Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तिब्बत हेर्ने अंग्रेज आँखा (इतिहास) - Himalkhabar.com

टिप्पणीशनिबार, चैत्र २१, २०७१

तिब्बत हेर्ने अंग्रेज आँखा (इतिहास)

ज्ञानमणि नेपाल

वि.सं. १९९२ तिरको पोताला दरबार।

वि.सं. १९९२ तिरको पोताला दरबार।

अहिले अमेरिकाले जस्तै राणाकालमा तत्कालीन महाशक्ति बेलायतले नेपालबाट तिब्बतमाथि नजर लगाउँथ्यो।

विक्रमको बीसौं शताब्दीमा ब्रिटिश साम्राज्य विश्वभरि फैलिएको थियो। ब्रिटिश साम्राज्यमा सूर्य अस्ताउँदैनन् भन्ने भनाइ नै चलेको थियो। यूरोपमा उसलाई चुनौती दिनसक्ने शक्ति रूस मात्र थियो।

नेपालले अंग्रेज विरुद्ध चीनसँग धेरैपल्ट सहयोगको अपील गरेको थियो। रणजंग पाँडेले रूससँग पनि सहयोग माग्न सौगातसहित जगतबम पाँडेको नेतृत्वमा प्रतिनिधिमण्डल पठाएका थिए।

तर, प्रतिनिधिमण्डल चीनबाट ल्हासा आइपुगेको बेला नेपालमा पाँडे पर्व भयो। माथवरसिंह थापाहरूले रणजंग लगायतका पाँडेहरूको विनाश गरे। चिनियाँ वादशाहले नेपालका राजालाई पठाएका सौगातका सामानहरू काठमाडौं पठाइदिएर केही साथीका साथ बीच बाटोबाटै मुग्लान पस्नुपर्‍यो, जगतबमले।

ब्रिटिशले आफ्नो साम्राज्य सुरक्षाको निम्ति संसारभरका राज्यहरूको गतिविधि नियालिराख्थ्यो। एशियामा आफ्नो स्वतन्त्र अस्तित्व जोगाएका चीन, जापान र नेपाल मात्र थिए। ब्रिटिशहरू आफ्ना व्यापारिक क्षेत्र भइसकेका हङकङ, मकाउ, सांघाईबाट चीनको गतिविधिमा वाकिफ भए पनि तिब्बत बुझन नेपाललाई माध्यम बनाउन आवश्यक थियो।

ल्हासामा रहने नेपालका वकील (प्रतिनिधि) बाट दैनन्दिनको खबर काठमाडौं आइरहन्थ्यो। ब्रिटिश रेजिडेन्टले ती सबै हालखबर बुझेर आफ्नो सरकारमा पुर्‍याइरहन्थे।

त्यस बखत ब्रिटिश–भारतमा रूसको आक्रमण हुनेछ, हुँदैछ भन्ने हल्ला बराबर चलिरहन्थ्यो। त्यसमा नेपालका श्री ३ महाराज जंगबहादुर कान ठाडा पारिरहन्थे। त्यो अवस्थामा ब्रिटिशबाट नेपालले फाइदाको अवसर पाउनेमा उनी चनाखो थिए। अहिले रूसले तिब्बतमा प्रभाव फैलाउँदै छ, उसका राजनीतिक व्यक्ति पठाउँदैछ भन्ने चर्चा चलेको थियो।

त्यस कुराको खबर पाउने ध्येयले असिस्टेन्ट रेजिडेन्ट दरबार आउँदा श्री ३ वीरशमशेरले भोटले यूरोपेलीहरूलाई पस्न–बस्न देलान् भन्ने त लाग्दैन तैपनि बुझौंला भने। उनीहरूबीच तिब्बतको आन्तरिक मामिलाका सम्बन्धमा कुरा हुँदा दलाई लामाको औतार, राजा लामासँग भएको दलाई लामाको वैमनस्य र ल्हासाका गुम्बाहरूका सम्बन्धमा पनि संवाद भएका थिए।

