रमझमशुक्रबार, चैत्र २०, २०७१

विमान मर्मत गर्ने सिन्जा

हिमालखबर

sinzzaपुरुषको काम ठानिने मेकानिकल इन्जिनियरिङमा महिला प्रतिनिधि सिन्जा आफ्नो पेशाप्रति गर्व गर्छिन्।

प्राविधिक काममा नेपाली महिलाको सहभागिता न्यून छ। त्यसमा पनि वायुयान मर्मतमा महिला उपस्थिति औंलामै गन्न सकिन्छ। तर, काठमाडौंकी सिन्जा उपाध्याय (२५) दुई वर्षदेखि वायुयानका पार्टपुर्जासँगै रमाइरहेकी छन्।

परिवारका सबैजसो इन्जिनियर भएकाले पनि सिन्जालाई सानैदेखि यो पेशाले आकर्षित गर्‍यो। भन्छिन्, “अरु केही बन्छु भन्ने सोचाइ नै आएन।”

भविष्यप्रति स्पष्ट उनी सरासर काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङमा भर्ना भइन्। उनको ब्याचमा जम्मा ५२ जना विद्यार्थीमा दुई जना मात्रै छात्रा थिए। “परिवारले मात्र होइन, कलेजले पनि सधैं हौसला दिइरह्यो”, उनी भन्छिन्।

स्नातक सिध्याएर दुई वर्षअघि उनी बुद्ध एअर पुगिन्। अहिले उनी त्यहींको योजना विभागमा कार्यरत छिन्। “जहाजको नियमित चेकजाँच, मर्मत, सर्भिसिङ गर्ने जस्ता विषयमा योजना बनाउँछु”, उनी भन्छिन्।

बुद्ध एअरको १६ सदस्यीय योजना विभागमा पनि सिन्जा एक्ली महिला हुन्। तर, दिनरात पुरुषको भीडमा काम गर्दा पनि उनलाई एक्लो महसूस हुँदैन। उनी भन्छिन्, “बरु महिला भएर किन यस्तो विषय पढेको भन्दै सोधेर हैरान बनाउँछन्।”

वायुसेवा तुलनात्मक रुपमा जोखिमपूर्ण भएकाले यसको मर्मत गर्न पुरुष नै चाहिन्छ भन्ने परम्परागत सोच हट्नुपर्ने सिन्जाको तर्क छ। परिवारले प्रोत्साहन गरे धेरै महिलाले नौलो पेशामा अनुभव हासिल गर्ने बताउँदै उनी भन्छिन्, “काम सजिलो छैन तर महिलाले गर्न नसक्ने दुनियाँमा कुनै काम छ र?”

सजना बराल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>