलाखेलको दरबार खाली जस्तै थियो।

xavierनेपालमा प्रजातन्त्र आएर क्रिस्चियन मिसनरीहरूले स्कूल खोल्न पाएपछि गोदावरीमा सेन्ट जेभियर स्कूल खुल्यो। त्यसलाई शहरतिर पनि एउटा सेक्सन खोल्न भनी घरजग्गा खोज्दा ‘फादर’ हरूले भाञ्जाराजाको त्यो खाली दरबार फेला पारेर खरीद गरे। गोदावरीको ‘अपर सेक्सन’ भनेर खुलेको त्यो भवन ऐले त सेन्ट जेभियरको मूल केन्द्र नै भएको छ।

यस सम्बन्धमा मैले सुनेको एउटा किंवदन्ती पनि उल्लेख गर्ने अनुमति चाहन्छु। त्यस कथाको पूर्ण सत्यता प्रमाणित गर्न म असमर्थ छु तापनि मेरा (९५ वर्षीय) दाजु प्रकाशमणिले भन्नुभएकाले सत्य नै होला भनी भन्दैछु।

हाम्रा दाजु नयाँनयाँ खुलेको अमेरिकनको ‘यूएस ओएम’ मा जागीरे हुनुहुन्थ्यो। उहाँलाई अमेरिकन हाकीमहरूले भरपत्यारको मानेका थिए। हामी पाटनका निवासी हौं भन्ने बुझेपछि दाजुलाई उहाँका एक जना हाकीमले ‘पुल्चोक, पाटन शहर बाहिरको एरियामा कुनै ढुङ्गेधारा छ रे पुराना केपुचिन फादरहरूले बनाएको, त्यो खोजिदिन सक्छौ?’ भनेर सोधेछन्।

दाजुले सोधखोज गर्नुभयो तर कसैले क्यै भन्न सकेनन् रे! त्यो ढुङ्गेधारामा कुनै किसिमको ‘क्रस’ चिह्न समेत थियो पनि भन्नुभएछ तर थाहा छैन भनियो रे!

पछि दाजुले यो किन चाहिएछ भनेर बुझदा थाहा पाउनुभएछ– सेन्ट जेभियर्सका फादरहरूले खोजेका रे त्यो। फादरहरूले बुझेका रहेछन् अठारौं शताब्दीमा भोटतिरबाट नेपाल छिरेका केपुचिन फादरहरू नेपालमा शहरभित्र बस्न नपाएपछि पाटन बजारको बाहिरपट्टि ऐलेको छायाबहाल, गाबहालदेखि जावलाखेलसम्ममा कतै डेरा जमाएर बसेका थिए रे!

त्यहीं उनीहरूले आफूहरूले खानेपानीका लागि त्यस बेलाको चलन अनुसार एउटा धारो पनि बनाएछन्। यसै भएर जेभियर्सका फादरहरूले नेपालमा आफ्नो थलो जमाउन यतै पुल्चोकदेखि जावलाखेलसम्मका घरजग्गा खोजेका रहेछन्। हाम्रो दाजुले बुझेको कुरा हो यो करीब ६० वर्षअघि। ऐले मैले पनि त्यही बुझें भन्नुपर्छ।

‘भाञ्जाराजाको दरबार’ को फोटो देखेपछि यति कुरा उब्जे यहाँ। तर पक्कापक्की कुनै कुरा पनि भन्न सकिएन। यति पस्किएका परिकारबाट हिमाल का पाठकहरूले जे जे निष्कर्ष निकाल्नुहुन्छ त्यही सदर!

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...