पोताला दरबार अहिले

पोताला दरबार अहिले

त्यो बेला भोटमा लामा राज्य थियो। दलाई लामा मरे पनि तुरुन्तै अर्को जन्म लिन्छन् भनिन्थ्यो। दलाई लामा मरेको दुई वर्षपछि हेरकोर गर्ने लामाहरूले ल्हासाछेउको तलाउमा देखिएका अक्षरका संकेतबाट नयाँ अवतारको जन्मस्थान पत्ता लगाउँथे।

त्यसको लागि स्वर्गीय लामाका माला, लट्ठी, डमरु तथा पाठ गर्ने पुस्तकहरूसँग त्यस्तै खालका अरू सामान मिसाएर बालकको अगाडि राखिन्थ्यो।

बालकले अघिल्लो जन्ममा आफूले प्रयोग गरेका पुराना वस्तुहरू चिने भने दलाई लामाको औतार मानिन्थ्यो र भारी सम्मानका साथ महोत्सव गर्दै ल्याएर सिंहासनमा राखिन्थ्यो। यसरी नै सिंहासन हासिल गरेका चौधौं दलाई लामा भोटमा जनवादी शासन लागू भएपछि निर्वासित भई अहिले भारतको धर्मशालामा शरणार्थी छन्।

गुम्बा र राजा लामा
सम्पूर्ण भोटका लामाहरूका गुरु मानिने दलाई लामा सबै धार्मिक कार्यको हेरविचार गर्थे। ल्हासाका ठूला तीन गुम्बाका लामाहरूबाट छानिएर नियुक्त हुने राजा लामा नेपालका प्राइममिनिस्टर जस्तै भोटको शासन चलाउनमा मुख्य नायब हुन्थे। औतारी लामाको पहिचान गरी उनलाई सिंहासनमा राखेपछि पनि साबालक नभएसम्म भोटको शासन राजा लामाकै हातमा हुन्थ्यो।

दैनन्दिनको प्रशासन चलाउने चाहिं चार काजी हुन्थे। तीमध्येका मुख्य सेठा काजी कहिन्थे। कहिलेकाहीं नायब राजा लामाले शासन सत्ता नछोड्दा वा दलाई लामाले आफैं शासन चलाउन खोज्दा वैमनस्य उत्पन्न हुन्थ्यो। (हे. नेपाल, भोट र चीन सम्बन्धको सांस्कृतिक पक्ष)

वि.सं. १९५६ मा नेपाली वकीलले लेखेका थिए– ‘पहिलेका दलाई लामा पनि साबालक नभई मरेका र अहिलेका लामा पनि साबालक नहोउन्जेल करीब चालीस वर्षदेखि राजा लामाले एकलौटी शासन चलाउँदै आएका थिए।

उनले अहिले दलाई लामाले विष खुवाएर मलाई मार्न लागेका छन् भन्ने अप्टिक लाएर शासन सत्ता हत्याइराख्ने प्रपञ्च रचेकाले ल्हासामा यसबेला ठूलो हलचल मच्चिइरहेको छ।’

भोटमा बेलाबेला यस्तो खटपट परिरहन्थ्यो। राजधानी ल्हासाको करीब पाँच कोसभित्र ठूला तीन गुम्बा थिए। तीमध्ये पनि सबभन्दा ठूलो धैबुङ्ग गुम्बामा सात हजार जति लामा बस्थे। यसैगरी सेरा गुम्बामा पाँच हजार र गान्देन गुम्बामा करीब पैंतीस सय लामाको बसोबास हुन्थ्यो। यो परिसंवादमा चाहिं महाराजले लामाको संख्या बढाएर उल्लेख गरेका छन्।

