रिपोर्टआइतबार, चैत्र १५, २०७१
विप्लव माओवादी – दक्षिणपन्थी दाहिना
आफूलाई सबैभन्दा क्रान्तिकारी ठान्ने विप्लव नेतृत्वको माओवादीको व्यवहारमा दक्षिणपन्थी रुझान देखिन्छ ।
-सन्त गाहा मगर
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा ‘क्रान्तिकारिता’ सकिएको घोषणा गर्दै ८ मंसीरमा पार्टी फुटाएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले २७ फागुनमा ‘देशभक्त संघीय जनवादी मोर्चा’ गठन गर्यो ।
पार्टीका दलित विभागका केन्द्रीय संयोजक तथा पूर्व सभासद् तिलक परियार अध्यक्ष रहेको मोर्चामा वीरबहादुर केसीको देशभक्त जनता नेपाली दल, डीबी नेपालीको नेपाल गौरव पार्टी, जेबी धौलाकोटीको जनमोर्चा नेपाल र कुमार हुमागाईंको हाम्रो नेपाल पार्टी छन् ।
तर, आफूहरूलाई ‘असली क्रान्तिकारी’ भनी हौवा फैलाए पनि मोर्चाका दलहरूको पृष्ठभूमिमा वामपन्थी होइन, दक्षिणपन्थी झुकाव देखिन्छ ।
वाम विश्लेषक श्याम श्रेष्ठ विप्लव माओवादीको व्यवहारले चरम दक्षिणपन्थीलाई नै फाइदा पुगेको बताउँछन् । एमाओवादीका सभासद् श्रेष्ठ भन्छन्, “२०६२/६३ को जनआन्दोलन, गणतन्त्र र संविधानसभाको विरोध गर्दा परिवर्तन पक्षधरलाई फाइदा हुँदैन ।”
त्यसो त राष्ट्रियताको मुद्दा र गद्दारलाई तह लगाउन पूर्व राजासँग समेत सहकार्य गर्न सकिने बताउँदै आएका विप्लव माओवादीका नेताहरूले संविधानसभाको तत्काल विघटनको माग समेत राखेका छन् । विश्लेषक नीलाम्बर आचार्य विप्लव माओवादीका व्यवहार समय र परिस्थिति विपरीत भएको बताउँछन् ।
जनवादी अधिनायकत्व स्थापित गर्ने मनसायले सञ्चालित उसको रणनीति पूरा नहुने बताउँदै उनी भन्छन्, “२०५२ सालमा माओवादीले हिंसात्मक विद्रोह गर्दाताका जस्तो शैली अख्तियार गर्नु उनैका लागि प्रत्युत्पादक हुन्छ ।”
विप्लव माओवादीको तर्क भने फरक छ । पार्टीका पोलिटब्यूरो सदस्य गुणराज लोहनी राष्ट्रियताको सवालमा देशभक्तसँग मोर्चाबन्दी गरिएको बताउँछन् । उनी भन्छन्, “राजतन्त्रको अन्त्य भइसकेकाले दक्षिणपन्थीको परिभाषा प्रष्ट छैन । त्यसैले देशभक्तहरू मिलेर दलाल पूँजीपतिको विपक्षमा उभिनुपर्छ ।”
माउ पार्टी वैद्य माओवादी भने विप्लव माओवादीलाई दक्षिणपन्थी अवसरवादी भन्न रुचाउँछ । ११–१४ पुसमा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा प्रस्तुत दस्तावेजमा मोहन वैद्यले लेखेका छन्, “समग्रमा उनी (विप्लव) वाम जस्तो देखिए पनि सारमा दक्षिणपन्थी अवसरवाद उन्मुख छन् ।” वैद्यको दस्तावेजमा भनिएको छ, “राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पनि विप्लवमा समस्या छ । उनले नेपाली जनवादी क्रान्तिका लागि मजदूर, किसान वर्गको भूमिकालाई गौण स्थानमा राखी मध्यम वर्गको भूमिकामाथि विशेष जोड दिएका छन् ।”
