रमझममंगलबार, चैत्र १७, २०७१
हिमालयको हिसाबकिताब (पुस्तक चर्चा)
– रमेश कुमार
भूगर्भविद् प्राध्यापक डा. मेघराज धितालको पुस्तकले हिमालय क्षेत्रको भूविज्ञानबारे स्थापित अनेकन् पुराना मान्यतालाई चुनौती दिएको छ।
स्वीट्जरल्याण्डको स्प्रिगंर पब्लिकेशनले गएको फेब्रुअरीमा नेपाली भूगर्भविद् प्राध्यापक मेघराज धितालको पुस्तक ‘जियोलोजी अफ दी नेपाल हिमालय’ प्रकाशित गर्यो ।
हिमालय क्षेत्रको भौगर्भिक अवस्थाबारे लेखिएको यो महत्वपूर्ण पुस्तकले भूगर्भ–विमर्शमा रोचक तथ्य प्रस्तुत गरेको छ। पुस्तकको चर्चासँगै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा तीनदशकदेखि भूगर्भशास्त्र पढाइरहेका धितालको विद्वत्ताको प्रसार भएको छ।
४९८ पृष्ठको ‘जियोलोजी अफ दी नेपाल हिमालय’ पुस्तकको मूल्य बाक्लो गाता १३० युरो (करीब रु.१४ हजार २००), पातलो गाता ११० युरो (करीब रु.१२ हजार) र इ–कपीमा १०९ युरो (करीब रु.११ हजार ७००) छ ।
चार वर्ष लगाएर धितालले लेखेको पुस्तकले २ हजार ४०० किमी लामो हिमालय क्षेत्रबारे उपलब्ध पुराना सन्दर्भ सामग्रीको समीक्षाका साथै यसको भू–बनोटबारे अध्ययन गर्न चाहनेलाई प्रशस्त स्रोत उपलब्ध गराएको छ।
जियोलोजिकल सर्भे अफ इण्डियाका पूर्व निर्देशक ओम भार्गवले भूमिका लेखेको पुस्तकमा हिमालयका ३०० भन्दा बढी भौगर्भिक नक्शा समेत समेटिएको छ।
चार दशकअघि नेपालको भूविज्ञानमाथि भूगर्भविद् डा. चन्द्रकान्त शर्माले ‘जियोलोजी अफ नेपाल’ पुस्तक लेखेका थिए। तर, हिमालयको भूविज्ञानमाथि पुस्तक लेखेर अन्तर्राष्ट्रिय प्रकाशन गृहबाट प्रकाशन गराउने धिताल पहिलो नेपाली हुन्।
पुस्तकको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको हिमालयको चट्टानमाथिको बहसलाई थप फराकिलो बनाउनु रहेको छ। जस्तो कि हिमालय क्षेत्रका चट्टान भर्टिकल फल्ट (भ्रम्स) स्वरुपमा बसेका छन् भन्ने पुरानो धारणाको विकल्पमा अघि आएको तेर्सो भ्रम्सको तथ्यलाई थप पुष्टि गरेको छ। लेखक धितालका अनुसार, हिमालय क्षेत्रका चट्टान खप्टिएर बसेका छन् भन्ने स्वीस भूगर्भशास्त्रीहरूको तथ्यलाई पुस्तकले अझ प्रमाणित गर्न खोजेको छ।
भू– विज्ञानमा चट्टानको बसाइ कस्तो छ भन्ने पत्ता लागेमा खनिज उत्खनन्, जलविद्युत् आयोजना निर्माण, सुरुङ निर्माण, पहिरोको सम्भाव्यता, जमीनमुनिको पानी, माटो आदिमा पूर्वानुमान गर्न सकिन्छ।
पुस्तकले हिमालयको संरचना केलाउँदै भूविज्ञानका कतिपय चलनचल्तीका शब्दको उत्पत्ति, प्रयोग र दुरुपयोगबारे तथ्य पस्किएको छ। “शिवालिक, लिसर हिमालय, मुख्य सेन्ट्रल थ्रस्ट जस्ता शब्दको उत्पत्ति, प्रयोगबारे पुराना गल्तीलाई सुधारेको छु” धिताल भन्छन्। साथै विभिन्न भौगर्भिक संरचनाको सम्बन्ध र यसबारे नयाँ पुराना दृष्टिकोणको समीक्षा समेत गरिएको उनी बताउँछन्।