सम्वत् १९५६ साल मिति जेष्ठ वदि ६ रोज ३ का वेहानका ९ बज्ये असिष्टेन् रजिडेन्ट डाक्टर आरमनिष्टाङ्ग नारानहिटी श्री ३ माहाराजका दर्बारमा आउंदा नीजलाई गारड पनि राखी सलामी बक्सीयो तलसम्म सवारी भै ईस्तकवाल गरी माथी बैठक्मा लगी बक्स्यापछी कुरा कहानी भयाको …

असिष्टेन्ट रेजिडेन्टले भन्याको–रसियाहरूमा हाल कोही ल्हासा तर्फ आई तीब्बत्मा आफु उनफ्यूयेन्स (ईन्फ्लुयन्स) बढाउने उद्योगमा लाग्याका छ भन्या खबर छ. ल्हासामा रह्याको तपायींका रेफ्रिजेनेटिभ (रेप्रिजेन्टेटिभ) बाट यस विसयेमा तपायींलाई केहि खबर लेखी आयाको छ. ई कुरा तपायींसंग सोधी हेर्नुभनी मिष्टर वारेन्सले लेखी पठाया…

श्री ३ महाराजबाट हुकुम भयाको–यस विसयेको खबर केहि लेखी आयाको छैन १५।१६ दिन भयो. १ चीठी आयाकोमा डेलाई लामाको र राजा लामाको आपसमा तकरार उठन लाग्याको हाल् लेखिआयाको थीयो…

भोटेहरूले ईरोपियान (युरोपियन) लाई ल्हासा तेसतर्फ आउन दिनालाई मुसकिल दिखिंछ. हुंछ म हाम्रो रेफ्रिजेटेटिभलाई सोधी पठाउंला…

रेजिडेन्ट–डेलाई लामा र राजा लामामा कमान् कसको हातमा रह्याको छ. तांहा काम काज कस्ता रीतले चलाई आयाका छ…

श्री ३–४०।५० वर्ष अघि डेलाई लामाको हातमा कमान् रह्याको थियो. तिबट्काहरूले डेलाई लामा मर्दैनन्. इन्कार्नेट हुंछन् भंछन. सो इन्कार्नेतान (इन्कार्नेशन) हुंदा बालखलाई इन्कारनेट्वालालाई पहिचान गरी यिनै हुन् भनी ठहराई डेलाई लामा मोकरर गर्दछन. तेस वेलासम्म राजा लामाले कमान् चलाउछन् । राजा लामा भन्याका प्राईम्मिनीष्टर जस्तै हो।

डेलाई लामा बालखैमा मर्ने फेरी अर्को बालकलाई ल्याई डेलाई लामा खडा गर्ने यस्तो हुनाले ४०।५० वर्ष यसो कमान् राजै लामाको चल्याको छ अैले डेलाई लामाले मलाई बीष खुवाउन लाग्यो भंन्या बात पनी लगाई राजा लामाबाट कमान् आफ्ना हातमा ल्याउन खोज्याका छं भन्या कुरा सुनीन्छ. यसैले इन्हेरुका आपसमा ठूलो तकरार उठ्ने हिसाब छ भनी लेख्याको छ…

रेजिडेन्ट–तपायींबाट तीवत्का काम गर्दा कोसंग गर्नुहुन्छ. ई गुंवा (गुम्वा) हरू काहां छन्. ल्हासादेखी कती टाढामा छन्…

श्री ३–पार्लियामेन्ट जस्तो गुंवा गुंवाका बाडा (लामा) हरू र ४ काजीका सल्लाहकारसंग राजा लामा खडा हुन्छ इनी ४ काजी र राजा लामासंग हुन्छ. ल्हासाका नजिकैमा (गुंवाहरू) छन्. यक् गुंवामा १२।१३ हजार बाडाहरू छं. अरुमा कुनैमा ७।८ हजार कुनैमा ४।५ हजार बाडाहरू यक् गुंबामा (छन्) यक् गुंवाबाट अर्को गुंवा ८।१० मैलको फासीला मै रह्याका छन्…

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>