हुन पनि गरीब जनताका समस्यामा भन्दा प्रचारमुखी कार्यक्रममा विप्लव केन्द्रित देखिन्छन् । वैद्यसँग विभाजनलगत्तै व्यापारीको ग्याँस लुटेर मध्यमवर्गमा वितरण गर्नुले पनि यसैको संकेत गरेको देखिन्छ ।
‘करोडौं भ्रष्टाचार गर्नेलाई कारबाही नगरी अख्तियारले न्यून रकम भ्रष्टाचार गर्ने तल्लोस्तरकालाई मात्र खोजीखोजी कारबाही गरेको’ भन्दै विप्लव माओवादीले १८ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझयो । तर ५ चैतमा यिनै माओवादीले सुर्खेत जिल्ला प्रशासन कार्यालयका मुद्दा फाँटका नायबसुब्बा बलबहादुर थापालाई कालोमोसो दल्यो । थापा विप्लव माओवादीकै शब्दमा ‘न्यून रकम भ्रष्टाचार गर्ने तल्लोस्तरका कर्मचारी’ कै प्रतिनिधि थिए ।
एनेकपा माओवादी, नेकपा–माओवादीले पार्टी एकीकरणको चर्चा गरिरहँदा विप्लव माओवादी यसको विपक्षमा देखिन्छ । पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी र मोहन वैद्य नेतृत्वको माओवादीले सत्ता स्वार्थका लागि पार्टी एकताको कुरा गरेको विप्लवको बुझइ छ ।
पोलिटब्यूरो सदस्य लोहनी भन्छन्, “छलफल जति गरे पनि माओवादीहरूबीचको एकता सम्भव छैन ।” उनी सत्य निरुपण तथा मेलमिलाप आयोग, सर्वोच्च अदालतको फैसला लगायतका विषयमा भने मोर्चाबन्दीसम्म गर्न सकिने बताउँछन् ।
६ चैतमा लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तको काठमाडौं, बाँसबारीस्थित घरमा कालो झण्डा गाड्ने प्रयासमा विप्लव माओवादीका ईश्वरी दाहाल, पदम राई लगायतका १६ कार्यकर्तालाई प्रहरीले पक्राउ गर्यो । बोर्डले माथिल्लो कर्णाली, माथिल्लो मर्स्याङ्दी–२, अरुण–३ लगायत आयोजनामा गरेको सम्झैता ‘राष्ट्रघाती’ भन्दै पन्त निवासमा पुगेका उनीहरूलाई ९ चैतमा छाडिएको थियो ।
नेकपा–माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको बुझाइमा पनि विप्लव माओवादीको क्रियाकलापले पुरातनवादी शक्तिलाई नै मलजल गरिरहेको छ । उनी वैधानिक आन्दोलन गर्दा निजी निवासलाई तारो बनाउनु गलत भएको बताउँछन् ।
विश्लेषकहरू ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भने जस्तै भर्खर फुटेको माओवादीले आफ्नो उपस्थिति देखाउन यस्ता हर्कत गरेको बताउँछन् । एमाओवादीबाट फुटेर आएलगत्तै वैद्य माओवादीले स्कूल बसमा आगजनी गर्ने, बम प्रहार गर्ने गरेका घटना जस्तै विप्लव माओवादीले यस्तो कदम उठाएको बताउनेहरू पनि छन् ।
माओवादी आन्दोलनका विश्लेषक मुमाराम खनाल पार्टीको अस्तित्व जोगाउने नाममा विप्लवहरूले जे सकिन्छ त्यही गरिरहेको बताउँछन् ।
संविधानसभामा कस्तो संविधान निर्माण गर्ने भन्ने विषयमा बहस भइरहेका बेला उनीहरूको व्यवहारले जनतालाई नै घाटा पुर्याउने उनको विश्लेषण छ । उनी भन्छन्, “जतिसुकै चिच्याएर जनताका लागि भने पनि माओवादीको व्यवहारले दक्षिणीपन्थी प्रवृत्तिलाई नै सघाएको छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