धितालको खोजकै परिणामस्वरुप नेपाल र भारतबीचको भौगर्भिक नक्शामा एकरुपताको पहल समेत थालिएको छ। नेपाल–भारत सीमाका भौगर्भिक नक्शाले संकेत गरेका चट्टान फरक भेटिएपछि उनले भारतका पुराना नक्शामाथि समेत प्रश्न उठाएका छन्। जसलाई भारतीय भूगर्भविद्हरूले समेत शुरुमा पत्याएका थिएनन्।
तर, सीमा क्षेत्रका चट्टानको विशेषता समान हुनुपर्ने धितालको भनाइमा अहिले भारतीयहरू समेत सहमत देखिएका छन्। यसबारे थप प्रष्ट पार्न आउँदो महीना लखनऊमा हुने सम्मेलनमा धिताललाई निमन्त्रणा आएको छ।
वर्षौंदेखि चूपचाप कर्ममा खटिरहेका धिताललाई प्रकाशकसँग पनि अरुले नै पुर्याषइदिएका हुन्। सन् २०१२ मा भूगर्भशास्त्रीको अन्तर्राष्ट्रिय सम्मेलनका बेला नेपाल आएका विदेशी प्राध्यापकहरूले धितालको गहन अध्ययनप्रति चासो देखाउँदै पुस्तक निकाल्न स्प्रिगंरलाई सुझाए।
त्यसपछि स्प्रिगंरले धितालको अनुसन्धानमाथि सोधखोज गर्योप। अनेकौं चरणमा सम्पादन भए। पुस्तकका लागि सामग्री संकलन र विश्लेषणका लागि धितालले देशका थुप्रै दुर्गम हिमाली क्षेत्र छिचोले। यतिले नपुगेर सन्दर्भ सामग्रीको खोजीमा अष्ट्रिया, स्वीट्जरल्याण्ड, जर्मनी, जापान र भारतको कोलकाता पुस्तकालयमा पनि महीनौं बिताए।
मेड्ली कोटले सन् १८३५ तिरै नेपालको भूविज्ञानको अध्ययन थालेको मानिन्छ। तर, त्यसको झण्डै सय वर्षपछि १९५० तिर स्वीस भूगर्भविद् टोनी हागन यसतर्फ आकर्षित भए।
उनैको भौगर्भिक नक्शाङ्कनका आधारमा नेपालमा थुप्रै अनुसन्धान भइरहेका छन्। हागनले नेपालबारे प्रकाशन गर्न चाहेको चारमध्ये दुई भाग मात्र प्रकाशित गर्न सके, बाँकी उनकी छोरीले प्रकाशनको तयारी गरिरहेकी छन्। यसबाट पनि केही नयाँ तथ्य निस्कनेमा धिताल आशावादी छन्।
रुसबाट भूगर्भशास्त्रमा एमफिल सिध्याएर सन् १९८२ मा स्वदेश फर्किएका धिताल त्यसयता त्रिविमै अध्यापन गरिरहेका छन्। नेपाल भौगर्भिक समाजको अध्यक्ष तथा त्रिवि भूगर्भशास्त्र विभाग प्रमुख समेत भइसकेका उनका दर्जनौं लेख विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।
विकसित देशले भूगर्भको महत्व उहिल्यै चिने पनि नेपालमा भने यो विषय प्राथमिकतामै नपरेको देख्दा धिताललाई उदेक लाग्छ। उनी कतिपय भौगर्भिक नक्शाको अभावमा नेपालमा सम्भावित थुप्रै खनिज उत्खनन्मा बाधा पुगिरहेको बताउँछन्।
भूबनोटका हिसाबले युरेनियमदेखि, पेट्रोल, रत्नपत्थरदेखि रेयर अर्थ मेटलसम्मका दुर्लभ खनिज नेपालमा हुनसक्ने औंल्याउँदै धिताल भन्छन्, “संसारमा सबै चिज खानीबाटै आउने हो भन्ने नबुझेसम्म प्रगतिको ढोका खुल्दैन।”