टिप्पणीशुक्रबार, चैत्र २०, २०७१

स्त्री जननेन्द्रियको संक्रमण

डा. सुमनराज ताम्राकार

infectionमहिलाको तल्लो पेट दुख्ने समस्याप्रतिको लापरबाहीले जननेन्द्रियको माथिल्लो भागको संक्रमण फोक्सोसम्म फैलिएर जटिल बन्न सक्छ।

स्त्रीरोगको बहिरङ्ग विभागमा आउने महिलाको प्रमुख गुनासोमध्ये तल्लो पेट दुख्ने एक हो। स्त्री जननेन्द्रियको माथिल्लो भागमा संक्रमण हुँदा तल्लो पेट दुख्छ। माथिल्लो भागमा डिम्बवाहिनी नली, डिम्बाशय र वरिपरिका अङ्गहरू पर्दछन्। तल्लो पेट दुख्ने करीब ८५ प्रतिशत समस्या यौनजन्य गतिविधिमा सक्रिय, असुरक्षित यौनसम्पर्क गर्ने महिलामा देखिन्छ। बाँकी १५ प्रतिशत समस्या चाहिं असुरक्षित स्वास्थ्य जाँचबाट हुन्छ।

योनीमार्गको अम्लीय वातावरण (योनीरस) र नियमित रूपमा पाठेघर तथा योनीद्वारको बाह्य सतह फेरिने कारण सितिमिति जननेन्द्रियमा संक्रमण हुँदैन। यौन गतिविधि, पाठेघरमा राखिएको कपर टी, योनीद्वारमा डुस दिने बानी आदि कारणले जननेन्द्रियमा संक्रमणको जोखिम बढ्छ। एक पटक संक्रमण भएपछि दोहोरिरहन सक्छ। कण्डम, कमल चक्की, हर्मोनयुक्त पिल्स प्रयोग गर्ने र एकभन्दा बढीसँग यौन सम्पर्क नगर्ने, गर्भवती, रजनोवृत्ति भएकी महिलालाई भने संक्रमण हुने सम्भावना निकै कम हुन्छ।

नेपाल जस्तो विकासोन्मुख देशमा स्त्री जननेन्द्रियमा लाग्ने क्षयरोग, सुत्केरी वा गर्भपतन लगत्तै गरिने असुरक्षित परीक्षण तथा उपचारका साथै ब्याक्टेरिया, भाइरस तथा ट्राइकोमोनास, क्यान्डिडा लगायतका संक्रमणले माथिल्लो भागको जननेन्द्रियमा संक्रमणको खतरा हुन्छ। यस्तो संक्रमणको मुख्य कारक जीवाणुमा नाइसेरिया गोनोरिया (३० प्रतिशत), क्लामाइडिया ट्राकोमाटिस (३० प्रतिशत), माइकोप्लाज्मा होमिनिस (१० प्रतिशत) एवं इकोलाई, स्ट्रेप्टोकोकस, स्टाफाइलोकोकस र व्याक्टेरोइड्स हुन्।

बढीजसो महिलामा तल्लो भागको जननेन्द्रियको संक्रमण नै माथिसम्म फैलिएको हुन्छ। तल्लो पेट दुख्ने, ज्वरो आउने, गन्हाउने स्राव बग्ने, पाठेघरको मुख चलाउँदा निकै पीडा महसूस हुने तथा पाठेघरको दुवैतिरका अङ्ग दुख्ने भयो भने समस्या बढेको सम्झ्नुपर्छ। यस अलावा अल्छी लाग्नु, टाउको दुख्नु, वाक्वाकी लाग्नु, उल्टी हुनु, यौनसम्पर्क राख्दा पीडा हुनु, अनियमित महीनावारी वा अत्यधिक रगत बग्नु पनि संक्रमणको लक्षण हुन सक्छ। संक्रमण कलेजोसम्म फैलिसकेको छ भने दायाँ कोखा दुख्छ।

तल्लो पेट छाम्दा दुख्नु, पिप वा असामान्य योनीस्राव बगेको देखिनु, योनीद्वार वा पिसाब आउने प्वाल राताम्य हुनु पनि संक्रमणको प्रमाण हो। ल्याब परीक्षण, अल्ट्रासाउण्ड र ल्याप्रोस्कोपी प्रविधिबाट संक्रमणको अवस्था खुट्याउन सकिन्छ। जननेेन्द्रियको संक्रमण हो वा अरू रोग भनेर निश्चित नहुँदा ल्याप्रोस्कोपी प्रविधि अपनाइन्छ। राम्रोसँग उपचार गरिएन भने डिम्बवाहिनी नलीमा पिप भरिने, पानीको फोका आउने, पिपयुक्त डल्लो बन्ने, आन्द्रा तथा तल्लो पेटको भित्तामा डिम्बवाहिनी नली टाँसिने जस्ता जटिलता आउन सक्छ।

जटिलता रोक्न जननेन्द्रिय संक्रमणको उपचार गरिन्छ। उपचारका क्रममा विभिन्न प्रतिजैविक (एन्टीबायोटिक तथा एन्टीमाइक्रोबियल) औषधि दिइन्छ। उपचार थालेको ४८ देखि ७२ घण्टाभित्र सुधार देखिनुपर्छ। सुधारको ४८ घण्टापछि अस्पतालबाट डिस्चार्ज गर्न सकिन्छ। सर्जिकल उपचार गर्नुपर्ने बिरामीलाई अस्पताल भर्ना नै गर्नुपर्छ। कतिपय बेला बिरामीका श्रीमान् वा यौनसाथीलाई पनि सँगै उपचार गर्नुपर्ने हुन्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>