ब्लगशनिबार, चैत्र १४, २०७१

म प्रधानमन्त्री भए…!

महेश थापा

स्केजः विलाश राई

स्केजः विलाश राई

कसैलाई घरबार नहुँदाको सुर्ता त कसैलाई दरबार नहुँदाको। भूपूदेखि चालुसम्मका हाम्रा पीएमहरू भने देश विकास गरिदिने माया–दैत्य भेट्न नसकेकोमा चिन्तित छन्।

त्यो कुर्सी नै मायावी भएर हो कि, महामनाहरू तिलस्मी सिंहदरबार पस्नासाथ देश बनाउने डिंगो अरू कोही नभएर कार्यकारी प्रमुख भनिने जन्तु नै हो भन्ने भुसुक्क बिर्सेर बिनाको खोजीमा भट्किएको कस्तूरी भइदिन्छन्।

एकबारको जुनीमा प्रधानमन्त्री हुने मौका मलाई जुर्‍यो भने चाहिं शपथग्रहण नै अन्तरिम संविधानको धारा ३७ घोकेर मात्र गर्थें, ताकि पिलन्धरे काँधमा आइपर्ने पहाड जत्रो जिम्मेवारीबारे द्विविधा नरहोस्!

आफू हनुमान भई जोतियो, पगरी चाहिं धम्मरधुसे ढेडुको शिरमा गयो भने क्यार्नु? भन्ने पिरलोले होला मिस्टर पीएमहरू राम्ररी पदभार ग्रहण नगर्दै सरकारका उपलब्धिहरू सार्वजनिक गर्न फिटफिटिन्छन्, काम भन्दा नामको चटारोले नाकाम हुन पुग्छन्।

पीएमहरूलाई अधुरो आयोजना उद्घाटन गरेर होस् वा हावादारी परियोजना शिलान्यास गरेर; मधुमास र वर्षीका उपलब्धि ताम्रपत्रमा जारी गर्ने चटारोमै भ्याई–नभ्याई भइआएको छ।

म चाहिं झ्िनामसिना भए’नि चट्टसँगले कामै निप्टाउँछु। देशको नयाँ प्रधानमन्त्रीको रूपमा पुरानो रजिष्टरमा हस्ते धस्काउने बित्तिकै एक गिलास पानी सट्काएर कामको प्राथमिकता सूची तयार पार्छु।

स्यालले कुखुरा लगिसके’सि खोर मर्मतमा लाग्ने परम्परामा क्रमभंग गर्दै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया थाल्छु। रनवेमा विमानको पांग्रा धसिएर चार/चार दिन एअरपोर्ट बन्द भयो भन्दै अरण्यरोदन गर्ने चलनमा झयाप्प ब्रेक मारेर दोषीहरूलाई जवाफदेही बनाउने तानावाना बुन्छु।

म हरितन्नम् वा बुंगो हुनु नै मन्त्री/प्रधानमन्त्री पड्काउने वाञ्छनीय योग्यता हो भन्ने मान्यताको लास्टै विरोधी हुँ। मलाई गरीबी हटाउने ल्याकत नै नेतृत्वको योग्यता हो भन्ने लाग्छ। सस्तो लोकप्रियताको खेतीको सट्टा जीविकोपार्जनको वैकल्पिक पेशा अपनाएर पनि राजनीति गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न आय र व्ययपछिको आफ्नो बचत हिसाब जनतासमक्ष राख्छु।

तीन थान मोबाइल सेट देखाएर दयाभाव जगाउने खेती गर्नुभन्दा इन्टरनेट जोडिएको स्मार्टफोनबाट मातहतका निकायलाई आदेश/निर्देश दिंदै छरितो प्रशासनको जग बसाल्छु। भ्रष्टाचारप्रति शून्य सहनशीलताको सहनाई बजाउन्न, बरु ठूलाखाले दुई/चार भ्रष्टलाई तुरुङमा जाकेर बाँकी भ्रष्ट र तिनका उत्तराधिकारीहरू समेतको सुरुवाल भिज्ने स्थिति सिर्जना गरिदिन्छु।

भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई थप जब्बरे बनाएर भ्रष्टहरूलाई पिलन्धरे पार्छु। त्यस्तै, काम छाडेर कुकाउँदै कार्यकारी प्रमुखलाई नै बुख्याँचा बनाउन रुचाउने कर्मचारीहरूको हातहातमा ‘अल्छीको पुङ’ भन्ने प्रमाणपत्र थमाउँदै घर बस्न पठाउँछु।

त्यसरी त्यस्ता मण्डलीहरूको दोहोलो काढेर कर्मचारीतन्त्रभित्रका कर्मठहरूलाई महत्वपूर्ण स्थानहरूको जिम्मुवाल बनाउँछु। ढुकी बस्दा कुनै दिन आकाशबाट प्वाक्क सुशासन खस्ला र टप्प टिपी क्वाप्प पारम्ला भन्ने बेवकुफी गरेर बस्दै बस्दिनँ।

कममा ठेक्का कबोलेर काम नगर्ने चतुरे ठेकेदारहरूको सातो टिपेर ‘सिस्टम’ बसाल्छु। विकास निर्माण भएन भन्ने जनताको प्रश्नलाई कार्यकारी प्रमुखको आसनमा गजधम्म बसेर क्यारेमबोर्डमा झैं ‘टंकी’ ख्वाएर जनता जनार्दनकै थाप्लोमा हान्दै गधा झैं ढेंचुढेंचु हाँस्ने चलनलाई गधाको शिरमा सिङ झ्ैं बनाउँछु। पराइको आँगनमा चकाचक देख्दा ‘फ्रस्टेट’ नभई आफ्नो आँगनमा पनि कुचो लगाएर बसम् बसम् लाग्ने बनाउँछु। अनि, उल्टी प्रश्न गरेर संसदीय समितिका ठेउकेहरूलाई ट्वाँ पार्ने तिर्तालेहरूलाई जहाँबाट आएको हो त्यहीं फर्काएर दूधको दूध पानीको पानी पार्न नसके खरानी घस्छु, कमण्डलु बोक्छु र बालुवाटारबाट टाप कस्छु।

परीक्षकज्यू,

मनमा यस्ता लड्डु अझ् धेरै छन्, तर बाँकी प्रश्न हल नगरी उत्तीर्ण होइन्न। राजनीतिमा जस्तो फेल हुँदा’नि फल लुँड्याउने सुविधा परीक्षार्थीलाई भएको भए प्रश्नपत्रको निधारमै त्यस्तो सूचना लेखिएको हुन्थ्यो होला।

नलेखिएकोले त्यस्तो आशा गर्न मिलेन। यति चाहिं थप्छु– हिंड्दाहिंड्दै प्रभुको कृपाले प्रधानमन्त्री भइहालें भने मेरो कान नचिरिने लिखित ग्यारेन्टी अहिल्यै गर्छु। कदाचित्, चिरिएछ भने पनि जनता यिनै हुन्– थप चर्तिकला हेरून्, आरती उतारून्, बसून्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...